logo
२०८० चैत्र १५ बिहीवार



नेल्सन मण्डेलाका वकीलको निधनमा दक्षिण अफ्रिकामा शोक प्रकट

अन्तर्राष्ट्रिय |


नेल्सन मण्डेलाका वकीलको निधनमा दक्षिण अफ्रिकामा शोक प्रकट


जोहानेसबर्ग, असोज २ गते। दक्षिण अफ्रिकाका पूर्व अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाका वकील एवं रंगभेद विरोधी कानुन व्यवसायी जर्ज बिजोसको निधन भएको छ । उहाँको सम्मानमा दक्षिण अफ्रिकामा राष्ट्रिय रुपमै शोक प्रकट गरिएको छ ।
बिजोसको ९२ वर्षको उमेरमा केही दिनअघि निधन भएको थियो । गोरा जातिका भए पनि रंगभेदका विरुद्धमा उहाँले लामो संघर्ष गर्नु भएको थियो । सन् १९६४ मा नेल्सन मण्डेलालाई मृत्युदण्ड दिने वा नदिने भन्ने अदालतमा भएको बहसमा बिजोसले बहस गर्नु भएको थियो ।
बिजोसले मण्डेलाका लागि दशकौंसम्म निजी वकीलका रुपमा कार्य गर्नु भएको थियो । दक्षिण अफ्रिकाका पूर्व उप प्रधानन्यायाधीश डिकसाङ मोसेनिकेले भन्नुभयो, “मण्डेलाका कालरात्रिका दिनहरुमा बिजोसले ओलिभर टाम्बो र अन्य वरिष्ट नेताहरुका लागि विश्वासिलो राजनीतिक कुटनीतिज्ञका रुपमा सेवा गर्नु भएको थियो ।”
बिजोसले दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्ने कानुनी लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । दक्षिण अफ्रिकामा दशकौंसम्म श्वेतहरुले अश्वेत जातिमाथि दासताको व्यवहार र शासन गरेका थिए । सन् १९९४ मा रंगभेद अन्त्य भएपछि बिजोसले दक्षिण अफ्रिकी सत्य तथा मेलमिलाप आयोगमा रहेर देशको सेवा गर्नु भएको थियो । उहाँले आयोगमा रंगभेदी अपराधका कारण पीडित भएकाहरुका परिवारको प्रतिनिधित्व गर्दै उनीहरुको अधिकार स्थापना गर्नमा योगदान गर्नु भएको थियो ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिजोसले कानुन व्यवसायका क्षेत्रमा निष्कलंक एवं महान छवि बनाउन सफल हुनु भएको बताउँदै बिजोसले आजीवन न्यायप्रतिको प्रतिबद्धतालाई उच्च सम्मानका साथ प्रदर्शन गर्नु भएको थियो भन्नुभयो ।
ग्रीसमा नाजीलाई विजय प्राप्त गरेसँगै बिजोस १३ वर्षका हुँदा दक्षिण अफ्रिका पुग्नु भएको थियो । परिणामस्वरुप, बिजोसमा देश छाड्दा र दोस्रो दर्जाको नागरिक हुँदाका पीडाबोध थिए, राष्ट्रपति रामाफोसाले भन्नुभयो । मण्डेला कारागारमा रहँदा बिजोसले मण्डेलाको परिवारको हेरचाह गर्नुका साथै सन् १९९० मा मण्डेलाको रिहाईमा सरकारसँगको वार्तामा मुख्य भूमिका निर्वाह गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप