logo
२०८१ बैशाख ६ बिहीवार



सप्तकोसीमा जल यातायात : घट्यो दूरी, फेरियो जीवनशैली

पर्यटन |


सप्तकोसीमा जल यातायात : घट्यो दूरी, फेरियो जीवनशैली


नवराज कट्टेल

विराटनगर, माघ १३ गते । विराटनगरबाट १० घण्टा लाग्ने भोजपुरको यात्रालाई सप्तकोसीमा सञ्चालित मोटरबोटले चार घण्टामा झारेको छ । सडकमार्ग हुँदै विराटनगर–इटहरी–धरान–धनकुटा हुँदै भोजपुर पुग्ने दूरीलाई सप्तकोसीको जल यातायातले २० किलोमिटरमा खुम्च्याइ दिइएको हो ।
सप्तकोसीमा व्यावसायिक जेटबोट सञ्चालन भएसँगै भोजपुर सदरमुकामदेखि दक्षिणवर्ती क्षेत्र हतुवागडी र आमचोक, रामप्रसाद गाउँपालिकासहितका गाउँपालिका सहजै तराईका जिल्लासँग जोडिएका छन् । सुनसरीको वराहक्षेत्र–१, चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गमस्थल हलेदे सिम्लेसम्मको जल यातायातले स्थानीयको जीवनशैलीसमेत परिवर्तन भएको छ । यसैगरी उदपयुरको बेलका गाउँपालिकाका नागरिकलाई समेत जल यातायातले सहज बनाएको छ ।
विराटनगरबाट एक घण्टामा चतरा पुगेपछि १५ मिनेटमै भोजपुरको हतुवागडी हसनपुर (हलेदे) पुगिन्छ । हसनपुरदेखि २२ किलोमिटर दूरीमा घोडेटार पर्दछ । विराटनगर–घोडेटारसम्मको यात्रालाई अढाइ घण्टामा पूरा गर्न सकिने भएपछि प्रदेश राजधानीसँग भोजपुरको दक्षिणवर्ती क्षेत्र सहजै जोडिन पुगेको हो ।
यसैगरी धनकुटाको शहीदभूमि गाउँपालिका सिम्ले क्षेत्रका स्थानीय पनि दुई घण्टामा विराटनगर आइपुग्ने अवस्था जेटबोट सञ्चालनपछि भएको छ । सदरमुकाम धनकुटा हुँदै आउँदा सात घण्टाको बाटोसमेत दुई घण्टामा पूरा हुने अवस्था आएको हो ।
हतुवागडी–९ का स्थानीय एवं पूर्व हसनपुर गाविसका अध्यक्ष भीम राईका अनुसार जेटबोट सञ्चालनपछि गाउँका उत्पादन तराईका बजारसम्म पठाउनसमेत सहज भएको छ । रोजगारी खोज्दै सहरमा झर्ने युवासमेत हलेदेमा होटल व्यवसाय सञ्चालन गर्न थालेका छन् ।
गाउँका खेतबारीमा समेत अहिले खेती सुरु गरिएको हतुवागडीमा अदुवा र अम्लिसोजस्ता नगदे बालीसँगै पशुपालनतर्फ आकर्षण बढ्दै गएको राई बताउनुहुन्छ । खेतीमै सुधार भइरहेको छ, अर्का स्थानीय मिलन राईले भन्नुभयो, भाडा केही महँगो भए पनि पहुँचमा जोड्ने मुख्य आधारले उत्पादनमा जोडिने अवसर सिर्जना गरेको छ ।
सप्तकोसीमा अहिले चारवटा कम्पनीले जल यातायातको सेवा दिइरहेका छन् । सप्तकोसी टुरिज्म एन्ड जल यातायात, वराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा, वराहक्षेत्र मरिन एन्ड रिसोर्ट प्रालि र नेपाल रिभर ट्रान्सपोर्ट एन्ड टुरिज्मका छवटा बोट सञ्चालनमा रहेका छन् ।
सप्तकोसी टुरिज्म एन्ड जल यातायातका सञ्चालक राजेन्द्र कार्कीका अनुसार वराहक्षेत्र–हलेदेसम्म पाँचसय रुपियाँ भाडादर कायम गरिएको छ । दोहोरो भाडादर एक हजार रुपियाँ तोकिए पनि सर्वसाधारणले भने सहज महसुस गरेर बुझाउने गरेको उहाँको दाबी छ ।
नदीमा रहेका केही अवरोध हटाउन सके दोलालघाटसम्म जलयत्रा तय गर्न सकिने सम्भावनासमेत उत्तिकै रहेको छ । नदीको भित्री सतहमा रहेका चट्टानलाई हटाउन लगानी गर्नसके तुम्लिङटारसम्म जल यातायात तत्काल सञ्चालन गर्न सकिन्छ । त्यसका लागि सुनकोसीको उदयपुर बेलका–७ र भोजपुरको हतुवागडी–९, लामपाते घागीमा रहेको चट्टान र बेलका र भोजपुरको आमचौकीबीचमा रहेको अवरोध हटाउनुपर्ने अध्यक्ष राईको भनाइ छ ।

‘प्रधानमन्त्री सम्झन्छौँ’
सप्तकोसीमा जल यातायात सञ्चालनमा आएपछि भोजपुरको दक्षिणवर्ती क्षेत्रका नागरिकले प्रधामन्त्रीलाई सम्झिने गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जल यातायातको कुरा उठाउँदै पानीजहाज चलाउने चुनावी भाषण पूरा भएकामा सर्वसाधारणले सम्झिरहने विषय बनेको हो ।
आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले भाषणले सार्थकता पाउँदै गएपछि सर्वसाधारणले त्यसलाई बारम्बार सम्झिने गरेको बताउनुभयो । सहजै तराईका सहरमा पुग्न सकिने सपना सामान्य जेटबोटले नै पूरा गर्नसक्नु दक्षिणवर्ती क्षेत्रका नागरिकका लागि सौभाग्य बनेको अध्यक्ष राईको भनाइ छ ।
जेटबोट सञ्चालनसँगै त्यसको व्यवस्थापनका लागि आवश्यक पर्ने नीति र निर्देशिका तत्काल बनाउन आवश्यक रहेको हतुवागडी गाउँपालिकाका अध्यक्ष प्रेम राई बताउनुहुन्छ । जल यातायातको सम्भावना राम्रो रहेको सप्तकोसी नदीमा लामो यात्राको रुट बन(ाउन सरकारले केही लगानी गर्नुपर्ने आवश्यकता रहेको उहाँको भन(ाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?