logo
२०८० चैत्र १६ शुक्रवार



भ्रमण वर्ष सफल पार्न नेपाली नियाेग सक्रिय, उत्साहजनक वातावरण बन्दै

पर्यटन |


भ्रमण वर्ष सफल पार्न नेपाली नियाेग सक्रिय,  उत्साहजनक वातावरण बन्दै


चाँदनी हमाल
काठमाडौँ, पुस २७ गते । ‘अतिथि देवो भवः’ भन्नलाई मात्र भनेको होइन । यथार्थमा नेपाल र नेपालीले अतिथिलाई देवता नै मान्ने चलन छ । यही चलनलाई नेपाल भ्रमण वर्ष २०२० मा विदेशी र स्वदेशी पाहुनालाई देवतासरह मान्न थालिएको छ ।
स्वदेशी र विदेशी दुबैथरी पाहुनाका लागि आपसी सद्भाव, मेलमिलाप, शान्ति र समाज व्यवस्थापनमा यो उक्ति निकै अमूल्य मानिन्छ । नेपालको हिमाल, प्राकृतिक सुन्दरता, मौलिक संस्कृति र नेपाली हातको मिष्ठान्न भोजनको रसास्वादन गर्न पर्यटक उत्सुक रहन्छन् ।

यही मान्यता अनुसार ‘नेपाल भ्रमण वर्ष २०२०ः जीवनभरका लागि अनुभव’ नारासहित नेपालमा नेपाल भ्रमण वर्ष विधिवत् रुपमा केही दिनअघिदेखि शुरु भइसकेको छ ।
छिमेकी मुलुकदेखि सातसमुद्रपारसम्म पनि धमाधम नेपाल भ्रमण वर्ष सफल बनाउने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरु भइरहेको छन् । सन् २०२० भित्र नेपालमा २० लाख पर्यटकको भ्रमण गराउने लक्ष्यसहित भ्रमण वर्षको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो ।

भारत र चीनमा भ्रमण वर्ष
नेपालमा भ्रमण वर्ष उद्घाटन हुनुअघि विहान प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाना जोडिएका छिमेकी देश भारतका समकक्षी नरेन्द्र दामोदर मोदीलाई नेपाल भ्रमण गर्न निम्तो दिनुभयो । भ्रमण वर्षको निम्तोलाई छिमेकी देशका प्रधानमन्त्री मोदीले सहर्ष स्विकार्नुभयो ।

भारत र नेपालको धार्मिक पर्यटनको सम्बन्ध निकै पुरानो हो । चारधाम गर्न होस् वा पूण्य कमाउने हेतुले नै किन नहोस्, नेपालबाट भारत र भारतबाट नेपाल तिर्थाटन गर्न वर्षेनी लाखौँको संख्यामा आवतजावत हुने गरिएको छ । पछिल्लो समय धार्मिक पर्यटनलाई रामायण सर्किट, लुम्बिनी सर्किट सहितका सञ्जालमा विस्तार गर्न दुबै देशको सहकार्य भैरहेको छ ।

उता उत्तरतर्फ हिमाल र पहाडको साँध जोडिएको छिमेकी मुलुक चीनसँगको गाँठो भ्रमण वर्ष अघि नै बलियो बन्यो । असोज २५ र २६ को दुईदिने भ्रमणमा चीनका राष्ट्रपति सी चिनफिङ नेपाल आउनुभयो । भ्रमण वर्षको पूर्वाद्धमा नेपाल आउनु भएका उहाँले चीन हरेक तवरले नेपालको छिमेकी हुनुको भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपाल भ्रमण वर्ष सफल बनाउन विदेशमा रहेका नेपालका कूटनीतिक नियोगलाई अभियान सुरु गर्न भनिएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बताउनुहुन्छ । कूटनीतिक देशको आर्थिक विकाससँग नजिक रहेको पर्यटनको लागि पनि महत्वपूर्ण साध्यका रुपमा रहेको उहाँको भनाइ छ ।

दक्षिण एसियाको सबैभन्दा सानो परराष्ट्र मन्त्रालय रहे पनि विभिन्न ३० देशमा राजदूतावास सञ्चालनमा रहेको छ । कतिपय देशमा रहेका राजदूताबासले ६ भन्दा बढी देश हेर्ने गर्छन् । तीनवटा संयुक्त राष्ट्रसंघीय मिसनसँगै १६८ देशसँग दौंत्य सम्बन्ध कायम नेपालले कायम राखेको छ ।

दक्षिण एसिया
दक्षिण एसियाली मुलुकका देशहरु भारत, पाकिस्तान, बंगलादेश, भूटान, श्रीलंका, मालदिभ्स र अफगानिस्तान नेपालसँग सार्क सम्बन्ध गाँसेका मुलुक हुन् । नेपाल भ्रमण वर्षलाई यी नजिकका देशले विभिन्न कार्यक्रम गरी सघाइरहेका छन् । पाकिस्तानका लागि नेपालकी राजदूत सेवा लम्सालले त्यहाँ नेपालको पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिंदै भ्रमण वर्षको अभियान सुरु गर्नुभयो ।

बंगलादेशका लागि नेपालका राजदूत बंशीधर मिश्रले त्यहाँका रेलमन्त्री नरुल इश्लाम सुजोनलाई प्रमुख अतिथि बनाएरै भ्रमण वर्ष उद्घाटन गर्नुभयो ।

उत्तर पश्चिम एसिया
यस क्षेत्रका जापान र मंगोलियाले नेपालको भ्रमण वर्षमा चासो राखेका छन् । जापानमा आयोजित विशेष समारोहमा जापानका पर्यटन उपमन्त्री नोरी हिरो नाकायामालाई र त्यहाँस्थित नेपाली राजदूत प्रतिभा राणाले जापानीलाई नेपाल भ्रमणका लागि पठाउन आग्रह गर्नुभयो । जापानबाट वर्सेनि ४० हजार पर्यटक नेपाल आउँछन् ।

साउथ इष्ट एसिया र प्यासेफिकका देशमा प्रवद्र्धन
यस क्षत्रको मलेसिया नेपाली कामदार बढी रहेको देश हो । यहाँ ३ लाख ५० हजार नेपाली कार्यरत छन् । मलेसियामा रेमिट्यान्ससँगै पर्यटक भित्र्याउने योजना अनुसार भ्रमण वर्षको उद्घाटन भयो ।

अष्ट्रेलियामा भने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई आँफै त्यहाँ पुगेर भ्रमण वर्षको निम्तो दिनुभयो । यो देशमा ५० हजार बढी नेपाली विद्यार्थी अध्ययन गरिरहेका छन् । भियतनामका २३ हजार पर्यटकले गएको वर्ष नेपाल भ्रमण गरे । यहाँ भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी, बुद्धजन्म र विश्व शान्तिको व्याख्या गर्नुभएको थियो ।
गएको वर्ष सातहजार पर्यटक नेपाल आएको इण्डोनेसियाबाट यसवर्ष अझ थप हुने अपेक्षा राखिएको छ ।

म्यानमारमा पर्यटन प्रवद्र्धन गर्न रोड–सो आयोजना गरियो । यहाँबाट गएको वर्ष ४० हजार बढी पर्यटक नेपाल भित्रिएका थिए । फिलिपिन्स पनि नेपाल आउने पर्यटक रहेको देश हो । त्यहाँ झण्डै ३ सय नेपाली अध्ययनरत छन् ।
थाइल्याण्डमा नेपाल भ्रमण वर्षको प्रचार गर्दै पदयात्रा सम्पन्न भएको छ । यहाँबाट गतवर्ष ५२ हजार पर्यटक नेपाल आएका थिए ।
कम्बोडिया र न्यूजील्याण्डमा पर्यटकलाई निम्तो दिने काम बाँकी छ । न्यूजील्याण्डबाट गएको वर्ष ५ हजार ३ सय पर्यटक नेपाल आएका थिए ।

मध्य एसिया, पश्चिम एसिया र अफ्रिका
सहसचिव हरिश्चन्द्र घिमिरेका अनुसार सबैभन्दा बढी नेपाली कामदार रहने यस क्षेत्रमा कतार, साउदी अरब, कुवेत बहराइन, ओमान संयुक्त अरब इमिरेट्स, मोरिसस्, लेबनान्, जोर्डन, इजिप्ट, इजरायललगायतका देशहरु रहेका छन् । कतार, साउदी अरब, इजिप्ट, इजरायल र युएइमा भ्रमण वर्षको उद्घाटन भैसके पनि बाँकीमा हुँदैछ ।

युरोप/अमेरिका
संयुक्त राज्य अमेरिका, बेलायत, रुस, बेल्जियम, ब्राजिल, कोस्टारिका, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, आयरल्याण्ड, नर्वे, पोल्याण्ड, पोर्चुगल, रोमानिया, सर्विया, स्पेन, टर्की स्विटजरल्याण्ड आदिमा भ्रमण वर्ष अभियान शुरु हुन बाँकी छ । क्यानडा, जर्मनी, अष्ट्रियालगायतका देशमा भने भ्रमण वर्ष २०२० को अभियान शुरु भैसकेको छ । नेपालस्थित अमेरिकी राजदूत र्याण्डी बेरीले नेपाल भ्रमण वर्ष २०२० प्रति आफू उत्साहित रहेको जनाउँदै नेपाल भ्रमण वर्षको प्रवद्र्धन सामाजिक सञ्जालमार्फत गर्नुभएको छ ।

भ्रमण वर्ष भ्रमण वर्षमा मात्र सिमित नराखी यसलाई देशको समृद्धिसँग जोड्ने योजना सरकारले बुनेर कूटनीतिक निकायलाई सक्रिय बनाएको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?