logo
२०८१ बैशाख ७ शुक्रवार



पर्यटकीय गन्तव्य बन्दै शहीद स्मारक

पर्यटन |


पर्यटकीय गन्तव्य बन्दै शहीद स्मारक


राममणि दाहाल

हेटौँडा, माघ १३ गते । हेटौँडा उपमहानगरपालिका–११ स्थित शहीद स्मारकमा नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्ने अग्रजको सम्मानमा प्रजातान्त्रिक पार्क निर्माण गरिएको छ । पार्कमा प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालासहितका चार जना अग्रजको पूर्ण कदको सालिक स्थापना गरिएको हो ।
तिनमा सर्वमान्य नेता एवं २०४६ सालको जनआन्दोलनका कमान्डर गणेशमान सिंह, नेपाल कम्युनिस्ट आन्दोलनका अग्रज एवं संस्थापक पुष्पलाल श्रेष्ठ र पूर्वप्रधानमन्त्री एवं तत्कालीन नेकपा (एमाले)का अध्यक्ष मनमोहन अधिकारको पूर्ण कदको सालिक रहेका छन् ।
राष्ट्रियता, लोकतन्त्र र जनताको जनजीविकाका लागि भएका आन्दोलनमा अग्रणी एवं नेतृत्वदायी भूमिका निर्माण गरेका चारै जनाको सम्मानमा स्मारक परिसरमा प्रजातान्त्रिक पार्क निर्माण गरिएको शहीद स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, स्मारक पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्दै आएको छ ।
शहीद स्मारकमा आन्तरिक तथा बाह्य पर्यटक, इतिहासका अध्येता र विद्यार्थी आउने भएकाले नेपालको इतिहासमा विविध क्षेत्रबाट योगदान पु¥याउनेको स्मरणलाई चिरस्थायी एवं जीवन्त राख्न पार्क निर्माण गरिएको हो । शहीद स्मारक परिसरमा रहेको पार्कमा पानीको फोहरा, बगैँचा, विश्रामस्थललगायतका संरचना
निर्माण गरिएको छ ।
चारै जना प्रजातान्त्रिक आन्दोलनका अग्रणीको पित्तलको सालिक १५÷१५ लाख रुपियाँ गरी ६० लाख रुपियाँको लागतमा निर्माण गरिएको हो । पार्क निर्माणमा सङ्घीय सरकारको सहरी विकास तथा भवन निर्माण विभागको ७५ लाख रुपियाँ र शहीद स्मारकको आन्तरिक स्रोत गरी करिब डेढ करोड रुपियाँ खर्च भएको स्मारक विकास समितिले जनाएको छ ।
पार्कको उद्घाटन र सालिकको अनावरण यही मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको छ । गत वर्ष नै नेपालमा प्रजातन्त्र स्थापना भएको र २०४६ सालको जनआन्दोलन सुरु भएको दिन फागुन ७ गते सालिकको अनावरण एवं पार्कको उद्घाटन गर्ने तय गरिएकामा समयाभावका कारण भएको थिएन ।
कार्यालय प्रमुख न्यौपानेले भन्नुभयो, नेपालको प्रजातान्त्रिक आन्दोलनका नेतृत्वकर्ताको सम्मानमा पार्क निर्माणले शहीद स्मारकको समेत गरिमा र ओज बढाएको छ । पार्कमा नेपाली र अङ्ग्रेजी नयाँ वर्षसँगै बिदाका दिनमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । चिसो हावापानी, नजिक र रमणीय भएकाले भारतीय पर्यटकको पछिल्लो समयमा शहीद स्मारक रोजाइमा पर्न थालेको छ । स्मारकको वातावरण, व्यवस्थापन र सौन्दर्यले मोहित बनाउने गरेको
स्मारकमा पुग्नेहरू बताउँछन् ।
नेपालको इतिहासको गौरवको गाथा झल्कने स्मारकमा कात्तिकदेखि फागुनसम्म वनभोज आउनेको पनि ठूलै सङ्ख्या रहने गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?