logo
२०८० चैत्र १६ शुक्रवार



पर्यटक तान्दै बर्दियाको सत्खलुवा ताल

पर्यटन |


पर्यटक तान्दै बर्दियाको सत्खलुवा ताल
फाइल तस्बिर


मेनुका चौधरी
बाँके, वैशाख १४ गते । बर्दियाको बारबर्दिया नगरपालिका– ९ सत्खलुवा तालमा रातो कमलको फूल हेर्नेको लर्को लागेको छ ।

सात वटा ताल मिलेर बनेको नाग देउताको वासस्थानको रुपमा यो परिचित छ । रमणीय वातावरण र मनोरम दृश्यले यहाँ पुग्ने पर्यटकलाई आनन्दित बनाउँछ । पूर्वपश्चिम राजमार्गको बैदी चोकबाट करिब तीन किलोमिटर उत्तरमा अवस्थित सत्खलुवा ताल पुग्नु अगावै फराकिला बाटो अनि मनोरम दृश्यको बीचमा बसोबासको लागि सत्खलुवा होमस्टे छ ।

बर्दियाको सदरमुकाम गुलरियादेखि करिब २५ किलोमिटरको दूरीमा पर्ने पर्यटकीय क्षेत्र सत्खलुवा ताल जैविक विविधताले भरिपूर्ण छ । विभिन्न जातिका जीवजन्तुको साथ साथै अनेक प्रजातिका चराचुरुङ्गी, जङ्गली पाटे बाघ, चित्तल, दुम्सी, बँदेललगायत जनावर यहाँ अवलोकन गर्न पाइन्छ ।

बर्दिया राष्ट्रिय निकुञ्जसँगैको ताल पर्यटकीय गन्तव्य बन्ने प्रशस्त सम्भावना बोकेको भए पनि प्रचारप्रसारको अभाव छ । सामुदायिक वनभित्रको तालमा डुङ्गा सयरको व्यवस्था गरिएसँगै त्यस वरपरका पर्यटकको भीड लाग्ने गरेको स्थानीय बताउँछन् ।

यहाँ दृश्यावलोकन स्तम्भ बनेपछि सूचना सम्प्रेषणमा सजिलो भएको नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले बताउनुभयो । विसं २०७१ मा नेपाल सरकारले उक्त क्षेत्रलाई नेपालको सिमसार क्षेत्र घोषणा गरेसँगै सो स्थानको जग्गाको मूल्य बढेको बारबर्दिया–९ खैरेनीका उज्जवल थारुले बताउनुभयो ।

शुरुदेखि नै आफू कर्मचारीको रुपमा रहेको र ताल घुम्न आउँदा जङ्गलमा सचेत हुनुपर्ने थारुले आग्रह गर्नुभयो । पर्यटकले ताल क्षेत्र वरपर विश्राम गर्न मिल्ने टहरा, स्वच्छ पिउने पानीको प्रबन्धलगायत व्यवस्थापन गर्न आवश्यक रहेको स्थानीय पर्यटक रामी थारुले सुझाव दिनुभयो ।

सत्खलुवा ताल संरक्षण समितिका रेशमलाल अधिकारीले यस तालको विकास तथा प्रवर्धनका लागि स्थानीय सरकार र केन्द्रले अझै चासो दिनुपर्ने बताउनुभएको छ । सार्वजनिक बिदा वा शनिबारका दिन बढी भीडभाड रहने यस तालमा वनभोजको लागि पनि पर्यटकको रोजाइ बन्न पुगेको स्थानीय बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?