logo
२०८१ बैशाख ७ शुक्रवार



पर्यटकीय गन्तव्य सराङकोटमा एक घर एक धारा

पर्यटन |


पर्यटकीय गन्तव्य सराङकोटमा एक घर एक धारा
फाइल तस्विर


कास्की, जेठ ६ गते । पोखरा महानगरपालिका–१८ सराङकोटमा एक घर एक धारा जडान गरिएको छ । यहाँको सबैभन्दा ठूलो बूढीमुल लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएर ३६६ घरधुरीमा धारा जडान गरिएको हो । सूर्योदय, सूर्यास्त तथा हिमशृङ्खला र तालतलैयाको दृश्यावलोकन र प्याराग्लाइडिङको प्रमुख गन्तव्यमा विकास भए पनि खानेपानीको अभाव हुँदा पर्यटकलाई समेत असुविधा भएको अवस्थामा घरघरमा धारा जडान भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

पानीको स्रोत रहेको बूढीमुलको मुहानबाट लिफ्टिङ प्रविधिबाट पानी तानेर एक हजार ७०० मिटर उचाइको सराङकोट चुचुरोमा ‘रिजर्भ वायर ट्याङ्की’ र वितरण ‘च्याम्बर’ मार्फत सबैको घरमा धारा पु¥याइएको छ । आयोजना सम्पन्न भएपछि सौदाको चौतारा, पँदेलीटोल, सुन्दरपोखरी टोल, देउराली पाटन, सीमताल र सराङकोट टोलका स्थानीयवासी पूर्ण लाभान्वित भएको र गोठादीका समेत केही घरधुरीमा समेत धारा पुगेको खानेपानी आयोजनाका अध्यक्ष पुष्कलबहादुर थापाले बताउनुभयो ।

खानेपानीको अभाव हटाउन विसं २०७३ देखि आयोजनाको केही काम शुरु भएकामा बजेट अभावले आशातित गति लिन नसकेकामा गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेपछि विसं २०७५ मङ्सिर १ गतेबाट आयोजना निर्माणले तीव्रता लिएको अध्यक्ष थापाले बताउनुभयो । “आयोजना सम्पन्न भएसँगै यहाँका स्थानीय हर्षित हुनुभएको छ । एक गाग्रीको पानीका लागि घण्टौँ खर्चिनुपर्ने बाध्यता हटेको र सबै घरधुरीमा पर्याप्त पानी आपूर्ति शुरु भएको छ”, आयोजनाका अध्यक्ष थापाले भन्नुभयो ।

चारवटा लिफ्टिङ मेसिनको प्रयोगबाट मुहान नजिक ५० हजार लिटर क्षमताको रिजर्वायर ट्याङ्की निर्माण गरिएको छ । त्यसैगरी चुचुरोमा ५० हजार लिटर क्षमता तीन वटा रिजर्भाेयर ट्याङ्की र एउटा वितरण ट्याङ्की र दुई ३० हजार लिटर क्षमता वितरण ट्याङ्की निर्माण गरिएको समितिका सहसचिव बलराम तिमिल्सिनाले बताउनुभयो ।

बूढीमुल खानेपानी योजनाका लागि प्रदेश सरकारले आर्थिक वर्ष विसं २०७५/७६ मा रु ९९ लाख ७० हजार तथा चालू आर्थिक वर्षमा रु एक करोड २० लाख बजेट विनियोजन गरेको थियो । त्यसैगरी पोखरा महानगरपालिकाले समेत गत वर्ष रु १७ लाख बजेट विनियोजन गरेको बताइन्छ । आयोजनाले घरधुरीबाट रु १० हजार रकम लिएर धारा जडान गरेको र अतिविपन्न ११ घरधुरी र विद्यालयलगायत सङ्घसंस्था गरी १८ वटालाई निःशुल्क जडान गरिएको तिमिल्सिनाले जानकारी दिनुभयो ।

सोही वडाका वडाध्यक्ष रणबहादुर थापाले स्थानीय तहको निर्वाचनको बेला जनतामाझ गरेको प्रतिबद्धता पूरा भएको बताउनुभयो । प्रदेश सरकार स्थापनाको पहिलो वर्षमा प्रदेशसभा सदस्य रामजी बरालमार्फत तीन खानेपानी योजना सरकारसमक्ष पेश गरिएकामा सबै योजनामा बजेट विनियोजन गरिएको बताउँदै उहाँले भन्नुभयो, “चुनावताका यहाँका दिदीबहिनीको थाप्लोबाट नाम्लो हटाउनेछु भनेर प्रतिबद्धता गरेको थिएँ, त्यो पूरा हुने चरणमा छ । प्रदेश सरकारले हामीलाई ठूलो गुन लगायो ।”

अन्य केही खानेपानी आयोजनासमेत निर्माणको चरणमा रहेकाले वडाका सबै घरधुरीमा अहिलेको पाँचवर्षे कार्यकालमा पानीको राम्रो प्रबन्ध हुने उहाँले उल्लेख गर्नुभयो । प्रदेश सरकार गठनपछि यहाँका जनताले खानेपानी र सडकमा लाभ लिँदै आएको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?