logo
२०८१ बैशाख ११ मंगलवार



मनास्लु आरोहणका लागि बाटो तयार, असोज १० बाट आरोहण शुरु

पर्यटन |


मनास्लु आरोहणका लागि बाटो तयार, असोज १० बाट आरोहण शुरु
तस्बिर साैजन्य : टासीलाक्पा शेर्पा


काठमाडौं, असोज ६ गते । मनास्लु हिमाल (आठ हजार १८३ मिटर) आरोहणका लागि तेस्रो क्याम्पभन्दा माथि अर्थात सात हजार मिटरसम्म बाटो निर्माणको काम सम्पन्न भएकाले असोज १० गतेदेखि आरोहण शुरु हुने भएको छ । आरोहण मार्ग निर्माणको जिम्मा लिएको सेभेन समिट ट्रेकका आधारशिविर मेनेजर टासी लाक्पा शेर्पाका अनुसार आरोहीको सङ्ख्या बढी भएकाले यस वर्ष आरोहण व्यवस्थापन गर्न पनि चाँडै बाटो निर्माण गरी आरोहण सम्पन्न गर्ने लक्ष्य राखेको बताउनुभयो
आरोही गाइड सोना शेर्पाको नेतृत्वमा निमाटासी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, फुरा तेन्जिङ शेर्पा, पासाङ नुर्वु शेर्पा र टासि शेर्पाले मङ्गलबारसम्ममा सात हजार मिटरसम्म बाटो निर्माण गरी सकेको जनाएको छ । यस वर्ष मनास्लु हिमाल आरोहणका लागि १७ आरोहण दलबाट १३३ पुरुष र ३८ जना महिला गरी १७१ जना आरोहीले अनुमति लिएका छन् । यो अघिल्लो वर्षको तुलनामा बढी रहेको पर्यटन विभागको तथ्याङ्क छ ।

जोखिम आरोहणमध्येमा पर्ने मनास्लु हिमाल आरोहण गरी कीर्तिमान कायम गर्न २० भन्दा बढी देशका आरोहीहरु आधारशिविर पुगिसकेको एजेन्सीहरुले जनाएको छ । यो महिना मनास्लु हिमालसँगै थप पाँचवटा हिमाल आरोहणका लागि विभागले अनुमती प्रदान गरेको छ । जसमा मरियाङ हिमाल आरोहणका लागि आठ जना, धौलागिरी हिमाल आरोहणका लागि ४० जना, कञ्चनजङ्गा हिमाल आरोहणका लागि तीन जना , कुम्भकर्ण हिमाल आरोहणका लागि पाँच जना र पुथा हिमचुली आरोहणका लागि तीन जना गरी जम्मा २३० जना आरोहीले अनुमति लिएको विभागको तथ्याङ्क छ । विभागले हिमाल आरोहण शुल्कबाट दुई करोड ३० लाख ७८ हजार ३५६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?