logo
२०८१ बैशाख १२ बुधवार



जलपर्यटनमा नयाँ पूर्वाधार सिँचाइसँगै पर्यटन

पर्यटन |


जलपर्यटनमा नयाँ पूर्वाधार सिँचाइसँगै पर्यटन



भैरहवा समाचारदाता

भैरहवा, कात्तिक २० गते । रुपन्देही जिल्लाको रोहिणी नदीमा निर्माणाधीन देशकै नमुना जलभण्डारसहितको बहुद्देश्यीय सिँचाइ आयोजना निर्माणले गति लिएको छ । झण्डै दुई किलोमिटरसम्म फैलिएको ड्यामसहितको आयोजनाबाट सयौँ हेक्टर जमिनमा सिँचाइ पुग्नुुका साथै पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजनासहित काम भइरहेको छ ।
चालू आर्थिक वर्ष २०७६/७७ भित्रै सम्पन्न गर्ने गरी योजनाको कामलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ । देवदह, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकासँग जोडिएका ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकाका कृषकको जग्गा सिञ्चित गर्ने गरी आयोजना अगाडि बढाइएको हो ।
३६ करोड रुपियाँको लागतमा २०७४ कात्तिकदेखि निर्माण सुरु भए पनि बीचमा प्रदेश सरकार तथा सङ्घीय सरकारको समन्वयको अभावले आवश्यक बजेट विनियोजन नभएका कारण आयोजनाको काम केही सुस्त भएको थियो । तर, अहिले यही आर्थिक वर्षमा काम सम्पन्न गर्ने गरी आयोजनालाई तीव्रता दिइएको साइट इन्चार्ज प्रमोद पाण्डेले जानकारी दिनुभयो ।
२८ करोड रुपियाँमा ठेक्का लागेको हेड निर्माणको काम ६० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । त्यस्तै आठ करोड रुपियाँको ठेक्का रहेको नहरको काम पनि लगभग सकिएको उहाँले बताउनुभयो । हेडबक्स निर्माणका लागि लुम्बिनी अर्घाखाँची बाबुल जेभी र नहर निर्माणका लागि अर्घाखाँची बाबुल जेभीसँग ठेक्का सम्झौता भएको छ ।
परियोजनाअन्तर्गत खोलाको पूर्वतर्फ पाँच हजार सात सय मिटर र पश्चिमतर्फ पाँच हजार तीन सय मिटर नहर बनेर तयार भएको छ । यसले पूर्वतर्फ करिब एक हजार पाँच सय हेक्टर र पश्चिमतर्फ दुई हजार दुई सय हेक्टर जग्गालाई सिञ्चित गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाअन्तर्गत सिँचाइ मात्र नभई करिब तीन हजार छ मिटरको जलाशय निर्माण गरी पर्यटन क्षेत्रलाई बढावा दिने महŒवकाङ्क्षी योजनासमेत राखेको रुपन्देहीको देवदह नगरपालिकाका प्रमुख हीराबहादुर खत्रीले बताउनुभयो । उहाँले यो क्षेत्र गौतमबुद्धसँग जोडिएको हँुदा यहाँ बौद्धकालीन संरचनाहरू बनाइने जानकारी दिनुभयो ।
अहिले बनेका नहर मात्र नभई यसअघि कजरा बाँध बनाई कुलोको माध्यमबाट गरिएको सिँचाइलाई पनि अगाडि बढाइने भएकाले यो आयोजनाले सिञ्चित गर्ने जग्गा अझ बढ्ने नगर प्रमुख खत्रीको भनाइ छ ।
सिँचाइका लागि बनाइने तालमा पोखरा फेवातालको बीचमा रहेको बाराही मन्दिरकै शैलीमा मन्दिर बनाइने सिँचाइ डिभिजन कार्यालय रुपन्देहीका प्रमुख टङ्क केसीले जानकारी दिनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?