logo
२०८० चैत्र १५ बिहीवार



राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल माग

प्रदेश |


राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल माग
फाइल तस्बिर


कर्णाली, फागुन १९ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेट्नुभएको छ । आफ्ना जनताका लागि खानाको समस्या भएको भन्दै मङ्गलबार मुख्यमन्त्री शाहीको कार्यकक्षमा पुगेका दिलबहादुरले गुराँस गाउँपालिकाले चार महिनासम्म भत्ता नदिएको गुनासो पोख्नुभयो ।

गाउँपालिकाले दिने प्रतिव्यक्ति मासिक रु तीन हजार नपाउँदा खानलाई चामल किन्न नसकेकाले भोको पेटमा सरकारसमक्ष बिन्ती बिसाउन आएको उहाँले बताउनुभयो । “मेरा जनता भोकले मर्न आँटे । म पनि भोकै यहाँ आएको छु”, उहाँले भन्नुभयो, “पेटभन्दा ठूलो केही छैन । सरकारले भत्ता र रासनपानी दिएर पठाउनु पर्यो ।”

उहाँले ४६ घर परिवारका सबैलाई खानका लागि चामल नहुँदा भोकले ठूलो समस्या बनाएको भन्दै जतिसक्दो छिटो सम्बोधन गरिदिन मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो । आफ्नै कार्यकक्षमा भोकको समस्या बोकेर आएका राउटे अगुवा दिलबहादुरको टोलीलाई मुख्यमन्त्री शाहीले चिन्ता नलिन आग्रह गर्नुभयो । उहाँले राउटेको ४६ घर परिवारका लागि प्रदेश सरकारले खानासहित ओतका लागि व्यवस्थित पाल उपलब्ध गराउने वचन दिनुभयो ।

राउटेले मुख्यमन्त्री शाहीलाई काठको कोसी र ठेकी उपहार दिएका थिए । त्यस्तै कर्णाली प्रदेशका प्रमुख सचिव चन्द्रमान श्रेष्ठलाई पनि उनीहरुले कोसी उपहार दिएका थिए । प्रदेश सरकारले केही रासनपानी दिएपछि खुशी भएर उनीहरू फर्केका थिए ।

सङ्घीय सरकारले प्रतिराउटे मासिक रु तीन हजार दिँदै आएकामा कर्णाली प्रदेश सरकारले चालु आवदेखि उनीहरुलाई मासिक रु दुई हजार भत्ता थपेको छ । मुख्यमन्त्री शाहीले राउटेलाई स्थायी घर निर्माण गरिदिने प्रस्ताव राख्दा अगुवा दिलबहादुरले आफ्नो फिरन्ते पहिचान मेटिने तर्क गर्नुभयो । पछिल्लो समयमा उनीहरुलाई अस्थायी भए पनि पालको व्यवस्थित बास बनाउने योजना बनाइएको प्रदेश सरकारले जनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?