logo
२०८० चैत्र १५ बिहीवार

  किन हुन्छन् एकपछि अर्को आत्महत्याका घटना ?  



पारिवारिक तनाव र दिक्दारी नै मुख्य कारण

खुला |


पारिवारिक तनाव र दिक्दारी नै मुख्य कारण


देवबहादुर कुँवर
ललितपुर, माघ ६ गते । मान्छे ‘ईज्जत र प्रतिष्ठा’ भन्दा मृत्युसँग बढी डराउने गर्छ । तर, पारिवारिक तथा आर्थिक असन्तुष्टीबाट सिर्जित मानसिक तनाव र उदासिनताले भने मृत्युलाई सहजै रोज्न बाध्य पारेको देखिन्छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा सप्तरी राजविराजका ३२ वर्षीय सागर पोखरेल र उहाँकी २२ वर्षीय श्रीमती निर्मला पोखरेल सोमवार विहान मृत फेला परेका छन् । पोखरेल दम्पतीको मृत्युमा ‘तनाव’ मुख्य कारण हुन सक्ने सुरक्षा अधिकारी बताउँछन् ।
यसअघि काठमाडौँको टोखास्थित ग्रीनभिल्ला अपार्टमेण्टमा उमेश केसी र सुदीक्षा गिरी दम्पती मृत अवस्थामा फेलापरेको १० दिन नवित्दै अर्को घटना दोहोरिएको हो । सो घटनामा पनि पारिवारिक ‘तनाव’ नै मुख्य कारण देखिएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार, प्रारम्भिक अनुसन्धानमा पोखरेल दम्पतीले आत्महत्या गरेको देखिन्छ । पोखरेल दम्पती मृत फेला परेको घटनास्थल नजिक कीटनाशक औषधिको बोतल फेला परेको छ ।
‘सल्फस’ सेवनबाट पोखरेल दम्पतीको मृत्यु भएको हुनसक्ने भनाई प्रहरीको छ । बुबा–आमा छोरी भेट्न भक्तपुर गएको वेला यस्तो दुर्घटना भएको हो । हत्या वा आत्महत्याका सम्वन्धमा पोष्टमार्टम पछिमात्र थप स्पष्ट हुने जानकारी उहाँले दिनुभयो ।
केही महिनाअघि बैबाहिक जीवनमा बाँधिएको यो जोडीको सामुहिक मृत्युका सम्वन्धमा परिवार तथा आफन्त पनि आश्चार्यमा परेका छन् । यसअघि टोखामा भएको केसी र गिरी दम्पतीको घटनामा श्रीमतीले लोग्नेको हत्यापछि आत्महत्या भएको हुन सक्ने बताइएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका अनुसार, पारिवारिक विवादसँगै श्रीमती सदीक्षाले श्रीमान् उमेशलाई सिलौटाले कन्चटमा हिर्काइ हत्या गरेको र त्यसको १२ घण्टापछि आफूले आत्महत्या गरेको पोष्टमार्टम रिपोर्टबाट पुष्टि भएको हो ।
त्यस्तैं, गत भदौ–२६ गते भक्तपुरको निकोसेरास्थित सुदिप अधिकारी, श्रीमती सम्झान, १८ वर्षीय छोरा र एउटा कुकुर मृत अवस्थामा फेला परेको थियो । सो हत्या घटनामा सुदिपकै संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको हो ।
राति सुतिरहेको अवस्थामा श्रीमती र छोरामाथि धारिलो हतियार प्रहार गरी हत्यापछि सुदिपले कुकुरालाई र आफूले सल्फस सेवन गरी आत्महत्या गरेको पुष्टिभएको थियो । पारिवारिक तनावले आत्महत्यामात्र नभइ हत्या जस्तो गलत बाटो रोज्न बाध्य पर्ने गरेको छ ।
हत्या तथा सामुहिक आत्महत्या आर्थिक तथा पारिवारिक तनावबाट सिर्जित मानसिक रोग भएको मानसिक रोग विशेषज्ञ बताउछन् । सीएमसी नेपाल (सेण्टर फर मेण्टलहेल्थ काउन्सिलिङ्ग नेपाल) का अध्यक्ष डा. विद्यादेव शर्मा स्वस्थ मन, स्वस्थ शरीर अत्यावश्यक भएको बताउनुहुन्छ ।
पारिवारिक तनाव, उदासिनता र दिग्दारीसँगै लागूऔषध तथा मदिराको कुलतले मानसिक तनाव (फ्रस्टेसन ) हुन्छ । फ्रष्टेसनले मृत्युसँग डराउन होइन, मार्न र मृत्युवरण गर्न उक्साउछ । उहाँले भन्नुभयो–यसका लागि मनोपरामर्श अनिवार्य हुन्छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?