logo
२०८१ बैशाख १२ बुधवार



पाँच हजार पर्यटन मजदुरलाई रोजगारी

पर्यटन |


पाँच हजार पर्यटन मजदुरलाई रोजगारी


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ६ गते । पर्यटन क्षेत्रका करिब पाँच हजार मजदुर र श्रमिकलाई अल्पकालीन रोजगारी उपलब्ध गराइने भएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा छोटो समयका लागि रोजगारी उपलब्ध गराउन लागेको हो । कोभिड–१९ महामारीका कारण पर्यटन क्षेत्रका धेरै मजदुरले रोजगारी गुमाएकाले जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत रोजगारी प्रदान गर्न लागिएको बोर्डले जनाएको छ । दुई वर्ष छ महिना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा यूएनडीपीका तर्फबाट १० लाख ५० हजार सहलगानी हुनेछ ।

यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरी थप दुई हजारभन्दा बढीलाई रोजगारी दिने लक्ष्य पनि राखेको छ । परियोजना कार्यान्वयनका लागि हालै मात्र बोेर्ड र नेपाल एसोसिएन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) सम्झौता पनि भएको छ । सम्झौताअनुसार नाट्टाले महामारीले रोजगारी गुमाएका पाँच सयभन्दा बढी पर्यटन मजदुरलाई प्रतिव्यक्ति १२ दिनका दरले अल्पकालीन रोजागारी प्रदान गर्नेछ ।

परियोजनामार्फत छोटो अवधिको भए पनि रोजगारीको अवसर सिर्जना हुने बोर्डका प्रमुख कार्यकारी डा. धनञ्जय रेग्मीले बताउनुभयो । त्यससँगै पर्यटकीय स्थान र पर्यटकीय गन्तव्यहरूको मर्मतसम्भारमा पनि यस परियोजनाले सहयोग पु¥याउने उहाँको भनाइ छ । परियोजनाले क्रमशः अन्य क्षेत्रसँग पनि सम्झौता गर्दै कार्यक्रम अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । उहाँले मजदुरले काम गरेपछि सीधै आफ्नो खातामा रकम पाउने गरी पारदर्शी ढङ्गले कार्यक्रमको कार्यान्वयन हुनेसमेत बताउनुभयो ।

परियोजनाले विशेष गरी पदमार्ग, जलयात्रा (¥याफ्टिङ) गरिने नदी, टे«किङ टे«ल, हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदामा क्षेत्र निर्धारण गरी पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी दिइने योजना छ । पहिलो चरणमा नेपालका मुख्य पर्यटकीय क्षेत्रमा रहेका अति प्रभावित एक हजार छ सय जनशक्तिलाई पर्यटकीय क्षेत्रको सरसफाइ, पदमार्गको मर्मतसम्भार, पैदल मार्गका सिँढी मर्मतसम्भार, सङ्केत चिह्नको स्थापना तथा मर्मतसम्भारका कार्यमा संलग्न गराउने बोर्डले जनाएको छ । त्यसबापत ४० दिन बराबरको रोजगारी प्रदान गरिने पनि बोर्डले जानकारी दिएको छ ।

परियोजनाअन्तर्गत बोर्ड र नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज् (नारा)सँग पनि यसै हप्ता सम्झौता भएको छ । सम्झौताअनुसार ¥याफ्टिङ क्षेत्रका दुई सय मजदुरले काम पाउने छन् । नाराले आफ्नो मातहतका २०० जना मजदुरलाई त्रिशूली, भोटेकोसी, कर्णाली, सेती र कालीगण्डकी नदीमा जलयात्रा गरिने क्षेत्रमा पूर्वाधार मर्मतसम्भार तथा सरसफाइलगायतका कामका लागि रोजगारी उपलब्ध गराउनेछ । वर्षायामका कारण आगामी असोज १ देखि मजदुरलाई काममा लगाइने योजना छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?