logo
२०८० चैत्र १६ शुक्रवार



५२६ पर्यटकको उद्धार गरिँदै

पर्यटन |


५२६ पर्यटकको उद्धार गरिँदै


काठमाडौँ, चैत १५ गते । कोभिड–१९ को सङ्क्रमण्ण फैलन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा नेपालमा रोकिएका विदेशी नागरिकको उद्धार तथा सम्बन्धित मुलुकमा फर्काउने काम भइरहेको छ ।

विभिन्न मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई फिर्ता लैजान शुरु गरेका हुन् । शुक्रबार कतार एयरको चार्टर्ड उडानबाट फ्रेन्ससहित युरोपका ३०४ नागरिक स्वदेश फर्किएका थिए । आज पनि कतार एयरवेजको दुई उडानबाट विदेशी नागरिक स्वदेश जाँदैछन् ।

नेपालमा झण्डै १० हजार पर्यटकले प्रवेशाज्ञा थपेर बसेका छन् । कतिपय पर्यटक भने विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका छन् । लुक्ला, जोमसोम, पोखरालगायत गन्तव्यबाट पर्यटकलाई जहाजबाट उद्धार गरी काठमाडौँ ल्याएर सम्बन्धित मुलुकमा पठाउने काम भइरहेको छ ।

यसैबीच नेपालका विभिन्न स्थानमा रहेका पर्यटकको खोजी, उद्धार तथा पर्यटकको सङ्ख्या व्यवस्थापनमा नेपाल पर्यटन बोर्ड खटिएको छ । बोर्डले शुक्रबार सूचना जारी गरी कुन मुलुकका नागरिक कुन स्थानमा छन् जो कोहीले विवरण उपलब्ध गराइदिन अनुरोध गरेको थियो । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले नेपालमा रोकिएका पर्यटकको उद्धार गरी उनीहरुको मुलुक फर्काउने कार्य धमाधम भइरहेको राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालका विभिन्न गन्तव्यबाट अहिले ५२६ पर्यटकको उद्धार गर्नुपर्नेछ । तीमध्ये २२६ जनाको शुक्रबार उद्धार गरिएको छ । आज माउण्टेन उडानमार्फत १०० जनाको उद्धार गरी काठमाडौँ ल्याइनेछ । यस्तै पोखरामा रोकिएका ३०० पर्यटकलाई जहाजमार्फत काठमाडौँ ल्याइने तथा जोमसोमबाट ६० जना पर्यटकलाई काठमाडौँ ल्याइनेछ । नेपालमा कति सङ्ख्यामा पर्यटक रोकिएका छन् उनीहरुको यकिन विवरण आज साँझसम्म आउने बोर्डले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?