logo
२०८१ बैशाख ११ मंगलवार



पर्यटकीय क्षेत्रको संरक्षण गर्दै नेपाली सेना

पर्यटन |


पर्यटकीय क्षेत्रको संरक्षण गर्दै नेपाली सेना
नेपाली सेनाले निर्माण गरेको पदमार्ग तेमाल गाउँपालिकालाई हस्तान्तरण गर्दै । तस्बिरः मधुसुधन तिमल्सिना



मधुसुधन तिमल्सिना
काभ्रे, साउन १७ गते । नेपाली सेना ओझेलमा परेका धार्मिक पर्यटकीय स्थलको संरक्षण गर्न लागिपरेको छ । नेपाल पर्यटन वर्ष सन् २०२० कोरोनाका कारण स्थगित भएको भएपनि त्यसलाई लक्षित संरचना निर्माणमा नेपाली सेना लागि परेको हो ।

विष्णु दल गण धुलिखेलले बन्दाबन्दी कै बीचमा जिल्लाको तेमाल गाउँपालिका वडा न ७, काल्धारमा रहेको गुप्तेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीलाई लक्षित गरेर पदमार्ग निर्माण गरिदिएको छ । गत फागुन १५ गते देखि बनाउन सुरु गरेको पदमार्ग सम्पन्न भएसँगै गुप्तेश्वर महादेव मन्दिरको दर्शन र सँगै रहेको प्राकृतिक झरनाको अवलोकन गर्न दर्शनार्थीलाई सहज भएको छ ।

संरक्षणको अभावमा ओझेलमा परेको उक्त क्षेत्रमा नेपाली सेनाले कल्धारबाट तीन किलोमिटर गोरेटो बाटो निर्माण तथा करिब तीन सय मिटरमा सिढी, ढुङ्गा बिछ्याउने, रेलिङ राख्ने, सोलार बत्ती जडान सम्पन्न गरेको छ । विष्णुदल गणका गणपति सुवास खड्काले नेपाली सेनाको सामाजिक, आर्थिक, पूर्वाधार विकास (क्युआईपी) कार्यक्रम अन्तर्गत उक्त पदमार्ग निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार उक्त मार्ग निर्माणका लागि १७ लाख ६४ हजार आठ सय रुपियाँ बजेट विनियोजन गरिएको थियो ।

स्थानीय सानुकान्छा तामाङले पदमार्ग निर्माण भएसँगै मन्दिर जान सहज भएको बताउनुभयो । तामाङका अनुसार उक्त मन्दिरमा प्रत्येक सोमबार र जनैपूर्णिमामा दर्शनार्थी आउने गरेका भएपनि मन्दिर पुग्ने बाटो असजिलो हुँदा पूजा नै नगरी फर्कनुपर्ने बाध्यता रहेको थियो ।

निर्माण सम्पन्न भएको उक्त पदमार्ग शुक्रबार एक कार्यक्रमका बीच नेपाली सेनाले तेमाल गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापति उपरथी सुरेशकुमार कार्कीले तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङलाई निर्माण सम्पन्न भएको पदमार्ग हस्तान्तरण गर्नुभएको थियो ।

हस्तान्तरण पश्चात बोल्नुहुँदै पृतनापति कार्कीले नेपाली सेना र नागरिकबीच सम्बन्ध प्रगाढ बनाउन सामाजिक आर्थिक पुर्वाधार विकास कार्यक्रम सुरुवात गरेको बताउनुभयो । उहाँले निर्माणधीन पूर्वाधारको संरक्षण र प्रवर्द्धन गर्न गाउँपालिकालाई आग्रह गर्नुभयो । यो धार्मिक पर्यटकीय स्थलका लागि प्रचुर सम्भावना भएको ठाउँ रहेछ । यसको संरक्षणमा सेनाले केही सहयोग गरेको छ, अब यसको संरक्षण र सबद्र्धन गाउँपालिकालाई गर्ने छ भन्ने विश्वास लिएको छु ।

गाउँपालिका अध्यक्ष तामाङले तेमाल धार्मिक पर्यटकीय स्थल भएको बताउनुहुँदै यसको संरक्षण गाउँपालिकाले गर्ने छ, भन्नुभयो । उहाँले पर्यटकीय स्थलको संरक्षणमा गाउँपालिका लागि परेको बताउनुभयो । तेमाल गाउँपालिका वडा न ७ का वडा अध्यक्ष ज्ञानबहादुर तामाङले नेपाली सेनाले देशको सुरक्षा मात्र होइन विकासमा पनि साथ दिन्छ भन्ने प्रमाणित भएको भन्दै ओझेलमा परेको पर्यटकीय स्थलको संरक्षण गरिदिएकोमा नेपाली सेनालाई धन्यवाद दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?