logo
२०८१ बैशाख ५ बुधवार



अध्ययनपश्चात् मात्र दूधको मूल्यवृद्धि

अर्थ |


अध्ययनपश्चात् मात्र दूधको मूल्यवृद्धि


गोरखापत्र समाचारदाता

काठमाडौँ मङ्सिर ११ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।
कृषि मन्त्रालयअन्तर्गत राष्ट्रिय दुग्ध विकास बोर्डमा आयोजित दुग्ध क्षेत्रको ‘ब्रिफिङ’ कार्यक्रममा मन्त्री यादवले सबैको आवश्यकता हेरेर दूधको मूल्यवृद्धि गर्नुपर्ने बताउनुभयो । दूधको अवस्था के छ, किसानको अवस्था के छ, उद्योगको अवस्था के छ, यी सबै कुराको अध्ययन गरेर मात्र मूल्यवृद्धि गर्नुपर्छ, उहाँले भन्नुभयो, “उपभोक्तालाई पनि मार नपरोस् किसानलाई पनि मार नपरोस् सबै विषयको वैज्ञानिक अध्ययन गरेर मात्र मूल्यवृद्धि गर्नुपर्छ । ”

मन्त्री यादवले दूधको औपचारिक बजार विस्तार गर्नुपर्ने कुरामा जोड दिनुभयो । दूध तथा दुग्धजन्य पदार्थको अभावलाई कम गर्नका लागि औपचारिक बजार विस्तार गर्नुपर्ने बताउँदै उहाँले बढी भएको दूध खपतका लागि त्यसको विविधतामा पनि जोड दिनुपर्ने बताउनुभयो । दूध, दही, पनिर मात्र बेचेर हुँदैन, त्यसका अरू आइटम बनाउनुपर्छ, उहाँले जोड दिँदै भन्नुभयो, “दूधमा जति विविधता हुन्छ, त्यति खपत हुन्छ, त्यसका लागि सम्बन्धित क्षेत्रले अध्ययन गरेर अगाडि बढ्नुपर्छ । ”

उहाँले किसानको भुक्तानी समयमा दिनुपर्ने निर्देशन पनि दिनुभयो । कोरोनाका कारण किसानले डेरी उद्योगीबाट समयमा भुक्तानी नपाएको गुनासो आएपछि मन्त्री यादवले सो निर्देशन दिनुभएको हो ।
बोर्डले दूधको मूल्यवृद्धिका लागि सरोकारवालासँग एक चरण छलफल गरिसकेको छ । डेरी उद्योगीले प्रतिलिटर १० रुपियाँ वृद्धि गर्नुपर्ने सुझाव दिएका छन् भने किसानले प्रतिलिटर १६ रुपियाँ वृद्धि गर्नुपर्ने सुझाव दिएका छन् । सरोकारवालाबाट आएको सुझाव मन्त्रालयमा पठाउने तयारीमा बोर्ड रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?