logo
२०८० चैत्र १५ बिहीवार



भेनेजुएलाको संसदका सदस्यहरुले लिए सपथ, अमेरिका–समर्थित गुएइदो बाहिरिए

अन्तर्राष्ट्रिय |


भेनेजुएलाको संसदका सदस्यहरुले लिए सपथ, अमेरिका–समर्थित गुएइदो बाहिरिए
तस्विर-बीबीसी


काराकास, पुस २२ गते। दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको नयाँ संसदका सदस्यहरुले मंगलबार सपथ ग्रहण गरेका छन् । संसदमा वर्तमान राष्ट्रपति निकोलास मदुरोका समर्थकहरुको बहुमत रहेको छ ।
विपक्षी नेता हुँवा गुएइदो भने औपचारिक रुपमै संसदीय कारबाहीबाट अलग हुनु भएको छ ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले नयाँ संसदको निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउनु भएको छ । अमेरिकी विदेश मन्त्रालयले पछिल्लो पटक सार्वजनिक गरेको विज्ञप्तिमा अमेरिकाले भेनेजुएलाको आधिकारिक राष्ट्रपति गुएइदो रहेको जनाएको छ ।
मन्त्री पोम्पेओले भन्नुभएको छ, “नयाँ संसद गैरकानुनी छ र यसलाई अमेरिकाले बैधानिक मान्दैन ।” संसदको नयाँ निर्वाचन परिणामलाई अमेरिका सहित ब्राजिल, कोलम्बिया र उरुग्वेले पनि मान्यता नदिने जनाएका छन् ।
दक्षिण अमेरिकाका एक दर्जन मुलुक र क्यानाडा समेत सहभागी रहेको लिमा समूहका सदस्यहरुले भेनेजुएलामा सम्पन्न संसदीय निर्वाचन र त्यसबाट प्राप्त परिणामलाई अस्वीकार गर्ने जनाएका छन् । नेसनल एसेम्ब्लीको कूल २७७ स्थानमध्ये २५६ स्थानमा राष्ट्रपति मदुरोको युनाइटेड सोसलिस्ट पार्टी र यसको गठबन्धन दलले जितेको छ । भेनेजुएलामा गत डिसेम्बर ६ मा संसदका लागि निर्वाचन भएको थियो जसलाई विपक्षी दलहरुले बहिस्कार गरेका थिए ।
नेसनल एसेम्ब्लीको कार्यकाल पाँच वर्षको हुन्छ । यसअघि यस सभामा विपक्षीको बहुमत रहेको थियो, र विपक्षी नेता गुएइदो सन् २०१९ देखि सभामुख हुनुहुन्थ्यो । गुएइदोले विपक्षी सांसदहरुलाई समेटेर समानान्तर छायाँ संसद बनाउने योजना बनाउनु भएको छ । उहाँलाई विश्वका झण्डै ५० वटा मुलुकले भेनेजुएलाका आधिकारिक राष्ट्रपतिको रुपमा मान्यता दिएका छन् ।
राष्ट्रपति मदुरोमाथि मतदानमा धाँधली गरेको आरोप लाग्दै आएको छ । संसदमा यसअघि विपक्षीको बहुमत रहेपनि संसदले गर्ने हरेक निर्णयलाई मदुरोको प्रभावमा रहेको सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?