logo
२०७८ कार्तिक ५ शुक्रवार



दशैंमा देश दर्शन, यी हुन् नेपालका घुम्नै पर्ने स्थान

पर्यटन |


दशैंमा देश दर्शन, यी हुन् नेपालका घुम्नै पर्ने स्थान


काठमाडौं, असोज २५ गते । शरद ऋतु, खुलेको निलो आकाश । सबैतिर हरियाली र स्वच्छ वातारवण । चाडवार्डको माहोल । स्वदेशभित्र घुम्नका लागि उपयुक्त मौसम, यो रमाइलो माहोलमा घुम्न कसलाई पो मन पर्दैन होला र ? शरद ऋतु न गर्मी न जाडो दुवै नहुने भएकाले दशैंको बेला घुम्न जानेको सङ्ख्या पछिल्लो वर्षदेखि बढ्दै गएको छ । दशैं बिदाको सदुपयोग गर्दै परिवारसहित घुम्न निस्कने ट्रेन्ड नेपालीहरुमा बढ्दो छ ।

कामका लागि बाहिर रहनुभएकाहरु घर फर्किँदै हुनुहुन्छ । कोही घरमा बसेर चाड मनाउने सोचमा हुनुहुन्छ होला । कोही भने बिदाको समयमलाई सदुपयोग गरी घुम्न निस्कने तयारीमा हुनुहुन्छ होला । पहिले विदेशीहरु मात्र लामो यात्रामा निस्केको देखिन्थ्यो । तर, पछिल्लो वर्षहरुमा नेपालीहरु पनि परिवार र साथीभाइसँग योजना बनाएर घुम्न निस्किनेहरुको सङ्ख्या बढ्दो छ । बिदाको सदुपयोग गर्न देशकै विभिन्न ठाउँमा घुम्न जानेहरु प्रसस्त हुनुहुन्छ ।

दशैंमा कहाँ घुम्न जाने भनेर सोच्दै हुनुहुन्छ ? यदि सोच्नु भएको छ भने दशैं बिदामा घुम्न सकिने १० गन्तव्यका बारेमा जानकारी दिँदैछौं । यो बिदा यी ठाउँमा घुमेर आनन्द लिन सक्नुहुनेछ ।

खप्तड
सुदूरपश्चिमका पहाडी जिल्लामा पर्ने यो धार्मिक र प्राकृतिक रुपमा संरक्षित क्षेत्र हो । यो समुन्द्र सतहबाट तीन हजार मिटरको उचाइमा छ । खप्तड बाबाको नामबाट चर्चित यो क्षेत्र बझाङ, बाजुरा, अछाम र डोटी जिल्लामा फैलिएको छ । भौगोलिक परिदृश्यमा हरियाली युक्त हल्का भिरालो चउरहरु, खोला नाला र घाँसे मैदान गरेर २२५ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ ।

यो मौसममा हरियालीले ढाकिने खप्तड पुस महिनापछि भने सेताम्य हिउँले ढाकिन्छ । वैशाखदेखि असारसम्म रंगीचंगी फूलहरुले फाँटहरु मन लोभ्याउने हुन्छन् । खप्तड क्षेत्रको प्रमुख विशेषता भनेको विशाल फाँटहरुमा फुल्ने रंगीचगी फूलहरु नै हुन् । फूल फुलेका फाँटको किनारमा रुखहरुसहितको सुन्दर बगैँचा गज्जबको अनुभव गर्न पाइन्छ । यहाँ २७० प्रजातिका चरा पाइन्छन् । साथै खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्र लिङ्ग, गणेशस्थान, नागढुङ्गा, केदारढुङ्गा जस्ता धार्मिक स्थलहरु पनि छन्, जसले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन् । खप्तड क्षेत्रका रहेका ठूला–साना गरी २२ वटा फाँट पनि आकर्षणका केन्द्र हुन् ।

रारा ताल
अर्को घुम्नको लागि आकर्षक ठाउँ हो, रारा । घुम्ने पारखीहरुले रारालाई प्राथामिकतामा राख्ने गर्छन् । पश्चिम नेपालको मुगु जिल्लामा पर्ने यो ताल समुन्द्र सतहदेखि २ हजार नौ सय ९० मिटरको उचाइमा छ । वरिपरि सल्लाको घारी नीलो शान्त ताल, सुन्दरताको एक टुक्राको अनुभव गर्न सकिन्छ । तालले घामको किरण अनुसार आफ्नो रङ बदल्ने गर्छ । रारा तालमा विश्वमै कहीँ पनि नभेटिने स्नोट्राउट प्रजातिको माछा पाइन्छ । तालको पूरा भाग हेर्न चार हजार मिटरको उचाइमा तालको दक्षिण पश्चिममा रहेको मुर्माटप उक्लिनुपर्ने हुन्छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज
तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो, बर्दिया राष्ट्रिय निकुञ्ज । नौ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज बाघ हेर्नका लागि सबैभन्दा उपयुक्त स्थान हो । नेपालको सबैभन्दा लामो नदी कर्णाली र बबईको बीचमा निकुञ्जका केही भागहरु पर्ने भएकाले पनि जनावरका लागि उपयुक्त बनेको छ ।

हाल बबई उपत्यका निकुञ्जमा सबैको आकर्षण बनेको छ । द्वन्द्वकालमा बन्दरहेको निकुञ्जको चुरे क्षेत्रमा रहेको यो ठाउँ हाल खुला गरिएको छ । जहाँ पर्यटकले रात बिताउने अवसर पाउँछन् । २०४० सालमा राजा वीरेन्द्रले निकुञ्ज विस्तार गर्न साबिक सानोश्री पञ्चायतलाई स्थान्तरण गरेका थिए । तिनै ठाउँलाई अहिले बबई उपत्यका भनिन्छ । उपत्यकासम्म पुग्न राष्ट्रिय निकुञ्जको कार्यालय ठाकुरद्वाराबाट करिब १० घण्टाको पैदल यात्रा वा जंगल सफारी पनि गर्न सकिन्छ । उपत्यकाबाट सूर्योदय र सूर्यास्त अवलोकन गर्न सकिन्छ । निकुञ्जमा राजस्व तिरेर बबईमा माछा मार्ने व्यवस्था पनि गरिएको छ । तर, माछा मारेर खान पाइँदैन ।

निकुञ्जको ७० प्रतिशन भूभाग साल र यसको सहायक प्रजातिका वनस्पतिले वन ढाकिएको छ । बाँकी ३० प्रतिशत घाँसे मैदान छ । निकुञ्जमा ५४ प्रजातिका स्तनधारी, ४०० प्रजातिका चराचुरुङ्गी, २५ प्रजातिका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातिका माछाहरु पाइने निकुञ्जले जनाएको छ । राष्ट्रिय निकुञ्ज मात्र नभएर थारु समुदायको मौलिक संस्कृतिका लागि पनि बर्दिया निकै प्रख्यात छ । बर्दियाको विभिन्न स्थानमा खोलिएका होमस्टे र बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै रहेको ठाकुरद्वारा मन्दिर आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रख्यात छ ।

शे–फोक्सुण्डो
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यो राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको डोल्पा तथा मुगु जिल्लामा फैलिएको छ । यसको क्षेत्रफल ३,५५५ वर्ग किलोमिटर छ । यो निकुञ्ज २०५० सालमा स्थापना गरिएको हो । यस निकुञ्ज भित्र नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो तथा एक ऐतिहासीक शे–गुम्बा रहेका छन् र यिनीहरूकै नाम जोडेर यसको नामाकरण गरिएको हो ।

शे–फोक्सुण्डो ताल ३९०० मिटरको उचाइमा डोल्पा जिल्लामा अवस्थित छ । यस तालको लम्बाइ ४.८ किमी, चौडाइ १.६ किमी र गहिराई १४५ मिटर रहेको सन् २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागद्वारा एउटा सर्वेक्षणले देखाएको थियो । कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल वाई आकारको छ ।

पुनहिल–पोखरा
आँखै अगाडि विश्वको सातौँ अग्लो धौलागिरी हिमाल । त्यसैले पर्यटकहरु धौलागिरी हिमाल हेर्न म्याग्दीको पुनहिल पुग्छन् । यो स्थान धौलागिरी हिमशृंखला हेर्ने सबैभन्दा उपयुक्त स्थान हो । समुन्द्री सतहबाट ३ हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलबाट धौलागिरी, अन्नपूर्ण माछापुच्छ्रे, नीलगिरीलगायत १५ वटा हिमालको मनोरम दृश्य अवलोकन गर्न पाइन्छ ।

त्यस्तै पुन हिल अन्नपूर्ण हिमश्रृंखलाको भ्यु पोइन्टको रुपमा पनि लिइन्छ । पुनहिलको बाटोमा जहाँबाट पनि मनै लोभ्याउने सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । नेपाल घुम्ने सोचमा हुनुहुन्छ भने पुनहिलको ट्रेकिङ गर्न सबैभन्दा उपयुक्त हुन्छ । घोरेपानी र पुनहिल ट्रेकलाई एक रगिंन यात्राको रुपमा लिन सकिन्छ । अन्नपूर्ण क्षेत्रबाट सुरु हुने यो यात्रा पोखरा पुगेर टुङ्गिन्छ । नेपालमा पदयात्राका लागि आउने पर्यटकको रोजाइको उत्कृष्ट देशभित्र पुनहिल पदयात्रा पर्छ ।

एकै स्थानमा ताल, हिमाल, मन्दिर, गुफा अवलोकन गर्न सकिन्छ पोखरामा । यसका साथै साहसिक खेलहरु प्याराग्लाइडिङ, बन्जी, जिप फ्लायर लगायत दर्जनौँ गतिविधि हुने भएकाले पनि यो क्षेत्रलाई पर्यटकीय राजधानी भन्ने गरिन्छ ।

अन्नपूर्ण
विश्वको चर्चित पदमार्गमध्ये एक हो, अन्नपूर्ण पदमार्ग । विश्वका उत्कृष्ट दश पदमार्गभित्र पर्ने भएकोले यो पदमार्ग विश्वभर परिचित छ । यो पदमार्ग नेपाल आउने विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने गर्छ । यो क्षेत्रमा पदयात्रा गर्दा सबै स्थानमा टी–हाउस भएकोले पनि अन्य पदमार्ग जस्तो पैदल यात्रीलाई समस्या हुँदैन । ठाउँ–ठाउँमा थकाइ मार्न र चिया–कफीको तलतल मेटाउन सहज हुन्छ । पदमार्गका सबैजसो स्थानमा सुविधासम्पन्न होटल तथा लजहरु भएकाले पदयात्राका क्रममा खान र बस्न सहज हुन्छ ।

पाथीभरा
विश्वको तेस्रो अग्लो हिमाललगायत दर्जनौं अन्य हिमाल हेर्नका उपयुक्त स्थल हो, पाथीभरा । समुद्री सतहबाट ३ हजार ७९४ मिटरमा उचाइमा रहेको ताप्लेजुङ्गमा अवस्थित पाथीभरादेवी स्वदेश र विदेशमा प्रख्यात रहेकी छिन् । भारतीयहरु ठूलो सङ्ख्यामा यहाँ आउँछन् । पूर्वको पर्यटक तथा धार्मिकस्थलमध्ये अग्रपङ्तीमा आउने पाथीभरा मन्दिर परिसरमा कुनै होटल नभए पनी भक्तजनहरुलाई बस्ने र खाने राम्रै व्यवस्था छ । असोज–कात्तिक महिनामा मौसम सफा हुने भएकाले पनि यतिबेला हिमाल हेर्ने उपयुक्त समय हो ।

गोसाईँकुण्ड
धार्मिक रुपमा परिचित र टे«किङको लागि उपयुक्त ठाउँ हो, गोसाइँकुण्ड । समुन्द्र सतहबाट करिब ४४ सय मिटरको उचाइमा रहेको यो तालसँगै मन लोभ्याउने अरु ६ वटा ताल छन् । गोसाईँकुण्डको किनारै किनार त्रिशूलधारा हुँदै उकालो लागिसकेपछि बायाँ तर्फ छ, बर्दकुण्ड । अलि अगाडि निकण्ठकुण्ड । दायाँ तर्फ सजिलै नदेखिने ठाउँमा छ चन्द्रकुण्ड । सबैभन्दा माथि सिरानमा छ सूर्यकुण्ड । सूर्यकुण्डबाट फर्कदा बायाँतर्फ छ आमाकुण्ड तल छ । भैरवकुण्ड र सबैभन्दा तल छ सरस्वतीकुण्ड । लाङटाङ राष्ट्रिय निकुञ्जका रमणीय दृश्य हेर्दै तालसम्म पुग्न सकिन्छ ।

मुस्ताङ
आन्तरिक र बाह्य पर्यटकको लागि आकर्षणको स्थान हो, मुस्ताङ । आन्तरिक पर्यटकहरु मुस्ताङको मुक्तिनाथ मन्दिर बढी जाने गर्दछन् भने बाह्य पर्यटकहरु माथिल्लो मुस्ताङ अर्थात् लोमाङथाङ जाने गर्दछन् । मुस्ताङमा रहेको एउटा रमणीय स्थल हो, मार्फा । वरिपरि पहाडले घेरिएर बीचमा गुजुमुजुक्क परेको यो गाउँ निकै सुन्दर छ । मार्फामा पर्यटकलाई चाहिने सुविधासम्पन्न होटल तथा रेष्टुरेन्ट छन् । मार्फा स्याउ उत्पदानका लागी निकै प्रख्यात छ ।

त्यसपछि आउँछ कागबेनी । दुई खोला बिचमा रहेको छ यो स्थान । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको यो पवित्र तीर्थस्थल पनि हो । प्राकृतिक सुन्दरताको हिसाबले पनि यो निकै प्रख्यात छ । नेपाल आउने विदेशी पर्यटकको पहिलो रोजाईमा पर्न अन्नपुर्ण पदमार्गमा समेत पर्दछ कागवेनी । कागवेनीमा ७०० बर्ष पुरानो काग छोंदे थुप्तेन साम्फेल लिड गुम्बा छ । केही वर्षअघिसम्म यो गुम्बामा मुस्ताङभरिकै घरका माइलो छोरा लामा बन्न पठाउने प्रचलन रहेको थियो ।

मुक्तिनाथ मन्दिर चाहीँ धार्मिक पर्यटनका लागि प्रख्यात छ । मन्दिर परिसरसम्म सवारी साधन लैजान मिल्दैन । मन्दिरभन्दा केही तलसम्म गाडी जान्छ । समुन्द्र सतहदेखि ३ हजार ७१० मिटरको उचाइमा रहेको यो मन्दिरमा आउँदा लेक लाग्ने सम्भावना पनि हुन्छ । यस मन्दिरलाई हिन्दूहरूले मुक्तिक्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा भन्छन् । तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरूमध्ये यो एक हो । मुक्तिनाथ वैष्णव सम्प्रदायको पनि प्रमुख मन्दिरहरू मध्य एक हो । ल्याण्डस्केप, जनजीवन, गुफा तथा रहनसहनका लागि प्रख्यात रहेको मुस्ताङ तल्लो र माथिल्लो मुस्ताड गरेर दुई तहमा विभाजित छ । देशमा गणतन्त्र आईसक्दा पनि त्यहाँ राजा र राजपरिवारहरुको अवशेष बाँकी छ ।

सौराहा
चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वार हो, सौराहा । जङ्गली जनावर र सफारीमा अभिरुची राख्नेहरुका लागि यो उपयुक्त स्थल हो । विगत केही वर्ष अघिसम्म यहाँ बाह्य पर्यटकहरुको मात्र चहलपहल हुन्थ्यो भने अहिले आन्तरीक पर्यटक पनि बाक्लै हुन्छन् । अझ दशैं–तिहारको समयमा त विदेशी भन्दा नेपाली बढी देखिन्छन् ।

सौराहा आउने पर्यटकहरुको मुख्य ध्येय भनेको हात्ती चढेर चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्दै दुर्लभ जङ्गली जनावर हेर्नु नै हुन्छ । साथै नारायणी नदीबाट देखिने सूर्य अस्ताएको दृश्यले पनि पर्यटकलाई लोभ्याउँछ । एउटा हात्तीमा चार जनासम्म बस्न सकिन्छ । हात्ति सवारी लगभग ३६ किलोमिटर गरिन्छ जसका लागी ४ घण्टा समय लाग्छ ।

निकुञ्जमा ५ सय ३ गैंडा र लगभग १ सय ५० बाघ छन । जङ्गल सफारीमा जरायो, बँदेल, चितुवा, बाँदर, मयुर पनि प्रशस्त देखिन्छन् । सौराहाको अर्को आकर्षण भने राप्ती नदीमा डुङ्गा यात्रा हो । ४५ मिनेट डुंगा चढ्दा नदी किनारमा गोही हेर्न पाइन्छ । जल यात्रा सकिनेवित्तिकै १० मिनेटको हिँडाईमा हात्ती प्रजनन केन्द्र पुगिन्छ । त्यहाँ विभिन्न उमेरका हात्तीको छावा रहेका छन् । (स्राेत : विकिपिडिया)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?