logo
२०८१ बैशाख १२ बुधवार



आहा क्या सुन्दर छ खोप्रा लेक (फोटो फिचर सहित)

पर्यटन |


आहा क्या सुन्दर छ खोप्रा लेक (फोटो फिचर सहित)


अमृतप्रसाद पौडेल
बेनी, कार्तिक ९ गते । म्याग्दकीको खोप्रा लेकमा अहिले हिमाल खुलेको छ । कोरोनाका कारण विदेशी पर्यटक नपुगे पनि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पूर्वाधारको खासै विकास नभए पनि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिखस्थित खोप्रालेक पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो ।
मनोरम हिमश्रृङ्खलाको दृश्यावलोकन, हिमाली भेषभूषा र मगर समुदायको रहनसहन एवम् ग्रामीण जीवनशैलीको प्रत्यक्ष रुपमा अवलोकन एवं अध्ययन गर्न पाइने हुँदा पनि आन्तरीक तथा बाह्य पर्यटकहरु खोप्रालेक पुग्ने गर्छन् ।
असोज महिनाको सुरुवातसँगै खोप्रालेक पुग्ने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको स्थानीय बसिन्दाले बताएका छन् । खोप्रा लेकमा पुग्दा तलतिर पर्ने वनजङ्गल, टाढा टाढाको मनमोहक पहाडी भूगोलसहित दजनौं हिमश्रृङखला देखिने हुँदा यो क्षेत्र पर्यटकको रोजाइमा परेको हो
एकै ठाउँबाट दर्जनौं हिमालसहित तरेली परेका पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न पाइने भएपछि खोप्रालेकमा पर्यटकको आगमन बढेको हो । समुद्री सतहदेखि ३ हजार ७ सय मिटरको उचाइमा अवस्थित खोप्रालेक पुग्दा हिमश्रृङखलाको साथमा जङ्गली पशुपंक्षी मृग, घोरल, डाँफेलगायत जनावर र पंक्षीहरुको अवलोकन गर्न पाइन्छ । भूगोलका हिसाबले केही टाढा भए पनि खोप्रालेक निकै सुन्दर, आकर्षक अनि मनमोहक स्थानका रुपमा छ ।
कोभिडका कारणले आन्तरीक तथा बाह्य पर्यटकहरु कमी भए पनि अहिले आन्तरीक पर्यटक बढ्न थालेको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर गर्बुजा बताउनुहुन्छ । शिख, घार तथा घोडेपानी क्षेत्रमा बासका लागि राम्रो प्रबन्ध भएको भए पनि खोप्रामा एउटा मात्रै लज हुँदा अलिक समस्या भएको भए पनि पुर्वाधार विकास सँगै त्यसलाई पर्यटकीय रुपमा पनि विकास र विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ ।
खोप्रालेक आफैमा निकै सुन्दर भएको प्रतिक्रिया दिँदै खोप्रालेक क्षेत्रमा भौतिक पूर्वाधार विस्तार गर्नसके आन्तरिक र बाह्य पर्यटक आगमनमा वृद्धि हुने अनुभव सुनाउनुहुन्छ म्याग्दी उद्योग बाणिज्य संघका द्वितीय उपाध्यक्ष एवम युवा व्यवसायी राजेश शाक्य ।
एउटा मात्र सामुदायिक लजमा बास बस्न नपुग्ने भएपछि पर्यटकलाई खयर भारानीथान क्षेत्र तथा संरक्षण कोषले पनि बस्ने र खाने व्यवस्था गर्ने गरेको छ । पहाडको टुप्पोमा अवस्थित खोप्रालेकबाट म्याग्दी, पर्वत, कास्कीका पहाडहरुमा अवस्थित ग्रामीण बस्तीहरु देखिन्छन् । पर्यटकीय क्षेत्र खोप्रालेक क्षेत्रको विकासका लागि स्थानीयस्तरबाट विशेष ध्यान दिइएको खयरभारानीथान क्षेत्र तथा संरक्षण कोषका अभियन्तासमेत रहेका स्थानीय अगुवा लेफ्टिनेन्ट राजु शेरपुजा पुनले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?