logo
२०८० चैत्र १६ शुक्रवार



लेबनानलाई सहयोग गर्ने राष्ट्रपति म्याँक्रोको प्रतिबद्धता

अन्तर्राष्ट्रिय |


लेबनानलाई सहयोग गर्ने राष्ट्रपति म्याँक्रोको प्रतिबद्धता
तस्विर–डेली एक्सप्रेस


बेरुत, साउन २३ गते । लेबनानको भ्रमणमा बेरुत पुग्नुभएका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रो समक्ष स्थानीयवासीले बेरुतको बन्दरगाह विस्फोटका लागि लेबनानी नेताहरू जिम्मेवार रहेको भन्दै आक्रोश पोखेका छन् ।
विस्फाेटको प्रत्यक्ष अवलोकनका लागि पुग्नुहुँदा त्यहाँ भेला भएका स्थानीयवासीले म्याँक्रोमाथि लेबनानी नेताहरूको अकर्मण्यताले जनधनको ठूलो क्षति भएको गुनासो गरेका थिए । राष्ट्रपति म्याँक्रोले राजनीतिक नेताहरूमाथि सुधारका व्यापक कदम चाल्न आफूले सक्दो दबाब र मद्दत गर्ने बताउनुभएको थियो ।
मङ्गलबारको विस्फाेटको अनुसन्धानको नेतृत्व गरिरहनुभएका एकजना सैनिक न्यायाधीशले बेरुत बन्दरगाहमा कार्यरत १६ जना कामदारलाई गिरफ्तार गरिएको बताउनुभएको छ । उहाँले बन्दरगाह र भन्सार अधिकारीहरू समेत अरु १८ जनामाथि विभिन्न प्रश्न सोधिएको जानकारी दिनुभयो । अनुसन्धान अधिकृतहरूले बन्दरगाहका अधिकारीहरूमाथि छानबिन गरिरहेका भए पनि धेरैजसो लेबनानी नागरिकहरूले राजनीतिक नेतृत्वमाथि दोष दिइरहेका छन् । उनीहरूले मुलुकमा व्याप्त भ्रष्टाचार र अव्यवस्था पनि विस्फाेटका लागि मुख्य जिम्मेवार रहेको बताएका छन् ।
बेरुतको बन्दरगाह विस्फाेटको घटना हुनुअघि नै लेबनानको आर्थिक अवस्था पतनतर्फ अग्रसर भइसकेको बताएका छन् । लेबनानी मन्त्रिपरिषदलाई बन्दरगाहमा राखिएको एमोनियम नाइट्रेट खतरनाक रहेको भन्दै पहिल्यै सुरक्षा निकायहरूले जानकारी गराएका लेबनानका भन्सार प्रमुखले जानकारी दिनुभएको छ । भन्सार प्रमुखको उक्त भनाइ सार्वजनिक भएसँगै लेबनानको उच्च नेतृत्वले प्रज्ज्वलनशील पदार्थका बारेमा गम्भीरता नदेखाएको पुष्टि हुन्छ ।
बन्दरगाहमा लागेको आगो करिब २ हजार ७५० टन एमोनियम नाइट्रेटको भण्डारमा सल्किएसँगै अचानक विस्फाेट भएको थियो । उक्त रसायनिक पदार्थ सन् २०१३ मा लेबनानी भन्सार अधिकारीहरूले बरामद गरी बन्दरगाहमा राखेका थिए । छिमेकी मुलुक साइप्रससम्म सुनिएको त्यस विशाल विस्फाेटनबाट १३० जनाभन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै बन्दरगाह वरिपरिका सयौँ घरहरू ध्वस्त हुँदा चार हजार भन्दा बढी मानिस घाइते भएका थिए ।
दुई दिनपछि पनि बेरुतको कूल जनसङ्ख्याको १२ प्रतिशतभन्दा बढी अर्थात् करिब तीन लाख मानिस आफ्ना घर फर्कन सकेका छैनन् । केही अस्पताहरूमा पनि नराम्रोसँग क्षति पुगेको छ । दर्जनौँ व्यक्ति अझै बेपत्ता छन् । अधिकारीहरूले विस्फाेटबाट १० देखि १५ अर्ब डलर बराबरको क्षति पुगेको बताएका छन् ।
यसबाहेक, यो वज्रपात मानिसको बचत समाप्त हुनैलाग्दा आइपरेको छ । आर्थिक संकटका कारण लेबनानमा बेरोजगारी र गरिबी व्यापक रुपमा बढेको छ । केही मानिसमा मात्र आफ्ना घरहरू र व्यवसाय पुनः निर्माण गर्ने क्षमता छ, तर सरकारसँग डलरको नितान्त अभाव छ ।
लेबनानी नेताहरूसँगको भेटवार्तापछि फ्रान्सेली राष्ट्रपति म्याँक्रोले लेबनानका लागि खाद्यान्न, औषधि, आवास र अरु आपतकालीन सहायता जुटाउन युरोपेली मुलुकहरू, अमेरिका, मध्यपूर्व र अरु दाताहरू सम्मिलित एउटा सम्मेलन केही साताभित्रै आयोजना गर्ने बताउनुभएको छ ।
तर उहाँले लेबनानका राजनीतिक नेताहरूलाई जनताको विश्वास गुमाएको सरकारमाथि त्यतिकै विश्वास गर्न नसकिने चेतावनी दिनु भएको छ । उहाँले नेताहरूलाई नयाँ राजनीतिक स्थायित्व निर्माणका लागि आग्रह गर्नु भएको छ । राष्ट्रपति म्याँक्रोले स्पष्ट र पारदर्शी सरकार संचालन पहिलो शर्त हुने बताउँदै यस्तो व्यवस्थाबाट मात्र अन्तर्राष्ट्रिय सहायता जनतामा प्रत्यक्ष रुपमा पुग्ने बताउनुभयो ।
लेबनानका लागि अन्तर्राष्ट्रिय आपतकालीन सहायता आइपुग्न शुरु भएको छ । युरोपेली, अरब र एसियाली मुलुकहरूले चिकित्सक, औषधि वा फिल्ड अस्पताल लेबनान पठाएका छन् । संयुक्तराष्ट्र संघले लेबनानका लागि आपतकालीन कोषबाट ९० लाख डलर उपलब्ध गराउने बिहीबार घोषणा गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप