logo
२०८० चैत्र १६ शुक्रवार



‘ब्रिडिङ सिजन’ मा मन्त्रीफाँटामा दुर्लभ सारस

पर्यटन |
फिचर |


‘ब्रिडिङ सिजन’ मा मन्त्रीफाँटामा दुर्लभ सारस
तस्बिर सौजन्य : हिरुलाल डङ्गौरा


अविनाश चौधरी
धनगढी, असार ९ गते । कैलालीको भजनी नगरपालिकास्थित मन्त्रीफाँटामा थप सङ्ख्यासहित पुनः दुर्लभ सारस देखा परेका छन् । गत वर्ष साउनमा देखिएका सारस यो वर्ष ‘ब्रिडिङ सिजन’ मा पुनः मन्त्रीफाँटामा देखा परेका हुन् । बर्खा सिजन सारसको लागि बच्चा कोरल्ने समय हो । गतवर्ष तीन वटा सारस देखिएकोमा यो वर्ष चार वटा देखा परिरहेको कैलालीका चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो ।

‘गत वर्षको साउन महिनामा तीन वटामध्ये केही दिनपछि दुई वटा मन्त्रीफाँटाबाट गायब भएका थिए’, उहाँले भन्नुभयो । ‘एक जोडी ती सारस बच्चा कोरल्न गएका थिए भन्ने मेरो अनुमान हो ।’
सम्भवतः सारसको एउटा बच्चा थप भइ सङ्ख्या चार पुगेको र त्यही परिवार मन्त्रीफाँटामा आएको हुन सक्ने चराविद् डङ्गौराको बुझाइ छ ।

दशकअगाडि मन्त्रीफाँटा र भजनीमै रहेको पुरैना ताल सारसको बसोबास स्थानको रुपमा रहेको थियो । तर, बासस्थानको विनाशका कारणले त्यहाँ सारस देखिन छाडेका थिए । झन्डै दशकपछि गत वर्षबाट मन्त्रीफाँटामा पुनः सारस देखिनथालेका छन् ।

‘एक वर्षपछि सङ्ख्या पनि थप भएकोले हामी संरक्षणमा लागेकाहरू उत्साहित भएका छौँ’, भजनी नगरपालिका–१ का स्थानीय गङ्गा डङ्गौराले भन्नुभयो । मन्त्रीफाँटा विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन देखिने क्षेत्र पनि हो । सो क्षेत्रको विभिन्न नदीहरूमा बर्खा सिजनभरि डल्फिन देखिने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?