logo
२०८१ बैशाख ७ शुक्रवार



‘रमणीय ठूलीदह ओझेलमा’

पर्यटन |


‘रमणीय ठूलीदह ओझेलमा’


सुरेन्द्र खत्री
रुकुम (पश्चिम), भदौ २४ गते । रुकुम पश्चिमको सदरमुकाममा रहेको मुसीकोट नगरपालिका–७ साँखमा पर्ने ठूलीदह प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । मध्यपहाडी लोकमार्ग हँुदै रुकुम पश्चिमको मुसीकोट र पुर्वको रुकमकोटबाट पनि सहजै साँख गाउँसम्म गएर त्यहाँबाट एक घण्टा उकालो चढेपछि पुग्न सकिने ठूलीदह खासै चर्चामा आउन सकेको छैन ।

पछिल्लो समय सदरमुकाम खलंगा बजार आसपासबाट स्थानीय पर्यटकको रुपमा केही मानिसहरु घुम्न जाने गरे पनि बाह्य पर्यटकको आगमन हुने सकेको देखिँदैन । घना जंगलको बीचमा करिब चार हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यस क्षेत्र समुन्द्री सतहदेखि करिब दुई हजार पाँचसय मिटर उचाईमा रहेको छ । यहाँ पुगेपछि एक घण्टे उकालोको थकाई हराएर जान्छ नै, यति सुन्दर स्थलमा घुम्न पाएकोमा स्वर्गमा पुगेको जस्तो हुने यस क्षेत्रमा घुम्न आउनुभएका जेपी जोशीले बताउनुभयो ।

यस स्थानलाई आवश्यक विकास र विस्तार गरी पर्यटकको आवागमनलाई बढाउनुपर्ने स्थानीय जीवन केसी बताउनुहुन्छ । देवी देउताको उत्पत्ति भएको भन्दै पुजापाठ समेत गरिने भएकोले स्थानीय साँखबासीले ठूलीदहलाई महत्वपूर्ण स्थलको रुपमा लिने गरेको उहाँको भनाइ छ ।

यस ठाउँलाई सबैमाझ चिनाउन आवश्यक रहेको भन्दै सर्वप्रथम यहाँसम्म आउने सडक निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यस क्षेत्रलाई पिकनिक स्पटको रुपमा विकास गर्न गत आर्थिक वर्षमा दश लाख रुपियाँ लगानी गरेर पिकनिक स्पर्ट समेत निर्माण गरिएको वडा अध्यक्ष हिमबहादुर पाण्डेले जानकारी दिनुभयो । वनभोजका लागि कहिलेकाँही मान्छेहरु आउने गरेको उहाँले बताउनुभयो । यहाँ खानेपानीको समस्या रहेकोले त्यसका लागि पहल भैरहेको उहाँको भनाइ छ ।

ठूलीदहलाई मुसिकोट नगरपालिकाले पनि यहाँको प्रमुख पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना बनाएको छ । पल्लोपट्टि रहेको सानीभेरी नदीबाट लिफ्टमार्फत यहाँ पानी ल्याएर जम्मा गरी साँख गाउँमा सिंचाई सुविधा विस्तार गर्ने र यहाँको मनोरमतालाई अझ बढाउने योजना रहेको मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले बताउनुभयो ।

यसका लागि डीपीआर समेत भैसकेको र करिब दशकरोड बजेट व्यवस्था भएमा योजना पूरा हुने उहाँको भनाइ छ । यस क्षेत्रमा फुटबल र क्रिकेट मैदान लगायतका संरचनाहरु समेत बनाउने योजना रहेको उहाँले सुनाउनुभयो । सडक, खानेपानी, सार्वजनिक शौचालय, बनभोज स्थल लगायको पूर्वाधार विकास गर्न आफूहरुले प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर काम गर्ने उहाँको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?