logo
२०८० चैत्र १६ शुक्रवार



भारतको नयाँ दिल्ली विधान सभाको मतदान जारी   

अन्तर्राष्ट्रिय |


भारतको नयाँ दिल्ली विधान सभाको मतदान जारी   



     
नयाँ दिल्ली, माघ २५ गते ।  भारतको राजधानी नयाँ दिल्लीमा विधान सभाका लागि शनिबार मतदान भइरहेको छ ।    
    
बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ७० विधान सभा सदस्यका लागि मतदान भइरहेको हो ।    
मतदानका लागि मतदाताहरु बिहानैदेखि मतदान केन्द्रमा लाईन लागेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।    
    
निर्वाचनमा विशेष गरेर दिल्ली प्रदेशको सत्तारुढ दल आम आदमी पार्टी (आप), भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय काँग्रेसका बीचमा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।    
    
यसअघिको निर्वाचनमा अत्यधिक बहुमतका साथ आम आदमी पार्टी विजयी भएको थियो । कुल ७० सिटमा आम आदमीले ६७ सिट जितेको थियो भने भारतीय जनता पार्टीले ३ सिट मात्रै जितेको थियो । अर्को प्रमुख दल मानिने भारतीय काँग्रेसले त एक सिट पनि नजितेर चित्त बुझाउनु परेको थियो ।    
    
भ्रष्टाचारविरोधी आन्दोलनकारीहरूले स्थापना गरेको नयाँ दल भएकाले उसप्रतिको आशा र भरोसाका कारण आम आदमी पार्टीले त्यतिबेला दिल्ली विधानसभामा अत्यधिक मत हासिल गरेको थियो ।    
अहिले भएको मतदानको नतिजा दुई दिनपछि आउने छ ।    
    
एक करोड ४० लाखभन्दा बढी मतदाता रहेको दिल्लीमा यसपटकको चुनावका लागि कुल ६७२ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । आम आदमी पार्टी दोस्रो पटक पनि सत्तालाई निरन्तरता दिने कोसिसमा छ भने लगातार तीन पटक दिल्लीको सत्तामा रहेको काँग्रेसले आम आद्मीबाट सत्ता खोस्ने दाउमा रहेको छ । केन्द्रीय सत्ताको नेतृत्व गरेको भाजपाले पनि सत्ता हत्याउन सम्पूर्ण शक्ति लगाएको देखिन्छ ।    
    
दिल्लीमा यसअघि सन् २०१३ को डिसेम्बरमा भएको विधानसभामा भने कुनै पनि पार्टीले बहुमत ल्याउन सकेका थिएनन् । तर आम आदमी पार्टी नै सबैभन्दा ठूलो दल बनेको थियो ।    
    
सुरुमा काँग्रेससँग मिलेर सरकार बनाएको आम आद्मीले ४९ दिनपछि सरकारबाट बाहिरिएर नयाँ चुनावको माग गरेको थियो । राम्रा काम गर्न पूर्ण बहुमतसहितको सरकारको आवश्यकता पर्ने भएकाले साथ दिन आह्वान गरेको आम आद्मी पार्टीलाई जनताले अपेक्षा गरेभन्दा बढी साथ दिए ।    
    
ऐतिहासिक सफलतासहित पार्टीका नेता अरविन्द केजरीवालको नेतृत्वमा बनेको दिल्ली सरकारको कार्यकाल यही फेब्रुअरी २२ तारिखमा सकिँदैछ । नयाँ सरकारमा फेरि केजरीवालले मौका पाउनु हुनेछ की अन्य पार्टीको भाग्य खुल्ने छ भन्ने कुराको फैसला शनिबार हुने भएको हो ।    
    
प्रमुख प्रतिस्पर्धी दलहरुका बीचमा चुनाव प्रचार प्रसारका क्रममा एक अर्काप्रति चर्को आरोप प्रत्यारोप चलिरहेको थियो । उनीहरुले विवादास्पद अभिव्यक्ति पनि दिएका थिए । केही नेताहरुलाई त निर्वाचन आयोगले केही समयका लागि निलम्बन र प्रतिबन्ध लगाउनु परेको थियो ।    
––  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?