logo
२०८० चैत्र १६ शुक्रवार

  कोभिडले थलिएको पर्यटन क्षेत्र  



विदेशी पर्यटकको आगमन सुरु, आन्तरिक पर्यटकको चहलपहल

पर्यटन |


विदेशी पर्यटकको आगमन सुरु, आन्तरिक पर्यटकको चहलपहल


मुकुन्द गैरे
काठमाडौं, कात्तिक १७ गते । कोरोनाका कारण लामो समयदेखि सुनसान पर्यटनक्षेत्रमा विस्तारै चहलपहल बढ्न थालेको छ । विगत सात महिनादेखि बन्द रहेको पर्यटनक्षेत्रले अहिले गति लिन थालेको व्यवसायीहरुले बताएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी अपेक्षा अनुसार विदेशी पर्यटकको आगमन नभए तापनि विस्तारै आन्तरिक पर्यटकहरुको चहलपहल भने बढ्न थालेको बताउनुहुन्छ । सरकारले यही कात्तिक १ गतेदेखि विदेशी पर्यटकलाई नेपाल आउन खुला गरेसँगै विदेशी पर्यटक नेपाल आउन सुरु गरेको उहाँ बताउनुहुन्छ ।

यो दुई हप्तामा ८० जना विदेशी पर्यटकलाई ट्रेकिङसम्बन्धी सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो ।विदेशी पर्यटक धेरै मात्रामा आउने क्रम शुरू नभए पनि आन्तरिक पर्यटकहरुको चहलपहल भने बढेको पर्यटन व्यवसायी सुवेदी बताउनुहुन्छ । कोरोना नहटेसम्म विदेशी पर्यटक धेरै मात्रामा आउनसक्ने अवस्था छैन । तर पनि यूरोप, अमेरिका, सिंगापुर, अष्टेलियालगायत देशबाट थोरै मात्रामा भए पनि पर्यटक आगमन हुन थालेकाले यसले आशा जगाएको अध्यक्ष सुवेदीको भनाइ छ । 

सरकारले बनाएको मापदण्ड अनुसार व्यवसायीले पर्यटकहरुलाई सेवा दिइरहेको उहाँ बताउनुहुन्छ । होटल सङ्घ नेपाल (हान) का महासचिव साजन शाक्य विदेशी पर्यटकले होटलको बुकिङ्ग गर्नेको संख्या कम भए तापनि आन्तरिक पर्यटकहरुले होटल बुकिङ्ग गर्नेको संख्या दिनप्रति दिन बढिरहेको बताउनुहुन्छ ।
खासगरी काठमाडौं बाहेक पोखरा, लुम्विनी, चितवन, बन्दीपुर, नगरकोट, धुलिखेललगाएत क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढिरहेको महासचिव शाक्य बताउनुहुन्छ ।
यस क्षेत्रमा २० प्रतिशतभन्दा बढीको हाराहारीमा होटल बुकिङ भइरहेको र बढने क्रम रहेको हानका महासचिव शाक्यको भनाइ छ । दसैंको बिदाको समय भएकाले पनि आन्तरिक पर्यटकको चहलपहल बढेको हुनसक्ने उहाँको अनुमान छ । हिमाली क्षेत्रमा घुम्न आउने विदेशी पर्यटकको लागि असोज, कात्तिकको महिना हो । तर सरकारले विदेशी पर्यटक आगमनको लागि ढिला खुलाएकाले विदेशी पर्यटककाे नेपाल आगमनमा कमी आएकाे महासचिव शाक्यको ठम्याई छ ।हिमाली क्षेत्रमा कोरोनाको संक्रमणको जोखिम कम छ भनेर विदेशीहरुलाई जानकारी दिनको लागि प्रचार गर्न सकियो भने अब आउने सिजनमा पर्यटक आगमन बढ्न सक्नेमा उहाँको विश्वास छ ।

नेपाल एसोसिएसन अफ टुर एण्ड् ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष अच्युत गुरागाईं आन्तरिक पर्यटकको चहलपहल बढिरहेको बताउनुहुन्छ । विदेशी पर्यटकको आगमन संख्या न्यून रहे तापनि आन्तरिक पर्यटकको आगमन हुनु सकारात्मक कुरा भएको बताउनुहुन्छ । हामीले पर्यटक प्रर्वद्धनको गर्नु पर्ने काममा ढिला भए पनि विस्तारै गति लिनेमा उहाँको विश्वास छ ।

पर्यटन बोर्डका सूचना अधिकृत मनिराज लामिछाने कोरोना संक्रमणको कारण बन्द भएको पर्यटनक्षेत्र हाल चलायमान हुन थालेको बताउनुहुन्छ । आन्तरिक पर्यटकको चहलपहलसँगै विदेशी पर्यटक पनि आगमन विस्तारै दिनप्रतिदिन बढ्दै गएको सूचना अधिकृत लामिछाने बताउनुहुन्छ । साथै, पर्यटक प्रवर्धनका लागि काम भइरहेको र आगामी दिनमा अवश्य नै पर्यटकको संख्या बढ्ने उहाँको भनाइ छ । सरकारले आन्तरिक पर्यटन प्रर्वद्धनको लागि हप्तामा दुई दिन बिदा दिन प्रस्ताव अगाडि बढाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप