logo
२०८१ बैशाख ७ शुक्रवार



सस्तो प्याकेजले गुणस्तर खस्कियो

पर्यटन |


सस्तो प्याकेजले गुणस्तर खस्कियो


शालिग्राम नेपाल

चितवन, माघ २४ गते । काठमाडौँमा रहेर चितवनका लागि पर्यटक पठाउने ट्राभल एजेन्सीसँग सौराहाका होटलले ५० करोड रुपियाँभन्दा धेरै रकम लिनुपर्ने पाइएको छ । पर्यटनको क्षेत्रमा काम गर्दै आएका ट्राभल एजेन्सीले चितवनको होटलमा पर्यटक पठाउने तर तोकेअनुसारको रकम भुक्तानी नगरेपछि धेरै बक्यौता देखिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले भन्नुभयो, काठमाडौँका विभिन्न एजेन्सीसँग सौराहाका होटलले मात्रै ५० करोड रुपियाँभन्दा धेरै लिनुपर्ने देखिन्छ । एउटा होटलको मात्रै विभिन्न एजेन्सीसँग एक करोड रुपियाँभन्दा धेरै लिनुपर्ने देखिन्छ ।
उहाँका अनुसार एउटा ट्राभल एजेन्सीले यहाँका कुनै एउटा होटलमा पर्यटक पठाउँछ । ५० प्रतिशत रकम दिन्छ । बाँकी रकम माग्यो अर्को पर्यटकलाई फेरि पठाउँछ । पुरानो रकम बाँकी नै राख्छ । फेरि ५० प्रतिशत रकम दिन्छ । पुरानो बाँकी नै । यसरी पुरानो रकम लिनुपर्ने धेरै भएपछि यहाँकै अर्को होटललाई पर्यटक पठाउँछ तर पुरानोमा पठाउन बन्द गर्दछ ।
छिमेकी होटलले पर्यटक पाएँ भन्दै लिन्छ । अर्को होटललाई पैसा नतिरेको थाहा पाउँदापाउँदै लिने गरेपछि ऊ पनि फस्दै जान्छ, उहाँले बताउनुभयो । यस्तो समस्याले सौराहाका होटल सञ्चालक धेरै समस्यामा परेको उहाँले बताउनुभयो । करोडौँ लगानी गरेर पर्यटन क्षेत्रमा लागियो पैसा कमाउनेभन्दा एजेन्सी मोटाउने काम मात्र भएको छ, अध्यक्ष भट्टराईले भन्नुभयो, उधारो काम गर्दागर्दै अहिले यहाँका होटल सञ्चालक कसरी डुबेको रकम उठाउने भन्ने उपाय खोजीमा लागेका छौँ । क्षेत्रीय होटल होटल सङ्घ सौराहाका निर्वतमान अध्यक्ष सुमन घिमिरेले भन्नुभयो, होटलले कमाएको भन्ने धेरै छन् तर कस्तो समस्या बेहोरेर चल्नुपरेको छ भन्ने थोरैलाई जानकारी छ । एजेन्सीको गलत प्रवृत्तिका कारण यहाँका पर्यटन व्यवसायलाई तनाव भएको उहाँले उल्लेख गर्नुभयो । सबै एजेन्सीमा त्यस्तो समस्या छैन, घिमिरेले भन्नुभयो, धेरैजसोमा समस्या छ, एजेन्सीले पठाएको पर्यटक नराखौँ खाली हुन्छ भन्ने डर, राखौँ पैसा डुब्ने समस्या छ । केही वर्षदेखि पर्यटक आगमन कम हुने, आएकासँग तोकेको रकम लिन नपाउने भएपछि होटल सञ्चालकलाई ठूलो समस्या परेको उहाँले बताउनुभयो ।

खस्कँदै गुणस्तर
थोरै रकममा धेरै सुविधा दिन एजेन्सीले पर्यटक बुक गर्दा होटलले दिने सेवाको गुणस्तर खस्कँदै जान थालेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष भट्टराईले भन्नुभयो, एउटा पर्यटकलाई दुई रात तीन दिन आठ हजारमा सबै प्याकेज दिनुपर्दा गुणस्तर खस्केको छ । ब्रेकफास्ट, खाना, आवास, हात्ती सफारी, जिप सफारी, थारू नृत्य सबै गरेर आठ हजारमा नाफा हुँदैन । नाफा नभएपछि दिने खानामा सामग्री घटाउँदा गुणस्तरमा समस्या आउँछ, उहाँले भन्नुभयो । अर्का होटल सञ्चालक दामोदर रेग्मीले एजेन्सीका कारण पर्यटन क्षेत्रमा समस्या आएको बताउनुभयो ।

कारबाही गर्न सकिएन
नेपाल एसोसियसन ट्राभल्स एन्ड टुरका केन्द्रीय अध्यक्ष अच्युत गुरागाईंले केही एजेन्सीका कारण यो क्षेत्र बदनाम भएको दाबी गर्नुभयो । सौराहा मात्र नभई त्यस्ता एजेन्सीले अन्य क्षेत्रका होटललाई पनि पैसा तिर्न बाँकी रहेको गुनासो आएको उहाँले बताउनुभयो ।
यो समस्या धेरै छ, हामीले मात्र समाधान गर्न सक्दैनौँ, गुरागाईंले भन्नुभयो, संस्थासँग आबद्ध नभएका एजेन्सीले पनि यस्तो बदमासी गरेका छन् । सदस्य संस्थालाई तिर्न अनुरोध गर्ने तर कारबाही गर्न नसकिने उहाँको भनाइ रहेको छ । होटल सञ्चालक आफैँले एजेन्सी चिनेर कारोबार गर्नुपर्ने उहाँ बताउनुहुन्छ । होटलको संस्था हानमा उजुरी गरेर त्यहीँमार्फत एसोसियसनलाई जानकारी गराए समस्या समाधानका लागि पहल गर्ने छौँ, उहाँले भन्नुभयो । उहाँका अनुसार नेपालमा एक हजार नौ सयवटा ट्राभल एजेन्सी छन् । तीमध्ये ११ सयवटा मात्र संस्थासँग आबद्ध भएका छन् ।

एजेन्सीबाट लिन छाडियो
होटल सेभेन स्टारका सञ्चालक माधव दवाडीले एजेन्सीले पैसा नदिने समस्या ७५ प्रतिशत रहेकामा होटल सङ्घले बदनाम एजेन्सीको काम लिने होटललाई सचेत पार्ने काम गरेको बताउनुभयो तर व्यवहारमा त्यति देखिएको छैन । उहाँले नाम चलेका राम्रा एजेन्सीबाहेक काठमाडौँका एजेन्सीसँग पर्यटक नलिने गरेको बताउनुभयो ।
पार्क सफारीका सञ्चालक महेश खनालले अनलाइन बुक र राम्रा नाम चलेका विश्वासिलाबाहेक अहिले एजेन्सीबाट पर्यटन लिन छाडिएको बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?