logo
२०८१ बैशाख ७ शुक्रवार



समाज, संस्कृति, सम्पदा, सद्भाव जोड्दै साइकल

पर्यटन |


समाज, संस्कृति, सम्पदा, सद्भाव जोड्दै साइकल



गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २० गते । पहाड र तराईको संस्कृति, समाज र सद्भाव जोड्ने उद्देश्यसहित चार वर्षदेखि हुँदैआएको ‘राइड थ्रू सिन्धुलीगढी’ साइकल यात्राको चौंथो शृङ्खलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
समृद्ध सिन्धुली अभियानद्वारा जनकपुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । साइकल यात्रामा यसपटक महिला साइकल यात्रीको संख्या उल्लेख्य रहने जनाइएको छ ।
आयोजकका अनुसार, काठमाडौँको पशुपतिदेखि सिन्धुलीगढी हुँदै जनकपुरसम्मको २५० किलोमिटरको यात्रा मंसिर ६ गतेदेखि सुरु हुनेछ । साइकल यात्राको अन्तिम दिन मंसिर ९ गते विहान जनकपुरमा बृहत साइकल ¥यालीसमेत हुने जनाइएको छ । लैङ्गिक विभेद विरुद्धको १६ दिने अभियान मंसिर ९ गतेदेखि (नोभेम्बर २५) सुरु हुँदैछ । सोही अभियानको थालनीको रुपमा स्थानीय महिलाको वृहत सहभागितासहित मंसिर ९ गते साइकलयात्रीले जनकपुरमा यात्रा गर्नेछन् ।

१५ जना महिला साइकल यात्रीका लागि व्रिटिस काउन्सिल र संयुक्त राष्ट्र संघ उमनले प्रायोजन गर्ने भएपछि यात्रामा महिलाको संख्या बढेको अभियानले जनाएको छ । सोही सन्दर्भ पारेर संयुक्त राष्ट्रसंघ उमनले महिला साइकल यात्रीलाई सहयोग गरेको हो । संयुक्त राष्ट्र संघले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउँदै आएको छ । नेपालमा यस अभियानको थालनी सन् २००४ देखि मात्र भएको हो ।

अभियन्ता सौरभ ढकालका अनुसार, बृटिस काउन्सिलले पाँच र र युएन उमनले १० जना महिला साइकल यात्रीका लागि लाग्ने सम्पूर्ण खर्च बेहोर्ने भएको छ ।
उहाँले भन्नुभयो, “सुरु गरेको चार बर्षमै साइकल यात्रालाई प्रतिष्ठित संस्थाहरुले पहिचान गरेका छन् । हाम्रा लागि यो गौरवको कुरा हो ।”
समृद्ध सिन्धुली अभियानले साइकल यात्रामार्फत् पहाड र तराईको समाज, संस्कृति, समाजसँगै ऐतिहासिक र पुरातात्विक महत्वको सिन्धुलीगढीलाई जोड्दै आएको छ । अभियन्ता हरिकृष्ण श्रेष्ठका अनुसार, पशुपतिनाथ परिसरबाट सुरु हुने साइकल यात्रा भक्तपुर, काभ्रे, सिन्धुली, महोत्तरीहुँदै धनुषा जिल्लाको जानकी मन्दिर पुगेर समापन हुनेछ ।
साइकलयात्रामा जुनार र संस्कृतिको प्रवद्र्धन

साइकल यात्राले समाज, संस्कृति, सम्पदा र सद्भाव मात्र नभई स्थानीय उत्पादन, संस्कृति र पर्यटन प्रवद्र्धनमा समेत योगदान गर्दैआएको छ । अभियन्ता भुवन थापाका अनुसार, साइकलयात्रीको पहिलो बास सुनकोशी गाउँपालिकाको मुल्कोटमा हुनेछ । साइकल यात्राको सन्दर्भ पारेर मुल्कोट होटल व्यवसायी संघले स्थानीय कला, संस्कृति झल्कने गरी महोत्सव आयोजना गर्ने भएको छ । त्यस्तै, गोलन्जोर गाउँपालिकाको खनियाँखर्कमा जुनार महोत्सवसमेत गरिने जनाइएको छ ।

ऐतिहासिक सिन्धुलीगढी पुगेर त्यहाँका सम्पदाको अबलोकनपछि साइकल यात्रीको दोस्रो बास सिन्धुलीमाढीमा हुने जनाइएको छ । सिन्धुलीमाढीमा सिन्धुली कला घरले स्थानीय जातजाति र संस्कृति झल्कने नाचगान प्रस्तुत गर्ने पत्रकारसम्मेलनमा जनाइएको छ । मिथिलाको सांस्कृतिक सहर जनकपुरधाममा आयोजना गरिने मैथिल लोकसंस्कृतिसहितको कार्यक्रममा तेस्रो दिन साइकलयात्री सहभागी हुनेछन् । चौथो दिन बिहान जनकपुरमा स्थानीयवासीसहतिको बृहत्त साइकल र्याली आयोजना गरिने जनाइएको छ ।

साइकल यात्राकी संयोजक दीपिका ज्ञवालीका अनुसार, यात्रामा १५० साइकल यात्री र ५० जना सहयोगीसहित दुई सयको सहभागिता रहने छ । साइकल यात्राका क्रममा स्थानीय सहकारी, संस्था, स्थानीय तह, नागरिकले स्वतस्फुर्त रुपमा सघाउने जनाइएको छ ।
साइकल यात्रामा स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ, सुनकोशी गाउँपालिका, शुलभ सहकारी, प्रदेश ३ सरकार, होटल व्यवसायी संघ, जुनार विकास संघलगायत संस्थाहरुले सघाएका छन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रवद्र्धनमा सघाउँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?