logo
२०८१ बैशाख १३ बिहीवार



भ्रमण वर्ष नजिकिएसँगै शैलुङमा पर्यटकको चहलपहल

पर्यटन |


भ्रमण वर्ष नजिकिएसँगै शैलुङमा पर्यटकको चहलपहल


कैलाश लामा 

चरिकोट दोलखा मङ्सिर १८ गते । नेपाल भ्रमण वर्ष नजिकिएसंगै दोलखाको प्रसिद्ध धार्मीक तथा पर्यटकीय स्थल शैलुङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्न थालेको छ ।

सन २०२० लाई भ्रमण वर्ष मनाउने तयारीमा लागेका सरकारले देशभरका ७७ जिल्लामा एक सय नयाँ पर्यटकीय गन्तव्य थप्दै शैलुङ पदमार्ग समेत समावेश गरेपछि अहिले यो ठाउँमा चहलपहल बढेको हो ।

काभ्रेको धुलिखेलबाट शैलुङ घुम्न आएका सुविन तामाङले शैलुङ अन्य भन्दा फरक भएकोले पनि नेपालकै रमणीय पर्यटकीय स्थलको रुपमा आफुले पाएको
बताउनुभयो । उहाँले शैलुङ आईपुग्दा आफूलाई स्वर्गको अनुभूति भएको बताउनुभयो । शैलुङ समुन्द्री सतहबाट तीन हाजर एक सय ४५ मिटर अग्लो स्थानमा दोलखाको दक्षिण–पश्चिममा अवस्थित छ ।

शैलुङ जीवनमा एकपटक पुग्नै पर्ने पवित्र भूमि रहेको उल्लेख गर्दै शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले नेपाल घुम्न चाहने पर्यटकका लागि शैलुङलाई नयाँ गन्तव्यको विकल्पको रुपमा परिचित गराउने अभियानमा लागेको बताउनुभयो ।

प्रकृति, अध्यात्म र संस्कृतिको त्रिवेणीधाम मानिने शैलुङ डाँडाबाट मनमोहक गौरीशंकर हिमाल, गणेश हिमाल लगाएत चुरे पहडका थुम्काहरु समेत देखिने भएकाले यो स्थान अझ रमणीय पर्यटकीय स्थल बन्न सफल भएको उहाँको दावी छ ।

शैलुङ डाँडामा भर्खरै चार तले भ्यू टावर बनाइएको छ । टावरबाट हेर्दा आसपासका प्राकृतिक दृश्यहरु झनै राम्रो देखिन्छ । त्यसैगरि शैलुङमा ५३ फिट अग्लो छ्योर्तेन निर्माणाधीन अवस्थामा रहेको छ । यहाँको एक ओडारमा प्रसिद्ध शैलुङ्गेश्वर महादेवको मन्दिर अवस्थित छ । मन्दिरमा जनैपुर्णिमा र बालाचतुर्दशीका दिन भव्य मेला लाग्ने गर्दछ । त्यसैगरी यहाँ पापी छिर्न नसक्ने धर्म ढोका पनि रहेको छ । यहाँको एक ओडारमा प्रत्येक १२ वर्षमा एउटा गोदावरी फूल फुल्ने गर्दछ । त्यसरी गोदावरी फुल फुल्दा त्यो ओडारमा दुध जस्तो तरल पदार्थ चुहिने गरेको स्थानीहरु बताउँछन् । त्यसमा मानिसले नुहाएमा रोग नलाग्ने र छालाहरु सधैँ नरम रहने जनविश्वास रहिआएको छ ।

शैलुङमा बाघ, गाई र गंगटा जस्ता ढुंगाहरु छन् । डाँडाको एउटा ढुंगामा बुद्धका पाईला छ । कालापानीबाट शैलुङ जाने बाटोमुनि डाँफेको शिलापत्र पनि देख्न सकिन्छ । हिउँ पर्ने समयमा शैलुङ हिउँको बर्को ओढेर बसे जस्तो देखिन्छ । चैत,वैशाखमा गुराँस र चिमाल फुल्दा वनै राताम्मे र सेताम्मे हुन्छ ।

आन्तरिक तथा बाह्य पर्याटको सुविधाका लागि शैलुङ गाउँपालिकाले वडा नम्बर–८ स्थित कालापानीलई शैलुङ बेसक्याम्पको रुपमा विकास गरेको छ ।
कालापानीमा अहिले १२ कोठाको सुविधा सम्पन्न सामुदायिक लज बनेको छ । त्यसैगरि निजी लगानीमा सुविधासम्पन्न होटलहरु पनि बन्ने क्रममा रहेको छ ।
पर्यटकहरुको सहजताका लागि हाल कालापानीदेखि शैलुङसम्म सिँढी बनाइएको छ। राजधानी काठामाडौँबाट एक सय २५ किलोमिटरको दुरी र सदरमुकाम चरिकोटबाट ४३ किलोमिटरको दुरीमा कालापानी पर्छ । त्यसपछि मनोरमा दृश्यावलन गर्दै करिब ४५ मिनेट देखि एक घण्टाको पैदल मार्ग हिडेर शैलुङ पुग्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?