logo
२०८१ बैशाख ११ मंगलवार



सूचना नै छैन पर्यटकलाई

पर्यटन |


सूचना नै छैन पर्यटकलाई


शालिग्राम नेपाल

चितवन, फागुन ११ गते । चितवन नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचत भए पनि यहाँ आउने पर्यटकले पर्याप्त सूचनाको अभावमा भौँतारिनुपरेको छ ।
सार्वजनिक बस तथा हवाईजहाजबाट चितवन आएका पर्यटकले जिल्लामा घुम्नलायक स्थानको सूचना होर्डिङबोर्ड वा सार्वजनिक स्थानमा टाँगिएका सूचनाबाट पाउन सक्दैनन् । उनीहरूले अरूले भनेको, आफैँले गुगलमा खोजेर वा कुनै व्यक्तिलाई सम्पर्क गरेर मात्र जान सक्छन् । भरतपुर विमानस्थलमा राखिएको सामान्य सूचनापाटीले स्थानको मात्र जानकारी गराउँछ ।
पर्यटकीय स्थान, त्यहाँ जान लाग्ने समय, पाउने सेवासुविधा, होटलको अवस्था, घुम्नलायक स्थानको जानकारी पर्यटकले सहज पाउने अवस्था छैन । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष तथा पर्यटन व्यवसायी दीपक भट्टराईले भन्नुभयो, पर्यटन वर्ष मनाइरहँदा जिल्ला आउने पर्यटकले सहज रूपमा सूचना पाउनुपर्दछ । सवारीसाधनबाट आउने पर्यटकले बसपार्कमा उत्रेपछि जिल्लाको पर्यटकीय स्थानको सूचना पाउन सक्दैनन्, उहाँले भन्नुभयो । सडक मार्गबाट चितवन आउँदा भरतपुर र नारायणगढमा दुईवटा बसपार्क छन् । हवाई मार्गबाट आउँदा भरतपुर र मेघौलीमा विमानस्थल छ । स्थल मार्ग हँुदै पूर्व–पश्चिम र दक्षिण ठोरीबाट चितवन आउन सकिन्छ । ती स्थानका सडकमा चितवनको पर्यटकीय स्थलको जानकारी दिने होर्डिङबोर्ड तथा सूचनापाटी राखिएको छैन । आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँको घुम्ने स्थानको जानकारी दिन सकेमा पर्यटक बढ्ने पर्यटन व्यवसायीको भनाइ छ । पर्यटन व्यवसायी माधव दवाडीले भन्नुभयो, जति धेरै हामीले प्रचारप्रसार गर्न सक्छौँ त्यति नै पर्यटक आउँछन् । हामी आपसमा मात्र छलफल गरेर हुँदैन, चितवनको पर्यटकीय स्थानको जानकारी बाहिरकालाई दिनुपर्दछ ।
क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले पर्यटक भिœयाउन प्रचारप्रसारको अभाव भयो भन्दै जिल्लामा पर्याप्त मात्रामा सूचनापाटी नभएको चर्चा गर्नुभयो । जिल्लाबारे पहिलै नै जानकारी लिएर, कुनै संस्था, व्यक्तिमार्फत आयो भने त्यसका आधारमा जान सकिन्छ, उहाँले भन्नुभयो ।
जिल्लामा नयाँ व्यक्ति आउँदा सहजै सूचना लिने, पाउने, र आफ्नो इच्छाअनुसारको होटलमा बस्न पाउने सूचना छैन । चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदी भन्नुहुन्छ, धेरै मिहिनेतपछि विमानस्थलमा सानो भए पनि सूचनापाटी राखेका छौँ, त्योभन्दा अरू छैन । मेघौलीको होमस्टे र जिल्लाको पर्यटकीय क्षेत्र जाने दूरीका विषयमा जानकारी दिने प्रयास भएको उहाँले बत(ाउनुभयो । पर्याप्त बजेटको अभावमा प्रसारप्रसारको काम गर्न नसकेको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी बताउनुहुन्छ । थोरै बजेटमा धेरै काम गर्नु पर्ने हुन्छ, उहाँले भन्नुभयो समन्वय समितिमा बजेट आउँदैन कसरी प्रचारको काम गर्ने ? स्थानीय तह र समन्वयको पहलमा केही प्रचारका कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?