logo
२०८० चैत्र १६ शुक्रवार



राइनासकोट पर्यटकका लागि खुला

पर्यटन |


राइनासकोट पर्यटकका लागि खुला


बेलिना थापा
लमजुङ, भदौ २९ गते । लमजुङको पर्यटकीय गाउँ राइनासकोट पाहुनाका लागि खुला गरिएको छ । कोरोना सङ्क्रमणका कारण बन्द राइनास नगरपालिका ९ स्थित राइनासकोट होमस्टे खुला गरिएको हो । २०७७ को जेठबाट पाहुनालाई प्रवेशमा रोक लगाइएको गाउँमा १५ महिनापछि खुला गरिएको राइनासकोट सामुदायिक होमस्टेका अध्यक्ष खड्कबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार समितिको बैठकले राइनासकोट पर्यटकका लागि खुला गर्ने निर्णय गरिएको हो ।
लामो समयसम्म बन्द हुँदा आर्थिक गतिविधि शून्य भएकाले खुलाउने सहमति भएको अध्यक्ष गुरुङले बताउनुभयो ।
समितिका उपाध्यक्ष विष्णु गुरुङका अनुसार गाउँमा आउने पाहुनाले मास्क अनिवार्य लगाएको हुनुपर्नेछ भने स्यानिटाइजर प्रयोग गर्नुपर्ने, साबुनपानीले पटकपटक हात धुनुपर्ने र सामाजिक दूरी कायम गर्ने नियम रहेको जनाएको छ ।
२०७२ सालको भूकम्पपछि पुनःनिर्माण गरिएको राइनासकोट होमस्टे पर्यटकका लागि रोजाइ बनेको छ । स्थानीयले गाउँमा आउने पाहुनालाई चामल र दहिको टिका, फूलमालाले स्वागत गर्ने गर्छन् । मिठो बोलिको साथमा लोकल अर्गानिक परिकार, लोकल चामलको भात, ढिँडो, लोकल मदिरा, लोकल कुखुराको मासु, खसि, बाख्राको मासु, राँगाको सुकुटी, सेलरोटी, गाउँमै उत्पादित काउली, बन्दा, च्याउ, गुन्द्रुक र भट्मासकाे अचार खुवाउने गरिन्छ ।
पाहुनालाई बेलुकाको खाना, कोठा, बिहानको खाजा गरी नौ सय रुपियाँको एकराते प्याकेज बनाइएको छ । भूकम्पपछि पुनःनिर्माण गरिएको राइनासकोटका १४ घरमा होमस्टे सञ्चालनमा छन् । राइनासकोट प्राकृतिक, सांस्कृतिक, सामाजिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको छ । राइनासकोट पुग्नेले बुद्ध, मनास्लु, अन्नपूर्ण, डा. हर्क हिमाल, गणेश, माछापुच्छ्रे, लमजुङ लगायत करीब दुई दर्जन हिमशृङ्खला नियाल्न पाउनेछन् ।
स्थानीयका अनुसार १५ औं शताब्दीमा तत्कालीन लमजुङका राजा यशोब्रम्ह शाहका कान्छो छोरा द्रब्य शाह बसेको ठाउँ राइनासकोट हो । राइनासकोट भन्दा पारिपट्टि गोरखाको लिगलिगकोटमा दौड जितेपछि उनी उक्त क्षेत्रको राजा बनेको इतिहासमा उल्लेख छ । राइनासकोटमा बाइसीचौबिसी शासनकालमा निर्माण गरिएका किल्ला, स्थानीय कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिर र अन्य कोट तथा गढी छन् । राइनासकोट पुग्न लमजुङ प्रवेशद्वार पाउँदीबाट करिब तीन घण्टाको पैदल यात्रा र दुुई घण्टाको सवारी यात्रापछि पुग्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?