logo
२०८० चैत्र १६ शुक्रवार



चेन्नईको आठौं हारसँगै प्ले अफ पुग्ने सम्भावना लगभग समाप्त

खेलकुद |


चेन्नईको आठौं हारसँगै प्ले अफ पुग्ने सम्भावना लगभग समाप्त


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ८ गते । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिगको आफ्नो एघारौं खेलमा समेत हार बेहोरेको छ । प्रतियोगिताको उद्घाटन खेलमै लिगको अघिल्लो संस्करणको विजेता मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराएको चेन्नईले मुम्बईसँग दश विकेटले हार बेहोर्न पुगेको हो । एघारौं खेलमा हार बेहोरेसँगै चेन्नईको प्ले अफ पुग्ने सम्भावना लगभग समाप्त भएको हो । चेन्नईले ११ खेलबाट मात्र तीनमा जित हात पारेको छ । ऊ छ अङ्कसहित अङ्कतालिकाको पुछारमा छ ।
चेन्नईले प्रस्तुत गरेको एक सय १५ रनको लक्ष्य मुम्बईले खेल सकिन ४६ बल बाँकी छँदै बिना कुनै क्षतिमा एक सय १६ रन बनाएर पुरा गर्यो । जितसँगै मुम्बई दश खेलबाट १४ अङ्क बटुल्दै तालिकाको शिर्ष स्थानमा उक्लेको छ ।
मुम्बईका लागि ओपनर क्विन्टन डे ककले ४६ र इशन किशनले सर्वाधिक ६८ रनको योगदान दिनुभयो । किशनले ३७ बलमा छ चौका र पाँच छक्काको सहयोग ६८ रन बनाउनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको चेन्नईले ३० रन जोड्दा छ विकेट गुमाउन पुग्दा उसको पारी धरमराएको थियो । ओपनर रुतुराज गाइकवाड र अर्का ब्याट्सम्यान नारायण जगदीशनले चेन्नईका लागि पहिलोपटक अवसर पाउँदा खाता नखोल्दै पेभेलियन फर्किनुपर्यो । फाफ डु प्लेसिस एक, अम्बाटी रायडू दुई रबिन्दर जडेजा सात रन बनाएर पेभेलियन फर्किए । कप्तान महिन्दर सिंह धोनीले १६ रन बनाउनुभयो । धोनी पेभेलियन फर्किएपछि ब्याटिंग गर्न आउनुभएका शाम कर्रनले उत्कृष्ट पारी खेल्दै मात्र ४७ बलमा ५२ रन बनाएर चेन्नईको पारी एक सय १४ सम्म पुर्याउनुभयो । इमरान ताहिरले अविजित १३ रन बनाउनुभयो ।
मुम्बईका लागि ट्रेन्ट बौल्टले चार ओभरमा १८ रन खर्चेर महत्वपूर्ण चार विकेट लिनुभयो । जसप्रित बुमराह र राहुल चाहरले सामान दुई दुई तथा कौल्टर नाइलले एक विकेट लिनुभयो ।
खेलको म्यान अफ द् म्याच बौल्ट घोषित हुनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?