logo
२०८१ बैशाख १३ बिहीवार



बेनीको बजारः पर्यटकको रोजाइमा रमाइलो पहाड

पर्यटन |


बेनीको बजारः पर्यटकको रोजाइमा रमाइलो पहाड


अमृतप्रसाद पौडेल
बेनी, असार ९ गते । म्याग्दी सदरमुकाम बेनी बजारनजिकै रहेको लभ्ली हिल (रमाइलो पहाड वा मायालु डाँडो) आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षणको आकर्षक गन्तव्य मानिन थालेको छ ।
एक दशकअघिसम्मको अवस्थामा खबराको डिल भनेर चिनिने उक्त डाँडो सदरमुकाम बेनीबाट ३० मिनेटको पैदल यात्रामै पुगिन्छ ।

बेनीनगरपालिकाको वडा नंं २ मा रहेको सो डाँडोमा विश्वभर लकडाउनको समय भएपनि दृश्यावलोकन तथा ‘मर्निङ वाक’का लागि पनि अहिले बेनी बजारका बासिन्दाले प्रयोग गर्ने गरेका छन् । लकडाउनले गर्दा बाह्य पर्यटकको आवागमन नभएपनि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएकोछ । साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँनजिकै रहेको पुरानो नाम ‘खाराको डाँडो’ अहिले लभ्ली हिल अर्थात् (मायालु डाँडो वा रमाइलो पहाड) नामबाट परिचित बनेको छ ।

बेनी बजारदेखि नजिकै रहेको रमणीयस्थल लभ्ली हिलमा आन्तरिक पर्यटकको देख्न सकिन्छ । कालीगण्डकी र म्याग्दी खोलाको दोभानको बिचमा रहेको सुन्दर बेनीबजार र आसपासका रमणीयस्थलको अवलोकन गर्न पर्यटकहरू उक्त डाँडामा पुग्ने गर्दछन् । सिरसिर चल्ने हावासँगै मनमोहक दृश्यलाई सेल्फीमार्फत कैद गर्ने युवायुवतीहरू लालयीतहुने गर्छन् । बेनीको बजार र आसपासका सुन्दर दृश्य साहै लोभलाग्दो देखिने सुन्दर ठाउँ छ लभ्ली डाँडा ।

लभ्लीहिलबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मी याममा शितलताको खोजीमा मानिसहरू आउने गरेको बेनीनगरपालिका वडा नंं २ का अध्यक्ष हिराबहादुर थापा बताउनुहुन्छ । यो डाँडामा सामान्य अवस्थामा आन्तरिक पर्यटक बढिरहेका हुन्छन्, यसलाई मध्यनजर गरेर हामीले पूर्वाधार विकासमा समेत पहल गरेका छौं –उहाँले भन्नुुभयो ।

हालउक्त स्थान सम्म पुग्ने पदमार्ग निर्माण भै सकेको छ । बेनीनगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ (मोना) र म्याग्दी उद्योग वाणिज्य संघले क्रमशः ५०, ४० र १० प्रतिशत लागत व्यहोरेर निर्माण सम्पन्न भएको हो ।लभ्लीहिलमा आर्थिक वर्ष २०७३÷७४ मा पर्यटन कार्यालय पोखरा, बेनी नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा भौतिक पूर्वाधारको विस्तार गरिएको थियो । तत्कालिन समयमा कुल १२ लाखको लागतमा लभ्लीहिलमा गोलघर (भ्यु प्वाईन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्च लगायतका पूर्वाधारहरूको निर्माण गरे सँगै त्यहाँ पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको लभहिलका स्थानिय वासिन्दा चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

बेनीदेखि आधा घन्टाको दुरीमा रहेको लभ्लीहिलबाट सुन्दर नगरी बेनीबजार, प्रशिद्ध तिर्थस्थल गलेश्वरधाम, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्रहरू देख्न सकिन्छ । म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिका सहित धौलागिरि, अन्नपूर्ण हिमालका साथै सूर्योदय र सुर्यास्तको समेत अवलोकन गर्न सकिने कार्कीको भनाइ छ ।

पूर्वाधार निर्माण सँगै पछिल्लो समय पर्यटकीय तथा रमणीय स्थल लभ्लीहिल पर्यटकको आकर्षक गन्तव्य बनेको बेनी नगरपालिकाका उप–प्रमुख सञ्जु बरुवालले बताउनुभयो ।  प्रसिद्ध धार्मिकस्थल मुस्ताङको मुक्तिनाथ, नेपाल–चीन जोड्ने कोरलानाका लगायतका प्रमुख धार्मिक एवं पर्यटकीय स्थलको मुख्य प्रवेशद्वारको रुपमा रहेको म्याग्दीको बेनीमा प्रसिद्ध गलेश्वरधाम, प्रकृतिक उपचार केन्द्र तातोपानी कुण्ड, रुप्से झरना, संसारकै गहिरो अन्ध गल्छी, लंकाका राजा रावणको जन्मस्थान पौलस्त्यपुलहाश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम तथा बेलढुङ्गा, टोड्के, बराङ्जाको झाँक्रीपानी, निस्कोट बराहताल, मालिका धुरी, सोलेडाँडा, धौलागिरी तथा अन्नपूर्ण आधार शिविर, गूर्जा हिमाल लगायतका थुप्रै ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरू रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?