logo
२०८१ बैशाख ६ बिहीवार

   आन्तरिक पर्यटक प्रवद्र्धन कार्यक्रम ल्याइने   



मजदुर र कर्मचारीलाई खोपको माग

पर्यटन |


मजदुर र कर्मचारीलाई खोपको माग


वसन्त पराजुली

सौराहा, असार ४ गते । कोभिड–१९ नियन्त्रणमा आई सामान्य अवस्थामा फर्किए चितवनको पर्यटन व्यवसायलाई लयमा फर्काउन ‘आन्तरिक पर्यटक प्रवद्र्धन कार्यक्रम’मा जोड दिइने भएको छ । पर्यटन व्यवसायीहरूको छाता संस्था क्षेत्रीय होटल सङ्घ सौराहाले स्थानीय, प्रदेश, केन्द्र सरकारका साथै नेपाल पर्यटन बोर्डको सहयोग लिएर देशव्यापी आन्तरिक पर्यटक प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ ।
सङ्घका अध्यक्ष दीपक भट्टराईले निषेधाज्ञा खुले पनि एक/डेढ वर्ष विदेशी पर्यटक नआउने पक्का छ भन्दै अर्बौंको लगानी रहेको पर्यटन क्षेत्रको पुनस्र्थापनाका लागि आन्तरिक पर्यटकमै जोड दिनु जरुरी रहेको बताउनुभयो ।
उहाँले सातै प्रदेशका मुख्यमुख्य सहरमा पुगेर चितवनका पर्यटकीय क्षेत्रबारे प्रचारप्रसार गर्ने योजना बनाएको र यसले चितवन घुम्न आउने पर्यटकको आकर्षण बढ्ने विश्वास रहेको उल्लेख गर्नुभयो । सरकारले बजेट भाषणमा ल्याएका कार्यक्रमहरू हुबहु लागू हुन सके सामान्य अवस्थामा आन्तरिक पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताइएको छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेटमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निजामती कर्मचारीलाई १० दिने पर्यटन काज, होटल तथा व्यवसायमा बैङ्क ब्याज छुट तथा व्यवसायमा पुनर्कर्जाको व्यवस्था, पर्यटन व्यवसायलाई पनि उद्योगसरह राखेर सेवा सुविधा छुटजस्ता कार्यक्रम अघि सारिएको छ । त्यसलाई पर्यटन व्यवसायीले सकारात्मक मानेका छन् । सौराहाका होटल व्यवसायी सुमन घिमिरेले सरकारले घोषणा गरेका कार्यक्रम अक्षरशः पालना भए मात्रै पनि अहिले पर्यटन क्षेत्रले बेहोरेको क्षति न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
होटलहरू चलाउनुअघि पर्यटन क्षेत्रमा कार्यरत कर्मचारी तथा मजदुरको सुरक्षाका लागि पनि कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्ने माग भने उहाँको छ । “पर्यटन व्यवसायी पनि सरकारले तोकेको स्वास्थ्य मापदण्ड सबै पूरा गरेर होटल चलाउन तयार छौँ । सरकारले पनि हाम्रा मजदुर तथा कर्मचारीको सुरक्षाका लागि प्राथमिकतामा राखेर खोपको व्यवस्था गरिदिनुपर्छ,” उहाँको भनाइ छ ।
चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । वन र वन्यजन्तु अवलोकनका लागि यो विश्वभर नै प्रख्यात छ । सौराहा, पटिहानी, जगतपुर, मेघौली यहाँका प्रमुख पर्यटकीय स्थल हुन् । देवघाट, वाल्मीकि आश्रम पनि चितवनको धार्मिक पर्यटकीय क्षेत्रमा पर्छ । १५० पर्यटकीय होटल रहेको चितवनमा होटल व्यवसायमा ३३ अर्बको लगानी छ । यहीबाट छ हजार पाँच सयले प्रत्यक्ष रोजगारी पाएका छन् तर अहिले कोरोनाको महामारीले होटल व्यवसाय ठप्प हुँदा यसले पारेको प्रभावसँगै यसको लगानीको जोखिम र यसमा आश्रितहरूको रोजगारीको समस्या छ । पर्यटन व्यवसायी गुणराज थपलिया कोभिड–१९ का कारण झन्डै डेढ वर्षदेखि पर्यटन क्षेत्रले सास्ती भोगिरहेको बताउनुहुन्छ ।
“लगानीको सवाल त छँदै छ, मजदुरकोे रोजगारीका लागि पनि पर्यटन क्षेत्रलाई लयमा फर्काउन जरुरी छ । पर्यटन क्षेत्र लयमा फर्कने भनेकै आन्तरिक पर्यटकले हो,” उहाँले भन्नुभयो ।
“छ हजार पाँच सय जनासम्म पर्यटक राख्नसक्ने क्षमता रहेको चितवनमा कोभिडको दोस्रो लहर सुरु हुनुअघि ४० प्रतिशतभन्दा बढी भरिन्थ्यो, यो सामान्य अवस्थामा हो,” थपलिया भन्नुहुन्छ, “बन्द होटलको सरसफाइ, रङरोगन, अत्यावश्यक सामान खरिदमा हुने खर्चको जोहो गरेर पनि होटल चलाउनुको विकल्प छैन । एउटा होटलको सरसफाइ तथा रङरोगनमा कम्तीमा २५ देखि ३० लाख रुपियाँ खर्च लाग्छ । त्यसअनुसार चितवनका पर्यटकीय होटल नियमित सञ्चालनमा ल्याउन कम्तीमा ५६ करोड रुपियाँ खर्च लाग्ने देखिन्छ । ”

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?