logo
२०८१ बैशाख ८ शनिवार



सौराहामा सफारी खुला

पर्यटन |


सौराहामा सफारी खुला


शालिग्राम नेपाल

चितवन, साउन १३ गते । तीन महिनादेखि बन्द भएको चितवनको सौराहाका सामुदायिक वनमा पर्यटकका लागि सफारी खुला गरिएको छ । गत वैशाख १६ गतेदेखि बन्द गरिएको सफारी पर्यटकीय नगर सौराहा सञ्चालनमा आएको १२ दिनपछि यहाँ आउने पर्यटकका लागि मङ्गलबारदेखि सफारी खुला गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले कोरोनाको दोस्रो लहर सुरु भएपछि बन्द भएको हात्ती सफारी, जिप सफारी र डुङ्गा सयर खुला गरिएको जानकारी दिनुभयो ।
पर्यटकीय आकर्षणको केन्द्र बीसहजारी तालसहित पर्यापर्यटन सञ्चालन गरिरहेका यहाँका बाघमारा मध्यवर्ती सामुदायिक वन, जनकौली मध्यवर्ती सामुदायिक वन, चित्रसेन मध्यवर्ती सामुदायिक वन र खैरहनीको कुमरोज सामुदायिक वनमा हात्ती सफारी, जिप सफारी र डुङ्गा सयरका लागि निकुञ्जले टिकट खुला गरेको हो । सौराहा यही साउन १ गते देखि ३३ प्रतिशत पर्यटक राख्न पाउने गरी आंशिक खुला गरिएको थियो ।
सौराहामा आन्तरिक पर्यटक आउन थालेपछि व्यवसायीको आग्रहका आधारमा मध्यवर्तीभित्रका सामुदायिक वनमा सफारी खुला गरिएको उहाँले जानकारी दिनुभयो । अवस्था सामान्य बन्द गयो भने वर्षापछि निकुञ्ज खुला गरिनेछ, बरालले भन्नुभयो ।
कोरोना महामारीको जोखिम कायमै रहेको भन्दै प्रमुख संरक्षण अधिकृत बरालले र निकुञ्जभित्र रहेका सडक बिग्रिएकाले मर्मत र घाँसको व्यवस्थापन गरेर मात्र पर्यटकका लागि निकुञ्ज खुला गर्ने योजना रहेको बताउनुभयो ।
सौराहामा अहिले करिब सयको हाराहारीमा दैनिक पर्यटक आएका छन् । सामुदायिक वनमा सफारी खुलेसँगै पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरेका छौँ, क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराइले भन्नुभयो, सौराहा खुलेको १२ दिनसम्म त्यति सन्तोष गर्ने भेटिएन । पर्यटक नआउँदा यहाँका होटल सञ्चालकले बैङ्क ऋण तिर्न नसकेर हैरान भएको बताएका छन् ।
सहज अवस्थामा चितवन निकुञ्जमा वार्षिक करिब दुई लाख पर्यटक निकुञ्ज घुम्न आउने गरेका छन् । सौराहाको मुख्य आम्दानीको स्रोत निकुञ्ज र सामुदायिक वनमा सफारी हो । यहाँ घुम्न आएका पर्यटकहरू दुई रात तीन दिनसम्म बस्ने गरेका छन् । सौराहामा १२० भन्दा बढी होटल तथा ८५ को हाराहारीमा रेस्टुरेन्ट छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?