logo
२०८० चैत्र १५ बिहीवार



एचआइभी एड्सका कारण गोरखामा ३३ जनाको मृत्यु

स्वास्थ्य |
प्रदेश |


एचआइभी एड्सका कारण गोरखामा ३३ जनाको मृत्यु


नरेन्द्र ढकाल
गोरखा, मंसिर १५ गते । एचआइभी एड्सका कारण जिल्लामा हालसम्म ३३ जनाले ज्यान गुमाएका छन् । २०६७ अशोज ९ गते गोरखा अस्पतालमा एन्टिरेक्टो भाइरल थेरापी (एआरटी) शाखा स्थापना भएपछि हालसम्म ती संक्रमितहरुको मृत्यु भएको देखिएको छ ।

आर्थिक वर्ष २०७७–७८ मा मात्र ८ जनाको मृत्यु भएको थियो । ‘एड्स आफैमा रोग होइन, यसको संक्रमण भएपछि रोग प्रतिरक्षा प्रणाली कमजोर हुन्छ अनि जुनसुकै रोगले आक्रमण गर्न सक्छ,’ स्वास्थ्य कार्यालय गोरखाका एचआइभी एड्स फोकलपर्सन नरजङ्ग ठकुरीले भन्नुभयो, ‘अनि त्यही रोगबाट बिरामीको मृत्यु हुने हो । एचआइभीका कारण होइन ।’

गत वर्ष गोरखा नगरपालिका, पालुङटार नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकामा दुई–दुई जना, भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकामा एक–एक जना गरी ८ जनाको मृत्यु भएको थियो । गत वर्ष जिल्लामा ५ जना नयाँ संक्रमित थपिएका थिए ।

गर्भवती, क्षयरोगका बिरामी र जोखिम समूहका गरी कुल ३ हजार ३९९ जनामा जाँच गर्दा ५ जनाको रिर्पोट पोजेटिभ आएको ठकुरीले बताउनुभयो । सोमध्ये ४ जना महिला र १ जना पुरुष रहेका छन् । ‘देशभरको डाटा हेर्दा पुरुषको संख्या धेरै छ । तर यहाँ महिलाको संख्या धेरै आयो,’ ठकुरीले भन्नुभयो, ‘जोखिम समूहका कतिपय पुरुषहरुले परीक्षण नै नगराएको हुन सक्छन् ।’ लुकेर बसेकाहरुको खोजी गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

गत वर्ष ३ हजार ४ जना गर्भवती र क्षयरोगको उपचार गराइरहेका १७२ जनामा परीक्षण गर्दा दुई–दुई जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । यसैगरी जोखिमयुक्त समूहका २०३ जनाको जाँचगर्दा १ जना संक्रमित भेटिएका छन् ।

ठकुरीकाअनुसार जिल्लामा अहिले २४८ जनाले एआरटी बिधिबाट उपचार गराइरहेका छन् । ‘हामीकहाँ रजिष्ट्रर भएको केस १८८ छ । सोमध्ये ३३ जनाको मृत्यु भइसकेको छ,’ एआरटी काउन्सिलर सिर्जना खत्रीले भन्नुभयो्, ‘करिब अठार उन्नाइस जना ट्रान्सफर भएर जानुभयो, अरु केही लस्ट अफ फलोअपमा हुनुहुन्छ ।’ ३ महिनासम्म उपचारका लागि सम्र्पकमा नआउनेहरुलाई लस्ट अफ फलोअपको सूची राख्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?