logo
२०७८ माघ ९ आईतवार



काँग्रेसको अबको बाटो

विचार/दृष्टिकोण |


काँग्रेसको अबको बाटो


उद्धव सिग्देल (पीएचडी)

हालसालै डा. डिला सङ्ग्रौलाद्वारा लिखित ‘नेपाली काँग्रेसको अबको बाटो’ नामक पुस्तक प्रकाशित भएको छ । उदार लोकतान्त्रिक मूल्य पद्धतिका दृष्टिकोणबाट लेखिएको उक्त कृति आठवटा उपशीर्षक ‘१) नेपाली काँग्रेसको सङ्क्षिप्त इतिहास, २) नेपाली काँग्रेसको सैद्धान्तिक स्पष्टता, ३) नेपाली काँग्रेसका उपलब्धि, ४) नेपाली काँग्रेसको अबको बाटो, ५) राष्ट्रवादको कसीमा काँग्रेस, ६) जनताले चाहेको अबको काँग्रेस, ७) अमूल्य योगदानका अग्रजहरू र ८) १४औँ महाधिवेशनका एजेन्डाहरू’मा प्रस्तुत गरिएको छ । नेपालको समसामयिक राजनीति र विशेष तह नेपाली काँग्रेसको भविष्यको गन्तव्यलाई निर्धारण गर्न पुस्तक फलदायी हुने कुरामा विश्वास गर्न सकिन्छ ।

विषयगत विश्लेषण गर्नुपूर्व डा. सङ्ग्रौलाले आफ्नो लोकतान्त्रिक आन्दोलनप्रतिको लगाव र नेपाली समाजमा एक जना नारीको राजनीतिक यात्रा कति कठिन र चुनौतिपूर्ण हुँदोरहेछ भन्ने विषय उल्लेख गर्नुभएको छ । नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ, प्राध्यापक सङ्घ र काँग्रेसको पूर्णकालीन राजनीतिमा समाहित भई विभिन्न लोकतान्त्रिक आन्दोलन र राजपाठमा भूमिका निर्वाह गरेका कुराले डा. सङ्ग्रौलाको व्यक्तित्वलाई उजागर गरेको छ । यसका साथै नेपाली समाजको रूपान्तरण र लोकतान्त्रीकरणमा भूमिका निर्वाहले गौरव महसुस भएको अनुभूति पुस्तकमा पाइन्छ । यसका अतिरिक्त समाजमा एक किसिमको के सोच छ भने राजनीति गर्ने व्यक्तिले केवल भाषण र गफ मात्र गर्न जान्दछन् तर अध्ययन, अध्यापन गर्न सक्दैनन् भन्ने कुरालाई चिर्नका लागि पनि डा. सङ्ग्रौलाले भोगेका, देखेका, अनुभव गरेका, काँग्रेसमा काम गर्दागर्दै मूल्याङ्कनको कसीबाट पछाडि परेका, काँग्रेसभित्र भएका कमजोरीलाई सुधार्न र देश दौडाहामा जाँदा काँग्रेसजनबाट प्राप्त सुझाव एवं शुभेच्छुकलाई समेटेर ‘काँग्रेसको अबको बाटो’ कृति प्रकाशन गरेको भनाइ राख्नुभएको छ ।

विषय विश्लेषण
डा. सङ्ग्रौलाले प्रथम शीर्षकअन्तर्गत काँग्रेसको स्थापना र प्रथम महाधिवेशनदेखि १३औँ महाधिवेशनसम्मका कुरा गरेर नेपालको संविधान २०७२ का सम्बन्धमा पनि राम्ररी तर सङ्क्षिप्त रूपमा लेखेकी छन् । संविधान सभाको चुनावको नेतृत्व, संविधान निर्माणको नेतृत्व लिएर जारी गर्दाको नेतृत्व पनि काँग्रेसले लियो । संसद्बाट बाहिर गएका केही शक्तिलाई पनि सुशील कोइरालाले देश हार्ने देखेपछि कठोर निर्णय लिएर देश, संविधान र प्रजातन्त्रलाई बचाएर एउटा महान् कार्य गरेका थिए । कतिपय दृश्यादृश्य शक्ति संविधान जारी गर्न नदिने अवस्थामा हुँदा पनि सुशील कोइरालाले मेरा देशका सम्बन्धमा निर्णय मैले गर्ने कि तिमीहरूले भनेर प्रश्न उठाउँदै दरो निर्णय गरेका थिए ।

सात दशकभन्दा लामो राजनीतिक गौरवपूर्ण इतिहास, बी.पी. कोइरालाको सुस्पष्ट विचार, सुवर्ण शमशेरको त्याग, गणेशमानजी जस्तो साहसी योद्धा, किशुनजीको जस्तो विवेकी, गिरिजाप्रसाद कोइराला जस्ता कुशल सङ्गठक एवं व्यावहारिक राजनीतिका धरोहर, सुशील कोइरालाको निष्ठा र सादगीपन, शेरबहादुर देउवाको कुशल नेतृत्वमा २०७२ को नेपालको संविधान कार्यान्वयनका निमित्त गरिएको तिनै तहको निर्वाचन र हजारौँ नेता कार्यकर्ताको सहादतले सिञ्चित काँग्रेस आज राष्ट्र निर्माणको सुनौलो घडीमा प्रतिपक्षको भूमिका निर्वाह गर्दै देशलाई लोकतान्त्रिकीकरण गर्न अग्रसर रहेको विषय उल्लेख गरिनु आफैँमा महìवपूर्ण विषय छ ।

पुस्तकको दोस्रो काँग्रेसले अवलम्बन गरेका सिद्धान्तको स्पष्टतालाई व्याख्या गर्ने क्रममा कम्युनिस्टको दोहोरो चरित्र या ढुलमूले नीतिको पनि ईषत् झल्को दिएको देखिन्छ । देश, काल, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिका कारण संविधान घोषणा गरी देशलाई निकास दिनु काँग्रेसको भूमिका र सैद्धान्तिक भावभूमिअन्तर्गत नै पर्दथ्यो र लोकतान्त्रिक मूल्य पद्धतिमा आधारित संविधान घोषणा गरी वैचारिक सु–स्पष्टता नेतृत्वले गरेकै हो भनी दाबी गरिएको छ । त्यस अवस्थासम्म काँग्रेसको वैचारिक धरातललाई प्रश्न उठाउने ठाउँ छैन । यसका अतिरिक्त संविधानसँग असहमति राख्ने मधेसवादी दलहरूलाई प्रधानमन्त्रीको चुनावमार्फत संसद्भित्र ल्याउनु तत्कालीन नेतृत्वलाई सगौरव प्रस्तुत गर्नु पनि वैचारिक दृष्टिले न्यायोचित नै हो । समावेशी लोकतन्त्र, विकेन्द्रित शासन प्रणाली र वहिष्कृत समुदायलाई मूलप्रवाहीको प्रक्रियामा ल्याउनु काँग्रेसको सैद्धान्तिक स्पष्टता हो भनी दाबी गरिएको छ ।

काँग्रेसको राष्ट्रियता अरूको भन्दा भिन्न, स्पष्ट र नेपाली जनता, तिनले अवलम्बन गरेको संस्कार संस्कृतिअनुरूपको, जनताको भावनात्मक ऐक्यभाव प्रदर्शन हुने कुरो नै राष्ट्रियता हो भनिएको छ । राजनीतिशास्त्रले १. देश, (निश्चित भूभाग), २. जनता (निश्चित भूभागमा बसोबास गर्ने सबै प्रकारका प्राणीसहितको मानव जाति), ३. सरकार (जनताले संविधानबमोजिम छानेका जनप्रतिनिधिबाट बनेको सावधिक) र ४. सार्वभौम सत्तासम्पन्नता (निश्चित भूभागभित्र भूमिलगायत सबै कुराको अन्तिम निर्णय गर्न सक्ने तर जनताले या अन्य प्रकारले संविधानमा निर्धारण गरेबमोजिम मात्रै हुने गरी) । यी चारैवटा कुरामध्ये जनता सबैभन्दा महìवपूर्ण हो । अतः जनताको चाहना नै राष्ट्र र राष्ट्रियताका सम्बन्धमा सर्वोच्च बनेर रहेको हुन्छ । काँग्रेसको यो व्याख्या बीपीका व्याख्यासँग सम्बन्धित रहेको पनि देखिन्छ ।
काँग्रेसका उपलब्धिहरूलाई प्रस्तुत गर्ने क्रममा वि.सं. २००७ सालको क्रान्ति, जमिनदारी तथा विर्ता प्रथाको उन्मूलन, २०१५ को निर्वाचनमा प्राप्त गरेको जित र बीपी नेतृत्वको सरकारले गरेका सामाजिक तथा आर्थिक रूपान्तरणका ऐतिहसिक कार्यहरू, वि.सं. २०१७ देखि २०३३ सम्मका सशस्त्र र शान्तिपूर्ण आन्दोलन, २०३३ सालको मेलमिलाप नीति, २०३६ सालको जनमत सङ्ग्रह, २०४६ सालको जनआन्दोलन र यसका उपलब्धिलाई उल्लेख गरिएको छ । २०४८ सालको आमनिर्वाचनमा काँग्रेसको जित र गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले गरेका सामाजिक आर्थिक रूपान्तरण र विकास प्रक्रियालाई महìवपूर्ण उपलब्धिका रूपमा लिइएको छ । यसका साथै २०६२÷६३ को जनआन्दोलनको नेतृत्व, सशस्त्र द्वन्द्वमा होमिएका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुका साथै गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समावेशितासहितको २०७२ सालमा संविधान काँग्रेसकै नेतृत्वमा घोषणा भई कार्यान्वयनमा आउनु आफैँमा ऐतिहसिक उपलब्धिका रूपमा दाबी गरिएको छ ।

चौथो उपशीर्षक पुस्तकको मूल भागमा भविष्यमुखी काँग्रेसका बारेमा चर्चा गरिएको छ । कुल २४ वटा बुँदामा काँग्रेसको भविष्यको खाका कोरिएको छ । आजको काँग्रेस नीति, विचार, सङ्गठन र नेतृत्वका दृष्टिले भावी दिशा कता, के र कसरी हुने भन्नेबारेमा व्यावहारिक रूपमा अन्योलग्रस्त छ । यस परिस्थितिमा अबको बाटो के भन्नेबारेमा बृहत् बहसको आवश्यकता छ । यसका निम्ति उद्देश्यपरक अनुसन्धान, व्याख्या र विश्लेषण आवश्यक छ । काँग्रेसको अबको बाटो के भन्नेबारेमा सङ्क्षेपमा विश्लेषण गरिएको पाइन्छ ।
सर्वप्रथम काँग्रेसलाई हाललाई दुई भागमा विश्लेषण गर्नुपर्छ । २०४६ सालपछि काँग्रेसले नीतिगत रूपमा अङ्गीकार गरेका राष्ट्रियता र लोकतन्त्रका सवालमा कति सबल र कति कमजोरी रहे, केलाउन जरुरी छ भने २०६२÷६३ पश्चात् काँग्रेसले अङ्गीकार गरेका नीति तथा कार्यनीतिले राष्ट्रिय एकता, अखण्डता र लोकतन्त्रलाई सबलीकरण गर्न सफल भए भएन भन्ने कुरा जनभावनाका दृष्टिले हेरिनुपर्छ । यसो गरियो भने भविष्यको मार्ग प्रशस्त गर्न सहज हुनेछ ।

दोस्रो, काँग्रेसमा मौलाएको विकृति र विसङ्गतिलाई न्यूनीकरणका विविध पाटाहरूको पहिचान गरी पार्टीको संस्थागत विकासमा अगाडि बढ्न सकिन्छ । पार्टीका शुभेच्छुकहरूबाट बिनापूर्वाग्रह, बिनाउत्तेजना र यथार्थपरक ढङ्गले पार्टीको वर्तमान अवस्थासम्म आइपुग्नाका परिस्थिति र परिवेशलाई मूल्याङ्कन गर्नुपर्ने देखिन्छ । यसका निम्ति शुभेच्छुक पेसागत सङ्गठनका व्यक्तिहरू उपयुक्त पात्र हुन सक्छन् । तेस्रो, नेपालको भूगोल, समाज, संस्कृति, अर्थतन्त्र र जनताको मनोविज्ञानलाई सम्बोधन गर्ने नीति, सङ्गठन र जनभावना प्रतिविम्बित गर्ने नेतृत्व नै काँग्रेसको अबको बाटो हुनुपर्ने हुन्छ ।

चौथो, बीपी कोइरालाको सैद्धान्तिक भाव भूमिबाट निर्माण र विकास भएको नेपाली काँगे्रस सात दशक पार गरिसकेकोे छ । कुनै पनि जीवन्त राजनीतिक सङ्गठन द्वन्द्वमुक्त हुन सक्दैन । द्वन्द्वविहीनताले साङ्गठनिक जीवनमा गतिशीलता पनि ल्याउँदैन । मानवमा विद्यमान हुने परस्परविरोधी चाहना र दृष्टिकोणले सदैव द्वन्द्वात्मक स्थिति निर्माण गर्न मद्दत पु¥याइरहेका हुन्छन् तर दलभित्रको यस्ता असहमति, तनाव र विरोधलाई निश्चित लोकतान्त्रिक विधि र प्रक्रियाका आधारमा व्यवस्थित गर्न सक्ने क्षमता दलमा रहन जरुरी हुन्छ । यो क्षमता आन्तरिक लोकतान्त्रिक अभ्यासले मात्र निर्माण गर्न सक्छ ।

समग्रतामा काँग्रेसका लागि आजको अवस्था चुनौतीभन्दा अवसर धेरै छ । आगामी १४औँ महाधिवेशन निकै नै महìवपूर्ण हुनेछ । पार्टीको नीति तथा कार्यक्रम, समानुकूल विधान, साङ्गठनिक स्वरूप र जनतासँग संवाद गर्न सक्ने नेतृत्व चयन गर्न सकेमा काँगे्रसको १४औ महाधिवेशन लोकतान्त्रिक प्रकृया, विधिको शासन र सामाजिक रूपान्तरणको प्रकृयाका दृष्टिले अवसर र चुनौति दुवै लिएर आएको छ ।

डा. सङ्ग्रौलाले पाँचौँ शीर्षकमा काँग्रेसको राष्ट्रवादका बारेमा विस्तृत चर्चा गर्नुभएको छ । इतिहासको विभिन्न काखण्डमा राष्ट्रियताको कसीमा उभिनु परेको र काँग्रेसले राष्ट्रिय हितका मुद्दामा कसैसँग सम्झौैता नगरेको उल्लेख गर्नुभएको छ । चाहे त्यो चीनसँगको सीमा विवादमा बीपी कोइरालाले लिएको अडान वा भारतसँग काँग्रेसका नेताहरूले लिएको अडान । त्यसैले काँग्रेस सधैँ समन्वयकारी एवं कूटनीतिक वार्तामा जोड दिँदै आउँदा कहिले अरूसँग ढल्केको आरोप पनि नलगाएका होइनन् तर नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै विगतदेखि वर्तमानसम्म आइपुग्दा राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता र स्वाधीनताका लागि कहिल्यै यो पार्टी चुकेको छैन भनी दाबी रहेको छ ।

काँगे्रसको १४औँ महाधिवेशन लोकतान्त्रिक प्रक्रिया, विधिको शासन र सामाजिक रूपान्तरणको प्रश्नसँग जोडिएको छ । नेपालको कम्युनिस्ट आन्दोलनले सामाजिक रूपान्तरण प्रक्रियालाई अघि लिएर जान्छ भन्नेबारेमा अपेक्षा गरिएको थियो । काँगे्रसको १४औँ महाधिवेशन लोकतान्त्रिक प्रक्रिया, विधिको शासन र सामाजिक रूपान्तरण प्रक्रियाका दृष्टिले अवसर र चुनौती दुवै लिएर आएको छ तर अपार जनसमर्थन प्राप्त गरेको कम्युनिस्ट सरकारले विगत तीन वर्षभन्दा वढी समयमा लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गर्ने, विधिको शासनलाई धज्जी उडाउने र सामाजिक रूपान्तरणलाई मजाक रूपमा लिने कार्य गरेको यथार्थ सबैले अनुभव गरेको डा. सङ्ग्रौलाको दाबी छ ।

टिप्पणी र गन्तव्य निर्धारण
काँग्रेस बुझ्न चाहने व्यक्तिका निमित्त यो पुस्तक राम्रो सहायक सामग्री बन्नसक्छ । अहिलेसम्म कुनै दलका व्यक्ति या दलमा नेतृत्वका तहमा पुगेका व्यक्तिले दलनायक र दलको इतिहासलाई हाम्रा पुराणका शैलीमा सकारात्मक पक्षको एकोहोरो रटान मात्र लाएर लेखेकोे पाइएको छ तर डा. डिलामा त्योभन्दा पृथक् शैलीको विकास भएको देिखयो । वाक्यवाक्य र अनुच्छेद अनुच्छेदमा उनले आलोचनात्मक र कताकति समालोचनात्मक दृष्टिको पनि परिचय प्रस्तुत गरेको भेटिन्छ । विश्वव्यापी रूपमा नै उदार लोकतन्त्रमाथी चुनौती थपिएका बेलामा नेपाल यसको सफल अभ्यास कसरी गर्न सकिन्छ भन्नेबारेमा पुस्तकका हरेक अंशमा प्राप्त हुन्छ ।

काँग्रेसले अबका लागि आफ्नो गन्तव्य कसरी तय गर्ने ? राष्ट्रिय निर्वाचनमा जनताको ध्यान कसरी पार्टीतिर आकर्षण गर्ने ? जस्ता अनेकौँ प्रकारका समस्या र प्रश्नात्मक चुनौतीसँग काँग्रेस आम्नेसाम्ने हुनुपर्ने स्थितिसँग पनि सङ्ग्रौला परिचित छन् । काँगे्रसका पछिल्ला दिनहरूमा स्थापित राजनीतिक खेलका नियमलाई पालन गर्न हिचकिचाउने प्रवृत्ति, जसरी पनि पार्टीको निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउनुपर्छ भन्ने सोच, निर्णय प्रक्रियामा आमकार्यकर्ताको सहभागिताको अभाव, केन्द्रीकृत संरचना, आन्तरिक लोकतान्त्रिक अभ्यासको कमी र आर्थिक व्यवस्थापनमा देखिएका अपारदर्शिता जस्ता प्रवृत्तिले काँगे्रसमा अपेक्षाकृत लोकतान्त्रिक संस्कार र संस्कृतिको विकास भएको पुष्टि हँुदैन । विधिमाथि नेता हावी हुने प्रवृत्ति छ । केन्द्रीकृत संरचनामा रमाएकाबाट विकेन्द्रित विचार र व्यवहारको अपेक्षा कमै गर्न सकिएला ।

काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले तल्लो तहका संरचनालाई बढी स्वायत्तता प्रदान गर्न सके मात्र आन्तरिक लोकतन्त्र र विकेन्द्रित पार्टी संरचना मजबुत हुनेछ । १४औँ महाधिवेशनले नेतृत्वको विषय मात्र नअल्झिएर यी विषयमा स्पष्ट नीति बनाउनु जरुरी छ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?