logo
२०७८ कार्तिक ६ शनिवार



सेरामिक कला : बजार राम्रो काम गाह्रो

शनिवार |


सेरामिक कला  : बजार राम्रो काम गाह्रो


दीपक श्रेष्ठ

 

भनिन्छ, पृथ्वीको सृष्टि नै एउटा अनुपम कला हो । जीवन र जगत्सँग गाँसिएका कलाको फराकिलो परिभाषा छ । कलाको फराकिलो परिधि खोज्ने क्रममा नेपालमै पनि धेरै प्रयोग र प्रवृत्ति भित्रिए । कलाको क्षेत्रमा यही प्रविधि हो, सेरामिक्स कला । यस कलाको नेपालमा विकास र विस्तारका क्षेत्रमा वरिष्ठ कलाकार गोपाल कलाप्रेमी श्रेष्ठको महìवपूर्ण योगदान छ । अझ यसो भनौँ, नेपालमा सेरामिक कला आन्दोलन र विकासमा कलाप्रेमीको नेतृत्वदायी भूमिका छ ।
मूलतः कलाप्रेमी मूर्तिकार हुनुहुन्छ । त्यसैले माटो, छिनो, ब्रस, क्यानभास र रङको संसर्गमै उहाँले चार दशकभन्दा बढी समय बिताउनुभएको छ । माटोले कलाप्रेमीलाई छाम्छ । कलाप्रेमीले माटोलाई माया गर्नुहुन्छ । यद्यपि कलाका विविध विधामा उहाँले आफूलाई उभ्याउनुभएको छ, कार्टुन पत्रकारितादेखि कविता रचनासम्म । प्रतिस्थापन कलादेखि भिज्युअल कलासम्म । कहिले पत्थरमा छिनो चलाउनुभयो, कहिले माटोमा मन मिलाउनुभयो । कहिले ब्रस र रङमा रमाउनुभयो । कहिले मिक्स मिडिया त कहिले प्राकृतिक रङको खोजीमा दौडिनुभयो ।

यतिबेला समसामयिक धारमा माटाका कला बनाउने कलाकार हुनुहुन्छ कलाप्रेमी । सेरामिक कलामार्फत नै सामाजिक मुद्दालाई उहाँले स्पष्टसँग उठाउँदै आउनुभएको छ । आफूले भोगेदेखेका, अनुभूत गरेका घटना र दृश्यलाई कलामा निस्फिक्री उतार्ने हिम्मत कलाप्रेमीमा छ । जसलाई समाजका केही तप्काले अरुचिकर पनि ठान्छन् । कलाप्रेमीको ‘ह्वेर द वाइल्ड थिङ्स आर’ शीर्षक प्रदर्शनी भर्खरै सकिएको छ । यस विषयमा महिलावादीहरूको चर्को विरोध पनि खेपेका कलाप्रेमी आफ्ना विषयवस्तुमा प्रस्ट हुनुहुन्छ । यद्यपि शीर्षकमा केही कमजोरी भएको अनुभूति उहाँमा पनि छ ।

कला प्रशिक्षण, प्राध्यापन, अनुसन्धान, प्राज्ञिक लेखन र सेरामिक्स कला सङ्कलनमा सक्रिय कलाप्रेमीको एउटा सपना पनि छ, सेरामिक्स कला सङ्ग्रहालयको स्थापना गर्नु । त्यसका लागि विश्वका दुर्लभ सेरामिक्स कलाको सङ्कलन गरिरहनुभएको छ । कलाप्रेमी भन्नुहुन्छ, “म जहाँजहाँ पुग्छु, त्यहाँको सेरामिक्स कला सङ्कलन गर्छु ।”
महाराजगञ्जस्थित कलाप्रेमिज सेरामिक स्टुडियोमै दुर्लभ हस्तलिखत, पौभा कला, मूर्तिकला, चित्रकला सङ्ग्रहित छन् । चारतले घरको सबै कोठा, भित्ता, भ¥याङ मूर्ति र चित्रकलाले भरिएका छन् । उहाँ भन्नुहुन्छ, “सेरामिक सङ्ग्रहालय मेरो सपना हो । नेपालमा एउटा छिर्नैपर्ने सेरामिक सङ्ग्रहालय बनाउँछु ।”

त्यसैले कलाप्रेमीले विश्वका सेरामिक कलाकारलाई नेपाल बोलाउने गर्नुभएको छ । त्यस्ता कलाकारलाई नेपालमा बस्ने, खाने र घुम्ने व्यवस्था उहाँले गर्दै आउनुभएको छ । नेपाल आउने कलाकारका कृति सङ्ग्रहित पनि गर्दै आउनुभएको छ । कलाप्रेमीको परिवार कुनै न कुनै रूपमा कलामै समर्पित छन् । कलाप्रेमीलाई काममा सघाउँदा सघाउँदै श्रीमती यमुना श्रेष्ठ पनि सेरामिक कलामा पारङ्गत हुनुभयो । यद्यपि उहाँ आर्ट एन्ड क्राफ्टका कलाकार र शिक्षकसमेत हुनुहुन्छ । छोरा अनिमेश, बुहारी श्रीस्टिना र सुशाङ्क कलाकारिताकै क्षेत्रमा छन् ।

सेरामिक कला
नेपालमै माटो कलाको रैथाने इतिहास छ । तराई, मधेस र काठमाडौँ उपत्यकामा माटो कलाको रैथाने सीप, ज्ञान र प्रविधि छ । माटो कलाका क्षेत्रमा पुस्तौँदेखि काम गर्दै आएका रैथाने जाति नै छन्, नेपालमा । आधुनिक प्रविधि प्रयोगमा आउनुअघि यिनै जातिले बनाएका माटोका भाँडावर्तनमा मानिस निर्भर थिए । जसलाई उपयोगी अर्थात् व्यावसायिक कलाका रूपमा लिन सकिन्छ ।
नेपालमा पनि यसको बजार, महìव, प्रयोग र आकर्षण बढ्दै गएको अनुभव कलाप्रेमीको छ । यद्यपि नेपालमा सेरामिक कला प्रशिक्षणबाहेक औपचारिक अध्यापन नभएको कलाप्रेमी बताउनुहुन्छ । यो अभाव पूर्तिका लागि कलाप्रेमीले आफ्नै घरमा सेरामिक्स कलाको प्रशिक्षण दिँदै आउनुभएको छ ।

भारतबाट ल्याइन्छ माटो
माटाका भाँडा बनाउने कला र सेरामिक कलामा माटो, प्रविधि र प्रक्रियाका हिसाबले समेत केही जटिलता र फरकपन छन् । सेरामिक उत्पादनका लागि उच्च तापक्रम धान्नसक्ने गुणस्तरीय माटोको आवश्यकता हुन्छ, त्यो भारतबाट ल्याउनुपर्ने अवस्था छ । माटोका घरायसी सामान बनाउने र मूर्ति निर्माणका लागि आवश्यक माटोसमेत उपत्यकामा पाउन कठिन भइसकेको अवस्था छ । कलाप्रेमीका अनुसार सेरामिक उत्पादनका लागि बल क्ले, चाइना क्ले, फायर क्लेजस्ता माटो आयात गर्नुपर्ने अवस्था छ ।

यसरी बन्छ सेरामिक कला
सेरामिक कलाका लागि सबैभन्दा पहिला माटोको तयारी गर्नुपर्छ । यसका विभिन्न विशेषता र गुणयुक्त माटो मिसाउनु आवश्यक हुन्छ । रातो माटो, चुन ढुङ्गा मिसिएको माटो । सिलिका मिसिएको माटो तथा पोटास, सोडा आदि विविध गुण र विशेषतायुक्त माटो मुछेर प्लास्टिकका साना–साना पोकामा प्याक गरेर कम्तीमा एक हप्ता राखिन्छ । माटोमा हावा नछिर्ने गरी प्लास्टिकमा प्याक गर्नुपर्ने हुन्छ । कलाप्रेमी भन्नुहुन्छ, “यस्तो माटो जति पुरानो भयो, त्यति राम्रो हुन्छ । उहिलेउहिले त बाजेले बनाएको माटो नातिले प्रयोग गर्थे । म पनि एक वर्षका लागि एकैपटक माटो तयारी गर्छु ।”

यसरी राखिएको माटोमा ‘प्लासिसिटी’को विकास हुन्छ । एकखालको ब्याक्टेरियाले माटोलाई लेसाइलो बनाउँछ । जसले काम गर्दा माटो लचिलो, एकआपसमा राम्ररी समाउने, नभाँचिने हुन्छ ।
तयारी माटोलाई कलाकारले आफ्नो आवश्यकताअनुसार मूर्तिमा ढाल्छ । हातले, साँचोको सहायताले, चक्कामा घुमाएर, औँलाले चपचप गरेर, माटोको डल्लोलाई कुनै औजारले खुर्केर, माटोको डोरीजस्तो बनाएर अनेकन तरिकाले कलाकारले सिर्जना तयार पार्छ । त्यसपछि हावा अनि घाममा सुकाइन्छ । यस्तो सिर्जनालाई आठ सयदेखि एक हजार डिग्री सेल्सियस तापक्रममा पोलिन्छ । परम्परागत रूपमा छाउरा, ग्यास वा विद्युतीय चुलोमा पोल्न सकिन्छ । यति गरेपछि कलाले टेराकोटा फर्म ग्रहण गर्दछ । सेलाएको टेराकोटामाथि कलाकारले चित्रकला सिर्जना गर्छ । यस्तोमा विशेष धातुबाट बनेका रङ (यस्ता रङले समेत उच्च तापक्रम धान्नसक्ने हुनुपर्छ) प्रयोग गर्नुपर्छ । कलाप्रेमीका अनुसार फलामबाट रातो र कलेजी रङ बनेको हुन्छ । तामाबाट हरियो र सुगा रङ । क्रोमियम धातुबाट हरियो र पहेँलो । जस्ता र टिनबाट सेतो रङ ।

टेराकोटामाथि कला सिर्जनापछि सीसाको झोलमा डुबाएर ग्लेज गरिन्छ । यसरी ग्लेज गरिसकेपछि पुनः भट्टीमा पोलिन्छ । यसरी पोल्दा सीसाको झोल मूर्तिमा टाँसिएर टल्किन्छ । यसरी बनेको आकृतिमा ठ्याक्कै सोचेकै जस्तो रङ, आफूले भर्न खोजेको चित्रकला नआउन पनि सक्छ । कुनै फुटेर पनि जान सक्छन् । त्यसैले भट्टीबाट मूर्ति ननिकालेसम्म के होला ? भन्ने कौतुल मात्र रहने अनुभव कलाप्रेमीको छ ।
यसरी तयार भएको सेरामिकमा पुनः रङ र डिजाइन दिएर ओभर ग्लेज डेकोरेसन र मल्टिपल फायरसमेत गर्न सकिने कलाप्रेमी बताउनुहुन्छ । तुलनात्मक रूपमा यस्ता सेरामिक कलाको आयु लामो हुन्छ । परम्परागत शिल्पकला र संस्कृतिलाई जोगाएर सेरामिक कलालाई प्रवद्र्धन गर्ने हो भने मुलुकको अर्थिक विकासमा समेत महìवपूर्ण भरथेग मिल्ने विश्वास कलाप्रेमीको छ । उहाँ भन्नुहुन्छ, “बजार राम्रो छ, काम गाह्रो छ । यो क्षेत्रमा निरन्तरता दिने र काम गर्नेकै खाँचो छ ।” 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?