logo
२०८० चैत्र १६ शुक्रवार



जर्जियाको विपक्षी दलका नेताले जेलमै गरेको अनसन अन्त्य

अन्तर्राष्ट्रिय |


जर्जियाको विपक्षी दलका नेताले जेलमै गरेको अनसन अन्त्य


टिब्लिसी, मङ्सिर ४ गते । जर्जियाको विपक्षी दलका नेता तथा पूर्वराष्ट्रपति मिखाइल साकाश्भीलीले आमरण अनसन अन्त्य गर्नुभएको छ । जर्जियाको कारागारभित्रै अनसन सुरु भएको ५० दिनपछि शनिबार उहाँले अनसान अन्त्य गर्नु भएको हो ।

अनसनका कारण स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएपछि निजि चिकित्सकको सल्लाहमा उहाँले हालका लागि अनसन अन्त्य गर्नु भएको जनाइएको छ । कारागारमा अनसानका कारण स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँलाई सैनिक अस्पतालमा स्थानान्तरण गरिएको छ ।

आफुलाई राजनीतिक पूर्वाग्रहका आधारमा गिरफ्तार गरेर जेलमा राखिएको भन्दै उहाँले आफुलाई तत्काल रिहा गर्न माग गर्दै कारागारमै अनसान बस्नु भएको थियो ।

अनसन गरिरहेका बेला ५३ वर्षीय नेता साकाश्भीली गत बिहीबार बेहोस हुनुभएको थियो । चिकित्सकले उहाँलाई तत्काल अस्पताल लैजान सुझाव दिएका थिए ।

उहाँलाई नियमित स्वास्थ्य परीक्षण गर्नेगरी चिकित्सकको निगरानीमा राख्नु पर्ने र त्यसो गर्न नसकेमा उहाँको जीवन नै खतरामा रहेको चेतावनी चिकित्सकले दिएका थिए ।

चिकित्सकको सुझाव र सिफारिसका आधारमा न्याय मन्त्री राती ब्रेगाड्जले शुक्रबार उहाँलाई अस्पताल लैजान अनुमति दिनुभएको थियो ।

“उहाँको स्वास्थ्य र सुरक्षाका लागि राज्य सधैँ तत्पर छ,” मन्त्री ब्रेगाड्जले भन्नुभयो । उहाँले विपक्षी नेता साकाश्भीलीको स्वास्थ्य र सुरक्षाका लागि सबै उपाय अपनाउन सरकार तयार रहेको पनि स्पष्ट पार्नु भएको थियो ।

विपक्षी नेता साकाश्भीलीले अनसन तोडेपनि आफ्नो आन्दोलन र माग भने यथावत रहेको स्पष्ट पार्नु भएको छ । “मैले पूर्वाग्रहपूर्ण तरिकाले मलाइ कारागार राखिएको विषयलाई स्वभाविक मानेको छैन, म यसलाई अवैध र अवैधानिक नै मान्छु, म स्विकार गर्दिन,” उहाँले भन्नु भएको छ ।

आफुलाई गरिएको अन्यायका विरुद्धमा आफू बाँचुन्जेल लडिरहने र प्रतिवाद गरिरहने अठोट पनि उहाँले व्यक्त गर्नु भएको छ । सन् २०१८ मा उहाँलाई वर्षे जेल सजाय तोकिएको हो । पदमा रहँदा शक्ति र श्रोत साधनको दुरुपयोग गरेको आरोपमा उहाँलाई कारागार चलान गरिएको थियो ।

त्यस आरोपलाई उहाँले भने अस्विकार गर्दै आउनु भएको छ । अहिलेको सत्ताधारीले आफुलाई राजनीतिक पूर्वाग्रहका आधारमा दोषी देखाएर कारागारमा राख्न लगाएको उहाँको दावी छ ।

स्वास्थ्य अवस्था अति जटिल हुँदासमेत उहाँले आफ्नो अडान र दावीलाई दृढताका साथ कायमै राख्नु भएको छ । चिकित्सकले उहाँको अवस्था अहिले पनि खतरापूर्ण रहेको जानकारी दिएका छन् । तर सुधार भने हुन थालेको उनीहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?