logo
२०८१ बैशाख ११ मंगलवार



देश जोगाउने किल्ला जोगाउन कठिन

हराए शर्मालीगढीका हातहतियार

पर्यटन |


देश जोगाउने किल्ला जोगाउन कठिन



गोकर्ण दयाल

बैतडी, भदौ ३० गते । नेपाल एकीकरण र अंग्रेजसँगको युद्धका बेला देशको रक्षा गर्न निर्माण भएको ऐतिहासिक शर्मालीगढी जोगाउन नसक्दा त्यहाँ रहेका महत्वपूर्ण ढाल–तरवार र पुराना तोप हराएका छन् ।

बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर २, शर्मालीगढीमा रहेको किल्लाभित्रको हतियार राख्ने ठाउँ जिर्ण बनेर भत्केपछि किल्ला समेत हराउने अवस्थामा पुगेको छ ।

किल्ला भत्केर शर्मालीगढी किल्लाका ढुङ्गा छरपस्ट देखिन्छन् । किल्लाभित्र रहेको कोतखाना भत्केपछि त्यहाँ अहिले गोठालो जाने बालवालिकाको खेल्ने ठाउँ बनेको छ ।

किल्लामा बाँकी रहेका केही ढाल र तरवार डडेल्धुराको अमरगढी किल्लामा सारिए पनि केही तरवार अझैं पनि गाउँमा हुनसक्ने शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले जानकारी दिनुभयो ।

साउदले भन्नुभयो, “जिर्ण बनेको शर्मालीगढी किल्ला संमरक्षणका लागि गाउँपालिकाले ११ लाख रुपियाँ खर्च गरेर घेरबार लगाउने काम गरिरको छ । गाउँमा भएका ढाल र तरवार खोजी गर्ने काम गर्दैछौं । त्यति बेलाका सेनाले गाउँमा पानी खान बनाएको “गोर्खाली न्वालो” कुवाको समेत संरक्षण गर्न गाउँपालिका लागि परेको छ ।”

समुद्री सतहबाट १४७५ मिटर उचाईमा रहेको शर्मालीगढीको किल्लालाई स्थानीयले अमरगढी किल्ला पनि भन्ने गरेका छन् । यो किल्लाबाट डडेल्धुरास्थित अमरगढी किल्ला र भारतको पिथौरागढसम्मको दृश्यावलोकन गर्न सकिन्छ ।

चारैतिर रानी सल्लाको घना जंगलले घेरिएको शर्मालीगढी किल्लामा पर्ने जंगल क्षेत्र अहिले अमरगढी सामुदायिक वन नामाकरण गरिएको छ । ४९५ हेक्टर क्षेत्रफलमा फैलिएको यो घना वन सुदूरश्चिम प्रदेशकै सबैभन्दा ठूलो र धनी सामुदायिक वन रहेको डिभिजन वन कार्यालय बैतडीले जानकारी दिएको छ ।

बैतडीको पाटन–पञ्चेश्वर सडक खण्डको ३४ किलोमिटर सडक यातायात पार गरेपछि शिवनाथा गाउँपालिकाको केन्द्र सुल्लेखान पुगिन्छ । शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानबाट पञ्चेश्वर सडक छोडेर ११ किलोमिटर ग्रामीण सडक ओर्लेपछि शर्मालीगढी पुगिन्छ । कच्ची सडकबाट १० मिनेट उकालो चढेर शर्मालीगढी किल्ला अवलोकन गर्न सकिन्छ ।

नेपाल–अंग्रेजसँगको लडाईँमा अमरसिंह थापा लडाईँको मोर्चा सम्हाल्ने कमाण्डर थिए । उहाँकै नामबाट यो किल्लालाई अमरगढी किल्लाका रुपमा समेत चिनिने गरेको छ ।

सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अंग्रेज युद्धमा सामरिक महत्वका हिसाबले डडेल्धुराको अमरगढी किल्ला र बैतडीको शर्मालीमा रहेको शर्मालीगढी किल्ला महत्वपूर्ण किल्ला हुन् । अंग्रेजसँगको लडाईँका बेला डडेल्धुराको अमरगढी किल्लाबाट बैतडीको शर्मालीगढी किल्ला हुँदै तत्कालीन सेना नालापानी गएकोे स्थानीयको भनाई छ ।

शर्मालीगढी निजिकै रहेको नागार्जुन माध्यमिक विद्यालयको मैदानमा त्यति बेला सेनाको कवाज स्थल भएकाले त्यो ठाउँलाई अहिले पनि खलंगा भनिन्छ । अहिले त्यहाँ बिद्यालयको खेलमैदान रहेको नागार्जुन माविका प्रधानाध्यापक महामलसिंह साउदले बताउनुभयो ।

ऐतिहासिक शर्मालीगढीको संरक्षण हुन नसक्दा महत्वपूर्ण हातहतियार हराईसकेकोमा प्रधानाध्यापक साउदले चिन्ता व्यक्त गर्नुभयो । साउदे भन्नुभयो,“ पूर्खाले कति दुःख गरेर नेपाल जोगाएका रहेछन् भन्ने कुरा आँखै अगाडि देख्न सकिने किल्ला हामीले जोगाउन सकेनौं ।”
शर्मालीगढीको बारेमा स्थानीय शिक्षक शिवराज कलौनीले स्थानीय बुढापाका व्यक्तिको श्रुति संकलन गरेर “लुकेको शर्मालीगढी” नामक स्थानीय स्तरमा पुस्तक लेखे पनि हातहतियार भेटाउन नसकेको बताउनुभयो ।

शिक्षक लौनीले भन्नुभयो, “किल्लामा गोर्खाली लेखेको ढुङ्गाहरु रहेको सुने पनि गएर हेर्दा केही फेला पार्न सकेन । म पनि खोज अनुसन्धानमै छु । ”
शर्मालीगढी किल्ला जोगाउन गाउँपालिकाको प्रयासले मात्र नपुग्ने भएकाले प्रदेश सरकार र संघीय सरकारले पुरातत्व विभागमार्फत संरक्षणको पहल चाल्नु पर्ने शिवनाथ गाउँपालिकाले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?