logo
२०८० चैत्र १६ शुक्रवार



भ्रमण वर्ष : कोइरालो वन क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

पर्यटन |


भ्रमण वर्ष : कोइरालो वन क्षेत्र पर्यटकीय गन्तव्य बन्दै


लहान, फागुन १६ गते । सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित सिमसारको कोइरालो वन क्षेत्रलाई पर्यटकीय गन्तव्यमा विकास गर्न लागिएको छ । पर्यटन वर्ष २०२० मा सो क्षेत्रमा करिब एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
केही वर्षअघिसम्म प्रायः सुनसान देखिने चुरेको फेदीमा रहेको सो क्षेत्रमा यतिबेला दैनिक पर्यटकको चहलपहल बढ्दै गएको छ । त्यहाँ अवस्थित कोइरालो खोलालाई रमणीय र पोखरीलाई दहको रुपमा परिणत गरेपछि त्यहाँ आन्तरिक पर्यटक बढ्न थालेको ढोढनाका स्थानीयवासी सुमनची दास बताउनुहुन्छ ।
ढोढनाकै प्रसिद्ध राजदेवी मन्दिरदेखि करिब आधा किलोमिटर पूर्वउत्तरमा पर्ने उक्त सिमसार क्षेत्रमा सर्वसाधारणको खासै चहलपहल थिएन्, उहाँ भन्नुहुन्छ, “तर अहिले सिमसार क्षेत्रमा सर्वसाधारणको भीड लाग्न थालेको छ ।” मन्दिरमा पूजाआजा गर्न आउने मात्रै होइन, वनभोज खान समेत सिमसार क्षेत्र पुग्नेको सङ्ख्या बढ्दै गएको छ ।
स्थानीय सामुदायिक वन र जिल्ला वन कार्यालय सिरहा लहानको संयुक्त लगानीमा गत आर्थिक वर्ष २०७४÷७५ देखि नै सो क्षेत्रलाई पर्यटकीयस्थल बनाउन थालिएको हो । सो क्षेत्रमा स्थानीय वन उपभोक्ता समितिको प्रत्यक्ष रेखदेखमा नेपाल सरकारले रु २५ लाखको लगानीमा पर्यटकीय क्षेत्र बनाउन थालेपछि त्यहाँ दैनिकजसो आन्तरिक पर्यटक आउन थालेको कोइरालो सामुदायिक वन उपभोक्ता समितिका सचिव रुद्रनारायण चौधरीले जानकारी दिनुभयो ।
वन क्षेत्रमा रहेको करिब चार हेक्टर क्षेत्रफलमा फैलिएको दहमा गर्मी मौसममा समेत पानी नसुक्ने गरेकाले सर्वसाधारण दहमा नुहाउन आउने गर्दछन् । उहाँले भन्नुभयो, “हामीले पनि यो वर्ष कम्तीमा एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएका छौँ ।”
कोइरालो दहमा वर्षैभरि पानी रहने भएकाले यस क्षेत्रलाई पर्यटकीयस्थलमा परिणत गर्न वन कार्यालय सिरहाले काम गरिरहेको छ । करिब ६० हेक्टरमा फैलिएको उक्त वन क्षेत्रभित्र करिब १० हेक्टर भूभाग सिमसार क्षेत्रभित्र पर्दछ । सिमसार क्षेत्रभित्रको चार हेक्टर जलाशयलाई सफा गरी त्यहाँ डुङ्गा चलाउने तयारी भइरहेको जनाइएको छ ।
सालको रुखले भरिएको उक्त क्षेत्रभित्र डुङ्गाबाहेक पर्यटकका लागि गर्मी छल्न ठाउँ–ठाउँमा गोलघर, उद्यानसमेत निर्माण गरिएको छ । पर्यटकीय पूर्वाधार सम्पन्न भएपश्चात कोइरालो वन र राजदेवी मन्दिरलाई जोड्ने सडक निर्माण गरी ती दुवै धार्मिक तथा पर्यटकीयस्थललाई ‘टुरिज्म सर्कल’भित्र गाभ्ने योजना रहेको लहान नगरपालिका–१५ का वडाध्यक्ष तेजनारायण चौधरी बताउनुहुन्छ ।
प्रत्येक वैशाख पूर्णिमामा बलि पुजन हुने राजदेवी मन्दिरमा प्रत्येक शनिबार घुइँचो लाग्ने गर्दछ । राजदेवीमाताको दर्शन गर्न जाने भक्तालुलाई कोइरालो वनको सिमसार क्षेत्रमा ल्याउने योजना आफूहरुको रहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
सहायक वन अधिकृत गङ्गा यादव भन्नुहुन्छ, “गत आर्थिक वर्ष २०७४÷७५ देखिनै काम थालेका छौँ, यस क्षेत्रमा तारबारसहितको वृक्षारोपण, वनभोजस्थल निर्माण गरिसकेको र पूरै सिमसार क्षेत्रलाई जलाशय क्षेत्रमा परिवर्तन गरी डुङ्गा चलाउने तयारीमा छौँ ।” धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका ती दुवै स्थललाई जोड्न सके यसक्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै जानेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?