logo
२०८० चैत्र १६ शुक्रवार



भ्रमण वर्ष सुरु

मुख्य समाचार |


भ्रमण वर्ष सुरु


विश्वास रेग्मी

काठमाडौँ, पुस १६ गते । २० लाख पर्यटक भिœयाउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अङ्गका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको दशरथ रङ्गशालाबाट बुधबार नै यसको औपचारिक उद्घाटन हुँदैछ ।
करिब एक वर्ष लामो निरन्तर प्रयास र एक सयभन्दा बढी स्वदेशी तथा विदेशी निकाय सँगको छलफल र सहकार्यपछि भ्रमण वर्ष उद्घाटनको तयारी पूरा भएको हो । पर्यटकलाई विशेष अनुभव गराउन ‘लाइफटाइम एक्सपेरियन्स’को मुख्य नारासहित भ्रमण वर्ष केन्द्रित विशेष लोगोमार्फत यस बीचमा नियमित प्रवद्र्धनका कार्यक्रम आयोजना भइसकेका छन् ।
सरकारले काठमाडौँसहित सातै प्रदेशमा एकैपटक औपचारिक उद्घाटन कार्यक्रमको आयोजना गरेको छ । दशरथ रङ्गशालामा बेलुका ४ बजेदेखि सुरु हुने उद्घाटन कार्यक्रम राति पौने ८ बजेसम्म जारी रहनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन कार्यक्रममा भ्रमण वर्षको सुरुवात भएको घोषणा गरेसँगै यसको सुरुवात त्यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको आग्रहसहित विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख, सातै प्रदेशका मुख्य मन्त्री, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि, पर्यटन व्यवसायी, चर्चित कलाकार र दर्शकको उपस्थिति रहनेछ ।
उद्घाटन कार्यक्रममा काठमाडौँ आसपासका नगरपालिका र पर्यटन व्यवसायी सम्बद्ध सङ्घसंस्था आफ्नो ब्यानरसहित उपस्थित हुनेछन् । विभिन्न ३५ देशका अन्तर्राष्ट्रिय सञ्चार माध्यमका पत्रकार पनि उद्घाटन कार्यक्रममा सहभागी हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । नेपालको कूटनीतिक उपस्थिति भएका विभिन्न देशमा भने जनवरी ७ मा औपचारिक उद्घाटन कार्यक्रमको तयारी छ ।
उद्घाटन कार्यक्रममा नेपालको ऐतिहासिक र सांस्कृतिक विविधता झल्कने किसिमका प्रस्तुति रहनेछन् । भ्रमण वर्षको भाइबर स्टिकर सार्वजनिक पनि सोही कार्यक्रममा हुनेछ ।

विदेशी पर्यटन मन्त्री नेपालमा
भ्रमण वर्षको औपचारिक उद्घाटनका लागि विभिन्न देशबाट पर्यटन मन्त्री नेपाल आउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मङ्गलबार छिमेकी देश भारतबाट पर्यटन मन्त्री प्रह्लादसिंह पटेल र चीनबाट सहायक पर्यटन मन्त्री वाङ सियाओफेङ नेपाल आइसक्नुभएको छ । त्यस्तै मङ्गलबार नै म्यान्मारका पर्यटन मन्त्री यू ओन माउग र जमैकाका पर्यटन मन्त्री एडमन्ड बार्लेट नेपाल आइसक्नुभएको मन्त्रालयले जनाएको छ ।
नेपाल आउनुभएका पर्यटन मन्त्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वागत गर्नुभएको थियो ।

दीपावली गर्न आग्रह
भ्रमण वर्ष सिङ्गो देशकै अभियान भएकाले यसको स्वागतमा उद्घाटनका दिन देशैभर दीपावली गर्न मन्त्री योगेश भट्टराईले आग्रह गर्नुभएको छ । दीपावली मार्फत देश समृद्धि र उज्यालोको नयाँ दिशामा सन्देश दिनेगरी यसमा सहभागी हुन उहाँले आग्रह गर्नुभएको हो ।
देशभरका सबै सङ्घसंस्था तथा घरघरमा दीपावली गरेर विश्वभर भ्रमण वर्षको सञ्चार गराउन उहाँको आग्रह छ । उहाँले भ्रमण वर्षमा सरकार सहजकर्ता मात्र हो । सिङ्गो देश नै यसको आयोजक भएकाले सबै नेपालीले यसलाई स्वागत गर्न आग्रह गर्छु भन्नुभयो ।

पर्यटकलाई दुई दर्जन प्याकेज
भ्रमण वर्षलाई केन्द्रित गरेर सचिवालयले पर्यटकलाई विभिन्न दुई दर्जन प्याकेजको घोषणा गरेको छ । विभिन्न प्रदेशमा सञ्चालन गरिने नयाँ किसिमका कार्यक्रमसहित त्यस्ता प्याकेजको घोषणा गरिएको भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले जानकारी दिनुभयो । उहाँका अनुसार भ्रमण वर्षका अवसरमा विश्वकै लामो ¥याफ्टिङ प्रतियोगिता, संसारकै गहिरो गल्छी मानिने मुक्तिनाथदेखि मार्फासम्म माउन्टेन बाइक, अन्तर्राष्ट्रिय पर्वतारोहण सम्मेलन, विश्व सुटिङ प्रतियोगिता लगायतका कार्यक्रम हुनेछन् । त्यस्तै पर्यटकलाई ‘प्रिभिलेज कार्ड’ उपलब्ध गराएर विभिन्न होटल र डिपार्टमेन्टल स्टोरमा छुटको व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो । पर्यटन सम्बद्ध सङ्घसंस्थाले पनि आफ्नो सेवामा यस्तो किसिमको छुटको घोषणा गरिसकेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?