logo
२०८० चैत्र १५ बिहीवार



अर्बको ऋण : लिने फरार, दिने चुपचाप !

मुख्य समाचार |


अर्बको ऋण : लिने फरार, दिने चुपचाप !


भेषराज बेल्बासे/मित्र भण्डारी

काठमाडौँ, माघ १४ गते । लामो समयदेखि महँगा विदेशी मदिराको कारोबार गर्दै आएको व्यापारिक घराना ओमप्रकाश अग्रवालको परिवार नै झन्डै एक महिनादेखि फरार छन् । काठमाडौँको दरबारमार्ग र कान्तिपथमा ग्रिन लाइन सेन्टर प्रालिको नाममा २५ वर्षदेखि व्यवसाय गर्दै आएको अग्रवाल परिवार विभिन्न बैङ्कबाट लिएको करिब एक अर्ब ऋण नतिरी फरार भएको हो ।

अग्रवाल परिवारको नाममा एभरेस्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, मेगा बैङ्क र ग्लोबल आईएमई बैङ्क गरी चारवटाबाट मात्र ८० करोड रुपियाँभन्दा बढीको ऋण छ । अग्रवाल परिवारले त्यसअघि पनि ठूलो परिमाणमा सहकारी तथा व्यक्तिगतसमेत गरी अर्बसम्म ऋण रहेको अनुमान छ ।

विभिन्न शीर्षकमा ऋण
बैङ्कहरूले ग्रिन लाइनका सञ्चालकलाई हाइपो तथा अन्य शीर्षकमा कर्जा दिएका छन् । हाइपोमा दिएको कर्जामा धितो हुँदैन, जोखिम बढी हुन्छ । यस्तो कर्जा व्यवसायको आकार र स्टकमा रहेको मौज्दातका आधारमा दिइन्छ । त्यसैले बैङ्कहरूले आआफ्नै तरिकाले ३५ दिने सूचना निकालेर ऋण असुलीको प्रक्रिया सुरु गरेका छन् । बैङ्कहरूले दिएको सबै ऋण हाइपो नभएका कारण घरजग्गा, फ्ल्याटलगायतको सम्पत्ति धितो राखिएको ऋण पनि छ ।
मेगाले स्टक र धितो दुवै राखेर ऋण दिएको छ । एभरेस्टले ज्ञानेश्वर चोकमा १७ आना जग्गा र घरसहित विभिन्न ठाउँका फ्ल्याट राखेर ऋण दिएको छ । ग्लोबल आईएमईले ज्ञानेश्वरकै अर्को १७ आना जग्गा धितोमा राखेर ऋण दिएको छ । इन्भेस्टमेन्टको पनि धितो र स्टकमा ऋण छ ।

मेगाले कलङ्कीका विभिन्न जग्गा राखेर दिएको कर्जाका लागि धितो लिलाम गर्ने प्रक्रिया थालेको छ । उक्त बैङ्कले बुधबार सूचना प्रकाशन गरी माघ २० गतेसम्म सम्पूर्ण कर्जा तिर्न समय दिएको छ । यदि समयावधिमा कर्जा नतिरे बैङ्कले लिलाम बोलपत्र माघ १९ गतेसम्म दिन सकिने र बोलपत्र माघ २० गते खोलिने जनाएको छ । नेपाल इन्भेस्टमेन्टले भने अग्रवाल परिवार बेपत्ता भएपछि उनीहरूले सञ्चालन गर्दै आएको ग्रिन लाइन सेन्टर दरबार मार्गमा ताला लगाएको छ ।

उजुरी नआउँदा अनुसन्धान बढेन
यति हुँदाहुँदै पनि घटनाको एक महिना पुग्न लाग्दासमेत बैङ्कहरूले अहिलेसम्म न कुनै अनुसन्धान गर्ने निकायमा उजुरी गरेका छन् न त नियामक निकायमा नै लिखित जानकारी गराएका छन् ।
अग्रवाल परिवार बेपत्ता भएको मौखिक सूचनापछि स्थानीय प्रहरीले प्रारम्भिक अनुसन्धानबाहेक कुनै फाइल अघि बढाएको छैन । प्रहरीले सञ्चार माध्यमबाट थाहा पाए पनि कुनै उजुरी वा निवेदन नपाएको जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले सो घटनाबारे तीन हप्ता बितिसक्दासमेत कुनै औपचारिक उजुरी नआएकाले अनुसन्धान अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले प्रश्न गर्नुभयो, “अर्बाैंको रकम हिनामिना भएको हो भने ठगिएकाले खोइ त उजुरी गरेको ?” परिवारका केही आफन्तबाहेक अन्य कुनै पनि ठाउँबाट रकम नतिरी भागेको कुनै उजुरी नपरेको उहाँले बताउनुभयो  ।

नेपाल राष्ट्र बैङ्कले उक्त घटनापछि मातहतका बैङ्क तथा वित्तीय संस्थाको लगानी विवरण झिकाएर अध्ययन गरिरहेको जनाएको छ । राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टले झन्डै ३० लाखभन्दा बढी ऋणीहरूको सम्पूर्ण विवरण राष्ट्र बैङ्कले राख्न सम्भव नहुने भएकाले सम्बन्धित वित्तीय संस्थालाई नै जिम्मेवार बनाइएको बताउनुभयो ।

उहाँले प्रत्येक वित्तीय संस्थाले गरेको लगानीको लगत झिकाएर राष्ट्र बैङ्कले अध्ययान सुरु गरेको जानकारी दिनुभयो । भट्टले भन्नुभयो, “बिनाधितो यति ठूलो रकम किन र केका लागि प्रवाह भएको हो ? भन्नेबारे जवाफ मागेका छौँ ।” यो घटनापछि कर्जा प्रवाहबारे राष्ट्र बैङ्कबाट छुट्टै निर्देशिका जारी हुनेसमेत उहाँले बताउनुभयो । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल काठमाडौँबाट नौ जनाको परिवार सजिलै भागेर जानु अनौठो रहेको बताउनुभयो । उहाँले यसबारे गम्भीर अनुसन्धान आवश्यक रहेकोसमेत बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?