logo
२०८१ बैशाख ४ मंगलवार



ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि

खुला |


ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि
फाईल तस्विर


टीकापुर,  वैशाख ९  गते । वैशाख कैलालीमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । कैलालीमा एक सातामा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो रु १०० बढेको छ । कैलालीका बजारमा सहजरूपमा ब्रोइलर कुखुराको मासु नपाइने र पाइए पनि महँगो हुँदै गएको व्यवसायी बताउँछन् । ब्रोइलर कुखुरा एक साता पहिला जिउँदो प्रतिकिलो रु १९० र काटेर रु ३२० मा बिक्री हुने गरेको तर अहिले जिउँदो कुखुरा रु २८० सम्म र काटेको मासु रु ४२० मा बजारमा बिक्री भइरहेको छ । सातामा मासुको मूल्य प्रतिकिलो रु १०० का दरले बढेकाले मासुको बिक्रीमासमेत कमी आएको टीकापुरस्थित मासु व्यवसायी राजकुमारी चौधरीले बताउनुभयो ।    
    
“मैले दैनिक १० देखि २० किलोसम्म मासु बिक्री गर्छु । बजारमा सहजरूपमा जिउँदो ब्रोइलर कुखुरा पाइरहने र मासु बिक्रीबाट राम्रो मुनाफा हुने भएकाले नियमित यही काम गर्दै आएकी छु”, उहाँले भन्नुभयो, “केही दिनदेखि कुखुरा पाउनै मुस्किल भएको छ । कुखुरा अभाव भएकाले मासुको मूल्य बढेको छ । मूल्य बढेपछि बिक्रीसमेत घट्न थालेको छ ।” ब्रोइलर कुखराको उत्पादनमा कमी र मासुको मूल्य बढेकोे पदमरम्भा पोल्टी फर्म तथा फिड सप्लायर्सका कृपा रावलले बताउनुभयो । उहाँले विगत केही महिनादेखि किसानले आवश्यक मात्रामा ब्रोइलर चल्ला नपाउँदा उत्पादनमा कमी आएको बताउनुभयो ।    
    
 “किसानले समयमा चल्ला पाएनन् त्यसले कुखुरा अभाव भयो”, रावलले भन्नुभयो, “ब्रोइलर कुखुराको मासुको माग बढ्दै गएको र पूर्ति गर्न उत्पादन नभएकाले दैनिक मासुको मूल्य बढ्दै गएको हो । अभाव हेर्दा अझै मूल्यमा वृद्धि हुनसक्ने देखिन्छ ।” बजारमा ब्रोइलर अभाव भएसँगै बिक्री मूल्यमा एकरूपतासमेत छैन । बजारमा मासु उपलब्धता अनुसार बिक्रेताले मनपरी रूपमा रु ३८० देखि ४२० सम्म लिन थालेका छन् । एक सातादेखि मासुको मूल्य उकालो लागेकाले निगरानी र नियन्त्रण गर्नुपर्ने टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्ट रावलले बताउनुभयो ।    
    
‘‘टीकापुर नगरपालिकाले बजार व्यवस्थापन ऐन निर्माण गरिसकेको छ । ऐन अनुसार प्रक्रियामा जानेछौँ’’, उपप्रमखु विष्टले भन्नुभयो, “उपभोक्तालाई मारमा पर्ने काम भएकाले केही दिनमा बजार अनुगमन गरेर बजारमा मनपरी मूल्य वृद्धि रोक्छौँ । हामीले आजभोलि नियमित बजार अनुगमन शुरु गरेका छौँ ।” उपप्रमुख विष्ट नगरपालिकाले बजारमा उपभोक्ता ठगी गर्ने केही ब्यापारीलाई कारवाहीको दायरामा ल्याएकाले अनावश्यक अभाव सिर्जना गर्ने, मूल्य बढाउनेलाई कारवाही गर्ने बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?