logo
२०७७ असार २३ मंगलवार

बन्दाबन्दीमा विकासका काम धमाधम

समाज |


2020-06-02-15594


दमौली, जेठ २० गते । बन्दाबन्दी जारी रहँदा तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा विकास निर्माणका काम धमाधम भइरहेको छ । सामाजिक दूरी कायम गर्दै विकासका काम सञ्चालन भएको हो ।

जिल्लामा स्थानीय तहबाट विनियोजित बजेटबाट साना योजनासँगै सङ्घ र प्रदेश सरकारका बजेटबाट ठूला योजनाको काम भइरहेको छ । शहरी विकास मन्त्रालयबाट विनियोजित रु एक करोडको लागतमा भानु नगरपालिका–७, ८ र ९ जोड्ने बाइसजाँगर, कुडापानी, थानीमाई मन्दिर हुँदै टुहुरेपसल जोड्ने सडकको स्तरोन्नति कार्य शुरु गरिएको छ ।

सो सडकको १४ किमी खण्डमा पक्की नाला र ग्राभेल गर्ने गरी हाललाई काम शुरु भएको शहरी विकास कार्यालय पोखराले जनाएको छ । कार्यालयका प्रमुख डिभिजन इञ्जीनियर झपट थापाले बजेट खेर जान नदिन काम शुरु गरिएको जानकारी दिनुभयो । सो सडकका लागि प्रदेश सरकारबाट पनि रु ६० लाख बजेट विनियोजन भएको छ ।

सो सडकको ठेक्का लागिसकेको हुँदा अब धमाधम काम शुरु गर्ने र चालू आर्थिक वर्षमा काम नसकिएमा आगामी आवमा पनि काम गर्न सकिने कार्यालयका इञ्जीनियर सागर पोखरेलले बताउनुभयो । यसैगरी जिल्लाको देवघाट गाउँपालिका–५ स्थित देवघाट टोल सुधार समितिले सामाजिक दूरी कायम गर्दै संस्थाको भवन निर्माणको काम शुरु गरेको छ । स्थानीयस्तरकै निर्माणकर्मी प्रयोग गरी संस्थाले भवन निर्माणको काम शुरु गरेको संस्थाका अध्यक्ष सुकु गुरुङले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि सांसद क्षेत्र विकास कोषअन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत रु १० लाख प्राप्त भएको थियो । रु दुई लाख टोलवासीबाट सङ्कलन गरी १२ लाखको लागतमा सो भवन निर्माण शुरु गरिएको उहाँले बताउनुभयो । स्थानीय निर्माणकर्मी र मजदुरको प्रयोग गरी निर्माणको काम गर्ने र यसअघि सम्झौता भइसकेका साना योजना यही आवमा नै सम्पन्न गर्ने गाउँपालिकाले निर्णय गरेको वडा नं ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङले जानकारी दिनुभयो ।

यस्तै गण्डकी प्रदेश र प्रदेश नं ५ जोड्न यहाँको घिरिङ गाउँपालिका–१ पुट्टारमा मोटरेबल पुल निर्माण शुरु भएको छ । जिल्लाको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोड्न कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण शुरु गरिएको हो ।

तनहुँतर्फको भागमा पहिलो पिलरको फाउण्डेशन ढलान गर्नका लागि काम शुरु गरिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिनुभयो । बन्दाबन्दी जारी रहँदा पनि सावधानी अपनाएर पुल निर्माणको कामलाई शुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पुल निर्माणका लागि स्थानीय मजदुर प्रयोग गरिएको छ ।

“बन्दाबन्दी अझै कति दिनसम्म रहने भन्ने टुङ्गो नभएकाले यही बीचमा पुल निर्माणको कामलाई शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “सीमित र स्थानीय मजदुर मात्रै प्रयोग गरेका छौँ ।” शुरुमा रु २६ करोड लागत रहेको पुलको अहिले लागत बढेर रु २८ करोड ३० लाख पुगेको छ । पहिल्यै निर्माण शुरु हुनुपर्ने पुलको काम विविध कारणले रोकिँदै आएको थियो ।

निर्माण शुरु भएको २० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि अहिलेकै अवस्थामा तोकिएकै मितिमा पुल निर्माण हुन समस्या पर्ने उहाँले बताउनुभयो । “गुणस्तरीय पुल निर्माणका लागि उपभोक्ताले निरन्तररूपमा अनुगमन गर्नेछौँ, निर्माण सम्पन्न अवधि केही पछाडि धकेलिन सक्छ ।” २१० मिटर लामो पुलको निर्माणको जिम्मा काठमाडाँैस्थित युनाइटेड विल्डर्सले पाएको छ । सो पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो । उपभोक्ता समिति गठन भएको छ महिनाभित्र बजेट पर्न सफल यस पुल डबल लेन प्रविधिमा निर्माण हुनेछ । कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य भएको स्थानीय माया दरैले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुल नहुँदा नजिकै रहेको स्याउलीबजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो । पुल निर्माण भएपछि सहजरूपमा आवातजावात गर्न सकिन्छ ।” मोटरेवल पुल निर्माण भएपछि दुई स्थानीय तहका हजारौँ सर्वसाधारण लाभान्वित हुनेछन् ।

दशहरा पर्व

जिल्लामा बसोबास गर्ने दरै जातिले गङ्गा दशहरा पर्व मनाएका छन् । विशेषगरी व्यास नगरपालिकाभित्र बसोबास गर्दै आएका ती जातिले दुई दिन चण्डी पूजा, खम्बेदेवी तथा आगो पुजेर दशहरा पर्व मनाएका हुन् ।

व्यास नगरपालिकाका भादगाउँ, साँखर, कलेस्ती, चिन्तुटार, दुम्सीचौरलगायत गाउँका दरैहरुले गिदरीको काठलाई जुधाएर आगो निकालेर पुज्दै घरमा आगो भित्र्याएका छन् । दशहराको अघिल्लो दिन चण्डी, भँयर र देउरालीको पूजा अर्चना गरिन्छ भने भोलिपल्ट खम्बेदेवीलाई पुजेर अग्निको पूजा गर्ने प्रचलन रहेको व्यास नगरपालिका–७ कलेस्तीका जितबहादुर दरैले बताउनुभयो । बन्दाबन्दी जारी रहेकै अवधिमा ४६ घर दरै परिवारले सुङ्गुर, परेवा र कुखुरा बली दिएर पर्व मनाएको उहाँले बताउनुभयो ।

नदीको किनारामा बसोवास गर्ने सीमान्तकृत ती जातिले खेती राम्रो होस्, चट्याङ नपरोस्, गाउँमा कुनैपनि अप्रिय घटना नहोस् र रोगको सङ्क्रमण पनि नफैलियोस् भनेर चण्डीदेवीको पूजा गर्ने चलन रहेको दरै जातिका पुजारी रामु दरैले जानकारी दिनुभयो । उहाँका अनुसार चण्डीदेवीको पूजा गर्दा हलो, धानको बाला, खनायोको फल र कुखुराको फूल र डेग्वा (चामलको पिठोबाट मःम जसरी बनाइएको रोटी) लाई सुङ्गुरको बलि दिएर पूजा गर्ने प्रचलन रहेको छ ।

देवीको प्रसादको रुपमा सुङ्गुरको टाउको पकाएर सबैले जाँडसँग खाने र अरु मासुलाई भाग लगाएर घरमा प्रसादको रुपमा लैजाने प्रचलन दरै जातिमा रहँदै आएको छ । गिदरीको काठहरु जुधाएर आगो निकाल्ने र उक्त आगोलाई फूलपाती, अक्षता र जाँडले पूजा गरी सबैले ल्याएको दाउरामा आगो सल्काएर घरमा लगी नयाँ आगो भित्र्याउने चलन रहँदै आएको पुजारी दरैले बताउनुभयो ।

यसरी लगिएको आगो तीन दिनसम्म मार्नुहुँदैन भन्ने चलन रहेको र तीन दिनसम्म दरै जातिभित्र लेनदेन चलेपनि अन्य जातिमा लेनदेन समेत नचल्ने प्रचलन कायमै छ । नदीको किनारामा बस्दै आएका दरैहरु प्रकृतिलाई पूजा गर्ने भएको कुरा आफूहरुले गर्ने पूजाबाट प्रष्ट हुने गरेको व्यास नगरपालिका–७ सिमलटारस्थित क्यामिन कालिका दरै समाजका अध्यक्ष शेरबहादुर दरैले बताउनुभयो । दरै जातिको मुख्य बसोबास तनहुँ, चितवन, नवलपरासी, गोरखा, धादिङ पर्सा, रुपन्देही लगायतका १३ जिल्लामा रहेको छ । विसं २०६८ को जनगणनाअनुसार तनहुँमा दरैहरुको जनसङ्ख्या दुई हजार ४९ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?