logo
२०८१ बैशाख १२ बुधवार



पचाल झरनामा पाँच हजार पर्यटक भित्र्याउने लक्ष्य

पर्यटन |


पचाल झरनामा पाँच हजार पर्यटक भित्र्याउने लक्ष्य



पुष्पराज भट्टराई
मान्म, कात्तिक २८ गते । पर्यटन वर्ष २०२० मा कालीकोटको पचाल झरनामा पाँच हजार पर्यटक भित्र्याइने भएको छ । पर्यटन वर्ष २०२० भित्र नेपालमा २० लाख पर्यटक भित्र्याउने नेपाल सरकारको घोषणाअनुसार पचाल झरनामा पाँच हजार पर्यटक ल्याउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

कालीकोटको पचाल झरनामा पर्यटन प्रवद्र्धनका लागि विभिन्न पूर्वाधार निर्माण गर्नमा आफूहरू लागि परेको पचाल झरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले बताउनुभयो । सन् २०२० मा कम्तीमा तीन हजार विदेशी पर्यटक र दुई हजार आन्तरिक पर्यटक पचाल झरना देखाउन ल्याउने गाउँपालिकाको योजना रहेको अध्यक्ष सेजुवालको भनाइ छ ।

दक्षिण एसियाकै सबैभन्दा लामो झरना भएको दाबी गर्दै गाउँपालिकाको विशेषतासहितको वृतचित्र बनाएर विश्वभर प्रचार गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । प्रचारप्रसारको अभावले ओझेलमा परेको झरनाको विश्वमा प्रचार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखी स्थानीय तह निवार्चनपछि गाउँपालिकाले महोत्सव समेत गरेको बताउनुभयो ।

एकसय गन्तव्य सूचीमा ३८१ मिटर अग्लो झरना सौन्दर्यता र प्राकृतिक अमूल्य उपहारको रूपमा रहेको छ । वर्षायाममा झरनाको मनमोहक दृश्य देख्न सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटक दुवैका लागि एकपटक पुग्नै पर्ने गन्तव्यका रुपमा रहेको छ पचाल झरना । 
गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा पर्यटकका लागि ३ वटा होमस्टे पनि बनाएको थियो । पचालझरना गाउँपालिकाको केन्द्रदेखि करिब दुई घण्टाको पैदल दुरीमा रहेको पचालझरनाका लागि गाउँपालिकाले सडक पनि निर्माण गरिसकेको उपाध्यक्ष तारा न्यौपानेले बताउनुभयो । सडक पुग्ने ठाउँदेखि करिव एक किलोमिटर पदयात्रा जोडेको समेत जानकारी उहाँले दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?