logo
२०८१ बैशाख ७ शुक्रवार



पर्यटकलाई टिकटसँगै उपहार

पर्यटन |


पर्यटकलाई टिकटसँगै उपहार


शिवा तामाङ

काठमाडौँ, माघ १४ गते । हनुमानढोका दरबार क्षेत्र भ्रमणका लागि आउने विदेशी पर्यटकले अब प्रवेश गर्ने टिकटसँगै नेपाली उत्पादन पनि उपहार स्वरूप प्राप्त गर्ने भएका छन् ।
नेपाल भ्रमण वर्षको अवसरमा भने त्यहाँ आउने पर्यटकलाई भ्रमण वर्षको लोगो सहितको झोलामा नेपाली सामान पनि उपहार स्वरूप प्रदान गरेर भ्रमण वर्षको प्रवद्र्धन गर्ने योजना ल्याइएको हो । काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत त्यस क्षेत्र प्रवेश गर्ने सार्क राष्ट्र र अन्य विभिन्न देशका विदेशी पर्यटकले टिकट लिएर मात्र प्रवेश गर्नुपर्ने नियम छ । नेपाल भ्रमण वर्षभर भने उपहार पनि पाउने भएका हुन् ।
हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम प्रमुख रोशनमान शाक्यले अर्को महिनादेखि नै उक्त योजना कार्यान्वयनमा आउने जानकारी दिनुभएको हो । नेपाल भ्रमण वर्ष सुरु भइसकेको अवस्थामा तत्काल भने पर्यटकका लागि नेपाली सामान उपहार स्वरूप प्रदान गर्ने निर्णय भएको उहाँले बताउनुभयो । उहाँले यो महिना (जनवरी) लागू गर्न सकिएको छैन, अर्को महिनादेखि नै पर्यटकले टिकटसँगै नेपालीपन झल्काउने उपहार प्राप्त गर्नुुहुनेछ भन्नुभयो । यसबाट नेपाली उद्योगलाई सहयोग पुग्ने र पर्यटक मार्फत नेपालको सन्देश विदेश पुग्ने उहाँको
विश्वास छ ।
संरक्षण कार्यक्रम प्रमुख शाक्यले पर्यटकको सुविधाका लागि सार्वजनिक शौचालय थप्ने तथा सिंह सत्तलमा पर्यटन सूचना केन्द्र स्थापनासमेत गरिने बताउनुभएको छ । दरबार क्षेत्रमा हाल पुनर्निर्माणको काम चलिरहेकाले सरसफाइको दृष्टिकोणले सबै स्थान चिटिक्क देखिने अवस्था छैन तर त्यहाँको सरसफाइमा जोड दिइएको प्रमुख शाक्य बताउनुहुन्छ ।
हनुमानढोका दरबार क्षेत्र प्रवेश गर्ने सार्क राष्ट्रका पर्यटकले प्रतिटिकट एक सय पचास रुपियाँ र अन्य राष्ट्रका पर्यटकले प्रतिटिकट एक हजार रुपियाँ तिर्दै आएका छन् । हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका अनुसार गत आर्थिक वर्षमा सार्क राष्ट्रका २७ हजार ६६३ जना र अन्य
मुलुकका एक लाख ८३ हजार ७६ जनाले सो क्षेत्रको भ्रमण
गरेका छन् ।
हनुमानढोका दरबार हेरचाह अड्डा प्रमुख अरुणा नकर्मीले पर्यटन वर्षलाई लक्ष्यित गरी गद्दी बैठक खोलिने र अस्थायी रूपमा नेपाली बाजा प्रदर्शन र प्रस्तुति गर्ने योजना रहेको जानकारी दिनुभयो । त्यसका लागि नेपाली लोकबाजा सङ्ग्रहालयसँग सहकार्य गर्ने कार्यक्रम अगाडि बढेको उहाँले जानकारी दिनुभयो । नेपाली लोपोन्मुख र मौलिक बाजाको नाम र त्यसको धूनको पनि स्वाद पर्यटकले अनुभव गरुन् भन्ने लक्ष्यले साताको एक वा त्यो भन्दा बढी दिन सम्बन्धित बाजा बजाउन जान्ने कलाकारलाई प्रस्तुतिको अवसर प्रदान गरिने योजना पनि उहाँले सुनाउनुभयो ।
दरबार क्षेत्र भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई अड्डाका तर्फबाटै पथप्रदर्शकको पनि व्यवस्था गर्ने तयारी पूरा भएको छ । हालसम्म विदेशी पर्यटक उनीहरूसँगै आउने पथप्रदर्शकसँग र नेपाली आफैँ घुम्दै जाने गर्दथे । यहाँका सम्पदाका बारेमा जानकारी राख्ने पथप्रदर्शक उपलब्ध गराउँदा यहाँका बारेमा थुप्रै जानकारी लिएर पर्यटक लाभान्वित हुने विश्वासले पथप्रदर्शकको तालिम प्रदान गरेर जनशक्ति तयार गरेको बताउनुभयो ।
उहाँले हनुमानढोका क्षेत्र लगायत देशभरका पुरातात्विक महìवका मठ, मन्दिर, दरबार, म्युजियम पुनर्निर्माण र प्रवलीकरण गरिँदैछ । पुरातात्विक महìवका सम्पदा अहिले थालेर एक वर्ष वा तोकिएकै समयमा बन्छन् भन्ने छैन, युगौँ समय लगाएर बनेका सम्पदा आजको भोलि बनेनन् भन्नु ठीक नहुने उहाँको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?