logo
२०८० चैत्र १६ शुक्रवार



इन्डोनेसियाबाट १५ दिन भित्र युरिया मल नेपाल आइपुग्ने, अभाव नहुने

राष्ट्रिय |


इन्डोनेसियाबाट १५ दिन भित्र युरिया मल नेपाल आइपुग्ने, अभाव नहुने
फाइल तस्बीर


काठमाडौं, भदौ ३१ गते । किसानले धान लगायत अन्य बालीमा रासायनिक मल प्रयोग गर्न नपाएको गुनासो बडेसँगै कृषि सामाग्री कम्पनीले १५ दिन भित्र मल नेपालमा भित्र्याउने तयारी थालेको छ । इन्डोनेसियाबाट मल खरिद प्रक्रिया अघि बढेकाले असोज १५ गतेसम्ममा युरियामल नेपाल आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

चीनबाट खरिद गरिएकाले डिएपी मल लोड भइसकेको जनाउँदै आउने असोज २० सम्ममा मल नेपाल आइपुग्ने उहाँले जानकारी दिनुभयो । किसानले धानलगायतका अन्य मुख्य बालीमा रासायनिक मल प्रयोग गर्ने समय अन्तिम भए पनि मल प्रयोग गर्न नपाएका राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका अध्यक्ष नवराज बस्नेतले गुनासो गर्नुभयो । पर्याप्त मल खरिद गर्न नपाउँदा धान उत्पादनमा समेत असर पर्ने भन्दै किसानले यस अघि बाली हुर्किने समयमै तत्काल मल उपलब्ध गराउन पटक पटक माग गरेको उहाँको भनाइ छ । यता कृषि सामाग्री कम्पनीले भने आफूहरुसँग हाल २४ सय टन युरिया, ३६० टन डिएपी र ११ सय टन पोटास मल मौज्दात रहेको र आफूहरुसँग किसानले माग नगरेको पोखरेलले बताउनुभयो ।

आर्थिक वर्ष २०७६÷०७७ मा कम्पनीले एक लाख ८२ हजार पाँच सय युरिया, एक लाख १४ हजार पाँच सय डिएपी र सात हजार पाँच सय मेट्रिकटन पोटास गरी जम्मा तीन लाख चार हजार पाँच सय मेट्रिकटन मल खरिद गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा बढी रहेको उहाँले जानकारी दिनुभयो । कम्पनीले आर्थिक वर्ष २०७५÷०७६ मा युरिया एक लाख ४० हजार मेट्रिकटन , डिएपी ७० हजार, पोटास पाँच हजार गरी जम्मा दुई लाख १५ हजार मेट्रिकटन मात्र मल खरिद गरेको थियो । चालु वर्षमा भने मलको माग बढेसँगै थप मल खरिद गरिएको कम्पनीले जनाएको छ । हामी किसानलाई मलको समस्या हुन दिन्नौ, प्रवक्ता पोखरेलले भन्नुभयो ।

मल अभाव हुन नदिन भन्दै सरकारले कृषि सामाग्री कम्पनी लिमिटेड, साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडलाई रासायनिक मल आपूर्ति र व्यवस्थापनको जिम्मा दिएको छ । हाल ७० प्रतिशत कृषि सामग्री र ३० प्रतिशत साल्ट ट्रेडिङले आपूर्ति गर्दै आएको कम्पनीले जनाएका छन् । धानवालीका लागि मल वितरण गरी सकेको र गहुँबालीका लागि युरिया र डिएपी मलको व्यवस्थापन गर्न इन्डोनेसियाबाट युरिया र चीनबाट डिएपी मल खरिद प्रक्रिया शुरु गरिसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले सातै प्रदेशबाट माग अनुसारको मल वितरण गर्न रासायनिक मल ढुवानीका लागि भदौ १६ गते सूचना जारी गरेको थियो । कम्पनीले विराटनगर, सोनापुर, वीरगञ्ज, भैरहवा क्षेत्रका लागि गरी जम्मा ४३ हजार नौ सय मेट्रिकटन मल ढुवानी असोज १५ गतेभित्र व्यवस्थापनकाे टुङगो लगाउने जनाएको छ । सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेटबाट तीन वर्षभित्र रासायनिक मलको कारखाना खोल्ने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?