logo
२०८० चैत्र १५ बिहीवार



विद्यालयलाई क्वारेन्टाइनकक्ष बनाइँदै, सचेत बन्दै नागरिक

प्रदेश |


विद्यालयलाई क्वारेन्टाइनकक्ष बनाइँदै, सचेत बन्दै नागरिक


रामपुर, चैत १३ गते । कोरना भाइरसको सङ्क्रमणबाट जोगिन पाल्पाका विभिन्न स्थानीय तहले विद्यालय भवनलाई क्वारेन्टाइन कक्ष बनाएका छन् । तानसेन, रामपुर, बगनासकाली, रम्भा, माथागढी, तिनाउ, रिब्दीकोटका विभिन्न विद्यालयलाई क्वारेन्टाइन कक्ष निर्माण गरिएको छ ।

रामपुर नगरपालिका–५ स्थित बालकल्याण प्राथमिक विद्यालयको भवनमा नगरपालिकाले तत्कालका लागि २४ श्ययाको क्वारेण्टाइनकक्ष तयार पारिएको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

बाहिरबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षण गरेर १४ दिनसम्म क्वारेन्टाइन कक्षमा राखिने उहाँले बताउनुभयो । तानसेन नगरपालिका–६ स्थित जनप्रिय माध्यमिक विद्यालयमा पचास श्ययाको क्यारेन्टाइन कक्ष बनाउँदैछ । तिनाउ गाउँपालिकाले दोभान माविमा १० श्ययाको क्वारेन्टाइन बनाएको छ । विदेशबाट आएका र कोरना भाइरससँग सङ्क्रमित भएका नागरिकलाई स्वास्थ्य परीक्षण गरेर क्यारेन्टाइनमा राखिने गाउँपालिकाले जनाएको छ । क्वारेन्टाइनमा दुई जना स्वास्थ्यकर्मीसहित सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

तत्कालका लागि १० श्ययाको क्वारेन्टाइन बनाए पनि यसलाई विस्तार गर्दै जाने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताउनुभयो । दोभान प्रहरी चौकीमा बाहिरबाट प्रवेश गर्ने यात्रुहरुको थर्मल स्क्यानर मेसिनद्वारा स्वास्थ्य परीक्षण गर्ने गरिएको अध्यक्ष मगरले जानकारी दिनुभयो । रम्भा गाउँपालिकाको रम्भा माविमा ५० श्ययाको क्वारेन्टाइन कक्ष बनाइएको छ । विद्यालयमा दुई कोठामा क्वारेन्टाइनको व्यवस्था, शुद्ध खानेपानी, ग्यास तथा खाद्यान्न, लत्ताकपडा, बिजुली जडानको व्यवस्थापन गरेको छ ।

बाहिरबाट गाउँपालिकामा भित्रने नागरिकलाई अनिवार्य स्वास्थ्य जाँच, तीन सामुदायिक स्वास्थ्य केन्द्र भवन, चार स्वास्थ्य केन्द्र र एउटा स्वास्थ्य केन्द्र भवनमा औषधि, मास्क, हातधुने व्यवस्था, स्यानिटाइजर, पञ्जालगायत सामग्रीको व्यवस्थापन मिलाएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

बगनासकाली गाउँपालिकाको चन्द्र माविमा २०, रिब्दीकोट गाउँपालिकाको सरस्वती माविमा १८, माथागढी गाउँपालिकाको दिपज्योति नमूना माविमा १५ श्ययासहितको क्वारेण्टाइन तयार गरिएको छ ।

भारतबाट फर्केका होम क्वारेन्टाइनमा

पाल्पाको रामपुर नगरपालिकामा भारतबाट फर्किएका ४२ जना होम क्वारेन्टाइनमा बसेका छन् । केही दिनअघि भारतबाट गाउँ फर्केका रामपुर नगरपालिका–१० का नागरिक कोरना भाइरसबाट सजग रहन होम क्वारेन्टाइनमा बसेको पाइएको छ ।

रामपुर नगरपालिकाले घुम्ती टोलीका क्रममा बुधबार भारतबाट फर्केका यहाँका ४२ नागरिक आफ्नो सुरक्षाका लागि सतर्क रही होमक्वारेन्टाइनमा बसेको भेटिएको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । “भारतबाट भर्खर आएका धेरै नागरिक छन् भनी थाहा पाएपछि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको टोली घरघरमा पुगेर सोधपुछ गर्दा उनीहरु आफँै सजग रहेर होमक्वारेन्टाइनमा सुरक्षित तरिकाले बसेको पाइएको छ”, नगरप्रमुख थापाले भन्नुभयो ।

कोभिड–१९ को सचेतनास्वरुप भारतलगायत तेस्रो मुलुकबाट आएकालाई होमक्वारेन्टाइन तथा रामपुर नगरपालिकाले तयार पारेको क्वारेन्टाइन कक्षमा बस्न सुझाव दिइएको नगरप्रमुख थापाको भनाइ छ । बाहिरबाट गाउँ आएका नागरिकको वडा–वडामा निगरानी गर्ने काम भएको छ । यस्तै रामपुर नगरपालिकाले विभिन्न सिमानाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

सुनसान बन्दै पाल्पा

सरकारले लकडाउन गरेपछि पाल्पा जिल्लाको वातावरण सुनसानमय बनेको छ । अति आवश्यक सवारी साधन केही फाट्टफुट्टरूपमा मात्र चलेका छन् भने नागरिक घरबाट बाहिर निस्केका छैनन् । जिल्ला सदरमुकाम तानसेन, रामपुर, आर्थोकलगायतका बजार ठप्प छन् । जिल्लाका १० वटै स्थानीय तहमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीका टोली मुख्य बाटो तथा चोकमा खटिएका छन् । सडकमा जथाभावी हिँड्नेलाई घरमा बस्न सचेत गराइएको छ ।

जिल्लामा सञ्चालन हुँदै आएका विभिन्न व्यापार, व्यवसाय, उद्योग कलकारखाना बन्द छन् । विभिन्न योजनाका काम पनि बन्द गरिएको छ । जिल्लाका मुख्य नाकामा आवतजावत बन्द गरिएको छ । रामपुर नगरपालिकामा लकडाउनलाई मजबुत बनाइएको छ । रामपुरका विभिन्न सीमानाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भारतलगायत तेस्रो मुलुकबाट घर आएका नागरिकलाई खोजी गर्न र उनीहरुको स्वास्थ्य परीक्षणका लागि घुम्ती टोली परिचालन गरिएको छ । शङ्कास्पद लागेमा उनीहरुलाई स्वास्थ्य परीक्षण गरेर रामपुर नगरपालिकाले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ ।

सचेत बन्न थाले नागरिक
नागरिक पनि सचेत बन्न थालेका छन् । आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने अभियानमा लकडाउनको समर्थनमा नागरिक लागेका छन् । लकडाउनको पहिलो दिन केहीले अटेरी गरेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै मङ्गलबार दिउँसो ३ बजेदेखि चैत १८ गतेसम्म निषेधाज्ञा लगाएको छ । नागरिक सुरक्षाका लागि सेल्फ क्वारेण्टाइनमा बसेका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?