logo
२०८० चैत्र १६ शुक्रवार



चाडबाड केन्द्रित छुट प्याकेज

पर्यटन |


चाडबाड केन्द्रित छुट प्याकेज


नारायणगढ समाचारदाता

भरतपुर, भदौ २५ गते । कोरोना कहर कमी भएसँगै विस्तारै खुल्दै गरेका सौराहाका पर्यटकीय होटलले आन्तरिक पर्यटकलाई आकर्षित गर्न विशेष छुट प्याकेज घोषणा गरेका छन् । दसैँ, तिहारजस्ता ठूला चाडपर्वलाई केन्द्रित गरेर होटलहरूले सस्तो मूल्यमा प्याकेज सार्वजनिक गरेका हुन् ।
जङ्गल सफारी लज सौराहाले ‘यस वर्षको दसैँ तिहार सौराहामा’ भन्ने प्याकेज सार्वजनिक गरेको छ । दुई रात तीन दिन सौराहा घुमेको प्याकेज लजले पाँच हजार ५५५ रुपियाँ सार्वजनिक गरेको सञ्चालक सुमन घिमिरेले जानकारी दिनुभयो ।
“प्याकेजमा दुई रातको बास सुविधासहित लन्च, डिनर र ब्रेकफास्टको व्यवस्था मिलाइएको छ”, सञ्चालक घिमिरेले भन्नुभयो, “यही कार्यक्रममै पर्यटकलाई थारू संस्कृति, थारू म्युजियम र हात्ती प्रजनन केन्द्र पनि घुमाइने कार्यक्रम तय गरिएको छ । ” लजले यो प्याकेज प्रतिव्यक्ति केन्द्रित गरेर घोषणा गरेको हो । सामान्य अवस्थामा यो प्याकेजको लजले आठ हजार ५५५ रुपियाँ लिने गर्छ ।
यसअघि लजले नेपाली पर्यटक आकर्षण गर्नकै लागि ‘पे नाउ, गो लेटर’ प्याकेज सार्वजनिक गरेर करिब तीन सय पर्यटक सौराहा भित्र्याएको थियो । चार हजार रुपियाँमा तीन रात चार दिन सौराहा घुमाउने सो प्याकेजअन्तर्गत अग्रिम भुक्तानी गरेर पर्यटक अहिले सौराहा आउन थालेका छन्; जुन बजेटले बन्दका बेलासमेत बैङ्कको ब्याज र किस्ता एवं अन्य खर्च गर्न सहयोग पुगेको घिमिरेले बताउनुभयो ।
कोरोना कहरका कारण दुई वर्षदेखि लगातार घाटा बेहोरिरहेका सौराहाका होटल व्यवसाय अब खुला हुँदै गर्दा आन्तरिक पर्यटकलाई आकर्षित गराउन लागेका हुन् । यसले पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास व्यवसायीमा छ ।
सौराहाकै रेन फरेस्ट होटलले पनि दसैँतिहार लक्षित अफर घोषणा गरेको छ । होटलका सञ्चालक ज्ञानेन्द्रकुमार विष्टका अनुसार एक रात दुई दिनको चार हजार ४४४ रुपियाँ पर्ने गरी होटलले अफर घोषणा गरेको हो । यो अफरमा लन्च, डिनर र ब्रेकफास्ट समावेश छ ।
क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलिया सौराहाका होटलहरूले धमाधम यसरी प्याकेजसहितको अफर घोषणा गर्नु आफैँमा राम्रो पक्ष भएको बताउनुहुन्छ । “पछिल्लो समय प्रायः होटलहरूले ४० प्रतिशत छुटसम्मका अफर प्याकेज घोषणा गरेका छन् । यसले सौराहाको पर्यटन पुनस्र्थापनामा सहयोग पुग्ने विश्वास लिएका छाँै”, थपलियाले भन्नुभयो ।
जङ्गल सफारीमा विश्वप्रख्यात चितवनको सौराहामा पर्यटककै लागि केन्द्रित गरेर ११० होटल र सयभन्दा बढी रेस्टुरेन्ट सञ्चालनमा छन् । चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी, जङ्गल वाक, हात्ती सफारी, डुङ्गा सफारीमार्फत वन र वन्यजन्तु अवलोकन तथा थारूलगायतका जनजातिका भाषाभाषी र संस्कृति अवलोकनका लागि सौराहा प्रख्यात छ ।
निकुञ्जको मुख्य प्रवेशद्वार भएका कारण पनि सौराहा घुमेर मनोरञ्जन गर्ने पर्यटक यहाँ आकर्षित हुने गर्छन् । विशेष छुट अफरले सौराहाको पर्यटन पुनः पुरानै लयमा फर्कन सहयोग पुग्ने विश्वास क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?