logo
२०८० चैत्र १५ बिहीवार



यार्सा ट्रेलको काम जारी   

पर्यटन |


यार्सा ट्रेलको काम जारी   
फाइल फाेटाे


 
रुकुमपूर्व, असार २७ गते । रुकुम (पूर्व) पुथा उत्तरगङ्गा गाउँपालिका –१ मैकोटमा यार्सा ट्रेलको काम अघि बढाइएको छ । आर्थिक वर्ष सकिनै लाग्दा यार्सा पदमार्गको कामलाई तीव्रता दिइएको हो ।    

तत्कालीन सशस्त्र द्वन्द्वका बेला छापामार हिँडेको बाटो र तिनले तालीम लिएको ठाउँलाई पर्यटन पूर्वाधारको विकास गर्ने उद्देश्यले मैकोटमा यार्सा ट्रेलको विकास गर्न लागिएको छ । गाउँपालिकामा बहुमूल्य यार्सागुम्बालगायत जडिबुटी पाइने हुनाले पनि त्यस क्षेत्रमा यार्सा ट्रेलको विकास गरिँदै छ ।    

चालु आवमा प्रदेश नं ५ उद्योेग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु २५ लाख बजेटबाट एक हजार ५४३ मिटरमा काम गर्नुपर्ने वडा नम्बर १ का वडाध्यक्ष मकरबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले ८० प्रतिशत काम सकिएको छ । बाँकी २० प्रतिशतको काम भइरहेको छ । मैकोटको चितुबाङ भन्ने ठाउँलाई जिरो प्वाइन्ट मानी यार्सा ट्रेल निर्माण गरिँदै छ । वडाध्यक्ष गुरुङका अनुसार चितुबाङबाट शुरु भएको पदमार्ग कोइजो डाँडा, कोयधारा, गर, उया हुँदै पिरियोर डाँडामा पुग्ने छ ।

त्यस ठाउँबाट पनि यस मार्गलाई अगाडि बढाएर फोक्सुण्डो हँुदै मुगुको रारा जोड्ने लक्ष्य प्रदेश सरकारले लिएको छ ।    
यार्सा पदमार्ग निर्माणको काम सकिएसँगै यसबाट मैकोटको पर्यटन क्षेत्रको विकास गर्न सकिने बताइएको छ । अहिले एक हजार ५४३ मिटरमा मात्र काम हुने र बाँकी प्रदेश सरकारको क्रमागत बजेटबाट आउँदो आवमा गरिने वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

पुथाउत्तरगङ्गा –१ र २ मा यस्ता थुप्रै खालका पर्यटकीय गन्तव्य भए पनि पूर्वाधारको विकास र प्रचारप्रसार नहुँदा पर्यटन क्षेत्रमा विकास र लाभ लिन नसकिएको स्थानीयवासीले बताएका छन् ।    
––  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?