logo
२०८१ बैशाख ७ शुक्रवार



खुल्यो पर्यटक लक्षित वाटरपार्क

पर्यटन |


खुल्यो पर्यटक लक्षित वाटरपार्क


रङ्गेली समाचारदाता

विराटनगर, फागुन १९ गते । पर्यटकीय दृष्टिकोणले सुनसरीको इटहरीमा ईपी ल्यान्ड एन्ड वाटरपार्क सञ्चालनमा ल्याइएको छ । ३० करोड रुपियाँको लगानीमा पर्यटक लक्षित गरी निर्माण गरिएको वाटरपार्कको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले उद्घाटन गर्नुभएसँगै विधिवत् सञ्चालनमा आएको हो ।
नेपालमै ठूलो लगानीमा ठूलो पार्क दाबी गरिएको ईपी ल्यान्ड प्रवेशमा  महँगो शुल्क तोकिएको छ । पार्कका सञ्चालक विनोद पौडेलका अनुसार तीन फिटमुनिका बालबालिका र ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेश दिइनेछ । साथै प्रवेश शुल्क भुक्तानी गरेपछि वाटर पार्क र एम्युजमेन्ट पार्कको अवलोकन निःशुल्क हुनेछ ।
यसबाहेक जिपलाइन, एडभेन्चर पार्क, सुमो रेसलिङ र बडी जर्ब, जम्बो प्याकका लागि बेग्लै शुल्क तोकेको छ । जम्बो प्याकको टिकट खरिद गरेपछि प्रवेशका लागि छुट्टै टिकट लिइरहनु पर्दैन । जम्बो प्याकको टिकटबाट हाल पार्कमा रहेका छ प्रकारको वाटर पार्क, एम्युजमेन्ट पार्क, जिपलाइन, वाल क्लाइम्बिङ, एडभेन्चर पार्क, सुमो रेसलिङ र बडी जर्बको रमाइलो गर्न पाइनेछ ।
बिहान १० देखि साँझ ६ बजेसम्म खुला रहने यस पार्कमा प्रवेश गरेपछि यहाँभित्र छ घण्टासम्म बस्न पाइनेछ । सञ्चालक पौडेलले तीन महिनापछि स्नो पार्क पनि सञ्चालनमा ल्याइने बताउनुभयो । स्नो पार्कमा कृत्रिम हिउँको पार्क हुनेछ । यसमा हिमाल आरोहण गरेको हिउँमा चिप्लेटी खेलेको आनन्द लिन सकिनेछ । साथै हिउँ परेको घरभित्र क्याफे सञ्चालनमा ल्याइनेछ ।
पार्कमा इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीम पौडेलसहित पूर्वएआईजी कृष्ण बस्नेत, पूर्वडीआईजी ज्ञानविक्रम शाह र काठमाडौँको वू पी ल्यान्ड एम्युजमेन्ट वाटरपार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानी छ । यो पार्क भारतीय पर्यटक लक्षित गरेर सञ्चालनमा ल्याइएको हो । त्यसबाहेक विदेशी पर्यटकलाई  एक दिन इटहरीमा बिताउन आवश्यक पर्ने सुविधा यो पार्कले दिनसक्ने दाबी गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?