logo
२०८१ बैशाख ६ बिहीवार



कोरोना कहरबीच थपिँदै होटल, नीतिगत सुरक्षा नभए पलायन हुन सक्ने

पर्यटन |


कोरोना कहरबीच थपिँदै होटल, नीतिगत सुरक्षा नभए  पलायन हुन सक्ने


काठमाडौं, भदौ १० गते । नेपालमा अहिले नायाँ होटल खुल्ने क्रम बढ्दो छ । कोरोनाकाल शुरुभएदेखि होटल व्यवसाय ठप्प रहे पनि नयाँ होटल खोल्ने क्रम रोकिएको छैन । होटलको संख्या थपिँदै जाने तर नीतिगत सुरक्षाको व्यवस्था हुन नसक्दा लगानी पलायन हुने खतरा बड्दै गएको व्यवसायीहरुले बताएका छन् । पर्यटन क्षेत्रको मुख्य आधारको रुपमा मानिने होटल व्यवसाय थप सुधारका लागि गुरुयोजना बनाएर अघि बड्न नसके लगानी पलायन हुने खतरा बड्दैगएको व्इबसायीको गुनासो छ ।
दुई साता अघि होटल एसोसिएसन नेपालसहित पर्यटन क्षेत्रसँग सम्वन्धित सातवटा संस्थाले पर्यटन क्षेत्र सुधारमा नीतिगत व्यवस्था गर्न सरकारसँग माग गर्दै २१ बुँदे मागपत्र बुझाएका थिए । सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको भने पनि सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव र कर्मचारीको व्यक्तिगत स्वार्थले अघि बड्न नसकेको व्यवसायीहरुको आरोप छ । देशको अर्थतन्त्रको मुख्य आधार मानिएको पर्यटन क्षेत्रलाई सुधार गर्न ‘पर्यटनका लागि एक स्वर’ हुनुपर्छ र सिङ्गो यो क्षेत्रको विकासका लागि दीर्घकालीन रुपमा ‘पर्यटन प्राधिकरण’ गठन गरी विषेश नीतिगत व्यवस्था गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग व्यवसायीहरुले माग गरेको होटल एसोसिएसन नेपालका प्रमुख कार्यकारी निर्देशक टेकबहादुर महतले बताउनुभयो । होटल व्यवसाय र पर्यटन क्षेत्रको उत्थान गर्न गुरुयोजना ल्याउनुको विकल्प नरहेको उहाँको सुझाव छ ।
खुल्ने तयारीमा रहेका र सञ्चालनमा रहेका तारे होटलहरु बन्द हुने तयारीमा रहेको होटल एसोसिएसन नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले बताउनुभयो । लगानी सुरक्षा गरी सुनिश्चित गर्न लगानीकर्तालाई राज्यले विश्वासको आधारहरु दिन सक्नुपर्छ, हाल खुलेका १४२ वटा तारे होटल र एक हजार १५१ वटा पर्यटकस्तरका होटल सुनसान छन्, शाहले बताउनुभयो ।
यो व्यवसाय आइसीयूमा पुगेकोजस्तै भएको छ, त्यसैले सुधारमा सरकारको नीतिगत र रणनैतिक सहयोग हुनुपर्ने होटल व्यवसायी राजेन्द्र सापकोटाले बताउनुभयो । कोभिडकै कारण लगानीकर्ताहरु विस्थापित हुन थालेको, स्टारको दर्जा लिएका होटलले दर्जा घटाउन थालेको पर्यटन विभागको तथ्याङक छ । यता ठमेलस्थित तीन तारे होटल मनास्लुले भने तारे सुविधा हटाइ दिनभन्दै पर्यटन विभागमा निवेदन दर्ता गरेको छ । विभागले होटल दर्ताका लागि डिलक्सका लागि एक लाख, पाँच तारेका लागि ७५ हजार, चार तारेका लागि ६० हजार, तीन तारेका लागि ४० हजार, दुई तारेका लागि ३० हजार र एक तारेका लागि २० हजार दर्ता शुल्क लिने गरेको छ ।

होटल ठप्प भए पनि सञ्चालन खर्च कम नभएको र मजदुरको माग पुरा गर्न नसक्दा समेत होटल व्यवसाय बन्द हुनेक्रम बड्दैगएको छ । दरबारमार्गस्थित होटल अन्नपूर्ण करिव एक वर्षदेखि बन्द अवस्थामा छ । विभागको तथ्याङकअनुसार हाल नेपालमा ४३ हजार ९९९ वटा बेड रहेपनि यो संख्या घट्नेक्रममा छन् । पर्यटन विभागको २०७८ असार १६ गते दिएको स्वीकृतिमा कोभिड महामारी शुरु भएको अवधिमादेखि पर्यटन विभागले ३५ वटा स्टार होटल, ९९ वटा पर्यटकस्तरका होटल र १८९ वटा सामान्य होटललाई क्वारेन्टाइनमा प्रयोेग अनुमति दिएको बाँकी सञ्चालन हुन सकेका होटल एसोसिएसनले जनाएको छ ।

होटल एसोसिएसनले भने होटल सञ्चालनको थप कुनै योजना बनाउन नसकेको जनाएको छ । कोरोना भाइरस तेस्रो भेरियन्ट आउने खतराले पर्ख र हेरको अवस्थामा रहेको उपाध्यक्ष शाहले बताउनुभयो । सरकारले तत्काल व्यवसायीहरुलाई खोपको व्यवस्था, आर्थिक सहुलियत, राजश्वमा छुट र सुलभ कर्जा दिन व्यवसायीहरुको माग छ । काठमाडौंको नक्सालमा हिल्टन, लैनचौरमा सेराटन र ठमेलमा वाराही ग्रुपले होटल खोल्ने तयारी थाले पनि बन्दाबन्दी समस्या बनाएको एसोसिएसनले जनाएको छ ।

गत वर्ष पाँचतारे डिलक्समा झापाको मेचीक्राउन, चार तारेमा होटल वाराही पोखरा, होटल सांग्रीला भिलेज पोखरा, होटल ल्याण्डमार्क पोखरा र नान्स होटल सिदार्थनगर रुपन्देही थप भएका छन् । नयाँ खुलेका दुई तारे होटलमा होटल लोटसजेम्स गोकर्णेश्वर र होटल भादगाउँ भक्तपुर रहेको पर्यटन विभागले जनाएको छ । दुई वर्षअघि पाँचतारे होटलमा मेरियट र अलफ्ट थप भएका थिए ।
गत वर्ष तीन तारेस्तरको साधारण रिसोर्ट ट्रायम्फ आर्गानिक रिसोर्ट धादिङ, चार तारे स्तरको (डिलक्स) आगन्तुक रिसोर्ट वनेपा र पाँचतारेस्तरको (लक्जरी) चन्द्रगिरी हिल्स खुलेका छन् । कोभिड महामारीले पर्यटन व्यावसायमा असर पु¥याए पनि राज्यले थप सुविधाका कार्यक्रमहरु ल्याउन नसकेको पर्यटन विभाग होटल शाखाका निर्देशक मनबहादुर जिसीले बताउनुभयो ।

हालसम्म नेपालमा एकसय ४२ वटा तारे होटल रहेका छन् । जसमा डिलक्स, पाँच तारे १५, चार तारे १७, तीन तारे ३३, दुई तारे ४२ वटा र एक तारे ३४ वटा रहेका छन् । अन्य साना होटलको मापदण्ड र अनुगमन संविधानले सम्वन्धित प्रदेश सरकार मातहत रहने तोकेको छ । हालसम्म एक सय दुई वटा तारे होटलस्तरका रिसोर्ट रहेको विभागको तथ्याङक छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?