logo
२०८० चैत्र १६ शुक्रवार



सुनसरीका किसान केराखेतीतर्फ आकर्षित

अर्थ |


सुनसरीका किसान केराखेतीतर्फ आकर्षित


जयकृष्ण यादव
इनरुवा, माघ ८ गते । सुनसरी जिल्लाको सदरमुकाम इनरुवालगायतका विभिन्न स्थानमा बढ्दो प्रतिफलका कारण किसान व्यवसायिक केराखेतीमा लागेका छन् । सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा ५० जनाभन्दा बढी किसानले केराको व्यावसायिक खेती थालेका छन् । तरकारीको उर्वर क्षेत्रको रुपमा परिचित सुनसरीमा केराखेतीसँगै क्षेत्रफल पनि बढेको छ ।

जिल्लामा केही वर्षयता व्यवसायिक केराखेती फस्टाइरहेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । इनरुवाका किसानले सुरु गरेको व्यावसायिक केराखेतीको दैनिक कारोबार तीन लाख रुपियाँभन्दा बढी हुने गरेको बताइएको छ । अन्य खेतीबाट भन्दा केराखेतीबाट तीन गुणा बढी फाइदा हुने भएकोले यहाँका किसानहरु केराखेतीतर्फ आकर्षित भएको बबिया केरा पकेट सञ्चालक समितिका अध्यक्ष हरि मेहताले बताउनुभयो ।

मेहताका अनुसार विशेष गरी इनरुवा बजारको नजिक छ, केराखेती गर्नेहरुले बजारमा छिटो पुर्याउन सक्छन् भने केरा किन्ने ग्राहकको सङ्ख्या पनि बढेको छ ।

जिल्लामा केराखेती १७ वर्ष अगाडिदेखि गर्न थालिए पनि व्यावसायिक केराखेती भने १० वर्ष अघिदेखि थालिएको किसानको भना छ । यहाँ करिब ६ सय हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको र केरा पकेट तथा ब्लक कार्यक्रम सञ्चालन भएकाले थप केराको व्यावसायिक खेतीमा लाग्ने किसान बढेका छन् । यहाँ वार्षिक करौडोंको केराको कारोबार भइरहेको छ ।

केराखेती गर्ने किसानले पाँच कठ्ठादेखि बढीमा १० बिगाहासम्म केराखेती गर्ने गरेका छन् । केराखेती अन्य खेतीभन्दा सजिलो र विषादीको प्रयोग पनि त्यति धेरै गर्नु नपर्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी योगेन्द्र यादवले बताउनुभयो । अहिले यहाँ केराको माग बढी हुने गरेको छ ।
होटल तथा रेष्टुरेण्टहरुमा विभिन्न परिकार बनाएर बन्ने भएपछि केराको माग बढ्न थालेको किसानहरुको भनाइ छ । एक हजार एक सयभन्दा बढी किसानले छ सय हेक्टर क्षेत्रफलमा केराखेती गर्दै आएको यादवको भनाई छ ।

यहाँका किसान ‘व्यावसायिक केराखेतीतर्फ आकर्षित भएपछि खेतीको क्षेत्रफल बढेको छ । जिल्लाको इनरुवा, भोक्राहा नरसिंह, हरिनगर, गढी, देवानगञ्ज गाउँपालिकाका किसान व्यावसायिक केराखेतीतर्फ आकर्षित भएका केरा किसान जसलाल यादवले बताउनुभयो ।
एकदशकदेखि व्यावसायिक केराखेती गर्दै आउनुभएका इनरुवा–९ का किसान राजेश मेहताले पाँच विघामा उन्नत जातको केरामात्र लगाउने गरेको बताउनुभयो । प्रतिबिघा क्षेत्रफलमा केरा खेती गर्दा एक लाखभन्दा बढी आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?